close

नेपाली आईटी कम्पनीले देशबाहिर शाखा खोल्न सक्ने गरी कानून बनाउन माग

टेकपाना टेकपाना

बैशाख ७, २०८१ १७:३३

नेपाली आईटी कम्पनीले देशबाहिर शाखा खोल्न सक्ने गरी कानून बनाउन माग

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी कम्पनिज् (न्यास–आईटी)ले आईटी कम्पनीले देशबाहिर शाखा खोल्न सक्ने गरी कानून बनाउन माग राखेको छ । शुक्रवार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाइ भेट्दै न्यास आईटीका अध्यक्ष रिचन श्रेष्ठ सहितको पदाधिकारी टोलीले यस्तो व्यवस्था लागू गर्न अनुरोध गरेको हो । 

त्यस्तै पालिका स्तरमा हरेक नागरिकको एकीकृत तथ्यांक व्यवस्थापन गर्ने गरी एकीकृत डेटा केन्द्र स्थापना गर्नुपर्ने, आईटी उद्योग र स्टार्टअपहरुलाई प्राथमिक क्षेत्रको ऋणको वर्गको समावेश गर्नुपर्ने, सूचना प्रविधिको काम एकद्वार प्रणालीबाट गर्न आईटी बोर्ड स्थापना गर्नुपर्ने, आईटी पार्क र हब स्थापना गरेर एकैथलोबाट सूचना प्रविधिको काम गराउन सरकारले सहजीकरण गर्नुपर्ने, सरकारी निकायका लागि सफ्टवेयर खरिद गर्दा स्थानीयलाई प्राथमिकता दिनुपर्नेलगायतका सुझाव उनीहरूले दिएका थिए । 

सो अवसरमा मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको लगानी वृद्धि गर्न कानून परिमार्जन गरेर जाने प्रतिबद्धता व्यक्त गर्दै सरकारी र निजी क्षेत्रको सहकार्यबाट सूचना प्रविधि प्रयोग गरी मुलुकलाई समृद्ध बनाउन सकिने विचार राखिन् ।

सञ्चार तथा सूचना प्रविधिको महत्त्व केही प्राविधिक व्यक्तिहरूले मात्रै बुझ्ने र बाँकीले आफूलाई उपभोक्ताको रुपमा मात्र लिने भन्दा पनि सबैले सूचना प्रविधि क्षेत्रलाई आत्मसात गर्ने गरी यसको विकास गर्नपर्नुमा उनले जोड दिइन् । साथै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरेर अघि बढ्न सरकार प्रतिबद्ध रहेको उनले बताइन् । 

छलफलमा प्रतिनिधिसभा सदस्य मनिष झाले सूचना प्रविधि क्षेत्रलाई समुदायस्तरमा पुर्‍याएर हरेक विद्यालयमा यसलाई प्रतिस्पर्धाको विधा बनाउनुपर्ने बताए । सूचना प्रविधिमा विद्यालय तहहुँदै प्रदेश र राष्ट्रियस्तरमा प्रतिष्पर्धा गराएर लाखौं युवाहरुलाई देशभित्रै रोजगार र स्वरोजगार बनाउन सकिने उनको राय थियो ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८१ १७:३३