close

अपरिचित महिलालाई भाइबरमा अश्लील भिडिओ पठाउने एक आईटी कलेजका मार्केटिङ म्यानेजर विरुद्ध मुद्दा

टेकपाना टेकपाना

असार २८, २०८३ ११:४४

अपरिचित महिलालाई भाइबरमा अश्लील भिडिओ पठाउने एक आईटी कलेजका मार्केटिङ म्यानेजर विरुद्ध मुद्दा

काठमाडौं । अपरिचित महिलालाई भाइबरमा अश्लील भिडिओ र तस्बिर पठाएपछि काठमाडौँको एक आईटी कलेजका मार्केटिङ म्यानेजर विरुद्ध मुद्दा दर्ता भएको छ । डिल्लीबजारस्थित सफ्टवेरिका कलेजका मार्केटिङ अफिसर आयुष पौडेल र सोही कलेजका गाडी चालक गणेश चालिसेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा साइबर अपराधको मुद्दा दायर भएको हो ।

प्रहरी अनुसन्धान अनुसार करिब एक वर्षदेखि कलेजमा मार्केटिङको काम गर्दै आएका आयुष पौडेल र कलेजकै गाडी चालक गणेश चालिसे केही समयअघि सुकुटे घुम्न गएका थिए । त्यस क्रममा बेलुकीपख मादक पदार्थ सेवन गरेर रमाइलो कुराकानी भइरहँँदा चालक गणेश चालिसेले आयुषलाई एउटा नम्बर दिँदै भनेका थिए, "एउटा महिलाको नम्बर लेउ ! काठमाडौंमा अपार्टमेन्टमा बस्छे, एकदम सोलिड छे, मैले पनि कामकुरो ... सकेको छु, तिमी पनि एकचोटि ट्राइ गर !"

गणेशले उपलब्ध गराएको नम्बर आयुषले तत्काल ट्रुकलरमा चेक गर्दा Solo (सोलो) भन्ने नाम देखायो । त्यसपछि उनले आफ्नो मोबाइलमा सो नम्बरलाई त्यही नाममा सेभ गरे ।

सुकुटेबाट फर्किएपछि आयुषले सो नम्बरमा केही पटक फोन गरे, तर फोन उठेन । त्यसपछि उनले उक्त नम्बरको भाइबरमा रातको ११ बजेपछि अश्लील फोटो तथा भिडिओहरू पठाए ।

प्रहरी बयानका क्रममा आयुषले गल्ती स्वीकार गर्दै भनेका छन्, "मैले ती महिलालाई यौनकर्मी हुन सक्ने ठानेर नै भाइबरमा त्यसरी अश्लील भिडिओ पठाउने कार्य गरेको हुँ ।" जब कि, पीडित महिलाका तर्फबाट कुनै पनि 'रिप्लाई' वा दोहोरो कुराकानी भने भएको थिएन ।

यता, चालक गणेश चालिसेले भने आफूमाथिको आरोप अस्वीकार गरेका छन् । उनले आयुषसँग सुकुटे बीच घुम्न गएको स्वीकार गरे पनि मादक पदार्थ सेवन गरेर त्यसरी जिस्काउँदै महिलाको नम्बर दिएको कुरा झुटो भएको दाबी गरेका छन् ।

पार्ट-टाइम डेलिभरीको काम गर्ने क्रममा ती महिलाको घरमा सामान पुर्‍याउन जाँदा उनका साथीबाट सो नम्बर पाएको र मोबाइलमा सेभ रहेको उनले बताएका छन् । तर, आयुष पौडेलले प्रहरी समक्ष गणेश चालिसेलाई नै सनाखत गरिदिएपछि यस अपराधमा गणेशको प्रत्यक्ष संलग्नता (नम्बर उपलब्ध गराई सहयोग गरेको) पुष्टि भएको प्रहरी दाबी छ ।

उता अपरिचित नम्बरबाट मध्यरातमा लगातार आउने अश्लील सामग्री र फोन कलका कारण पीडित महिलाको व्यक्तिगत तथा पारिवारिक जीवनमा गम्भीर असर पुग्यो । उनले ठुलो मानसिक तनाव बेहोर्नु परेपछि नेपाल प्रहरीको साइबर ब्युरोमा लिखित जाहेरी दर्ता गराइन् ।

अनुसन्धानका क्रममा प्रहरीले आयुष पौडेललाई सफ्टवेरिका कलेज नजिकै डिल्लीबजार/ज्ञानेश्वर क्षेत्रको सडक किनारबाट पक्राउ गरेको थियो । खानतलासी गर्दा उनको साथबाट अश्लील भिडिओ पठाउन प्रयोग गरिएको आईफोन बरामद भयो । पछि आरोपी गणेश चालिसेलाई पनि प्रहरीले सामसङ मोबाइलसहित नियन्त्रणमा लियो । डिजिटल फरेन्सिक ल्याबको प्राविधिक परीक्षणबाट पनि आयुषको मोबाइलबाट ती अश्लील सामग्रीहरू पठाइएको पुष्टि भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आरोपी आयुष पौडेलविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको छ । यो दफा अनुसार कसुर पुष्टि भएमा आयुषलाई १ लाख रुपैयाँसम्म जरिबाना, ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ ।

त्यस्तै, महिलाको नम्बर उपलब्ध गराएर अपराध गर्न सघाउने कलेजका चालक गणेश चालिसेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको छ । यसका साथै अपराधमा प्रयोग भएका दुवै मोबाइल जफत गर्न, पीडितलाई मनासिब क्षतिपूर्ति भराउन र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन समेत सरकारी वकिलले मागदाबी गरेको छ । अभियोग पत्र गत बुधबार दर्ता भएको हो ।

पछिल्लो अध्यावधिक: असार २८, २०८३ ११:४४