close

मोल्दोभाको फाइभजी सेवा प्रदायक बन्यो सीजी लगानीको मोल्डसेल

टेकपाना टेकपाना

बैशाख १४, २०८१ १५:५

मोल्दोभाको फाइभजी सेवा प्रदायक बन्यो सीजी लगानीको मोल्डसेल

काठमाडौं । नेपालको चौधरी ग्रुप अन्तर्गतको दूरसञ्चार कम्पनी मोल्डसेलले मोल्दोभामा फाइभजी सेवा सञ्चालनमा ल्याएको छ । योसँगै मोल्डसेल युरोपेली मुलुक मोल्दोभामा फाइभजी सेवा दिने पहिलो अपरेटर बनेको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं मोल्डसेल बोर्ड अफ डाइरेक्टर्सका अध्यक्ष निर्वाण चौधरीले मोल्दोभामा फाइभजी प्रविधिको सुरुवात भएको जानकारी दिए । यो प्रविधिसँगै मोल्दोभाले प्राविधिक रूपमा एउटा​ फड्को मारेको उनले बताएका छन् ।

मोल्डसेलले आफ्नो फाइभजी नेटवर्क विस्तारका लागि एरिक्सनसँग रणनीतिक साझेदारी गरेको छ । यसअन्तर्गत मोल्डसेलको नेटवर्कलाई एरिक्सनको रेडियो एक्सेस नेटवर्क (आरएएन) र कोर सोलुसन्स प्रयोग गरेर पूर्ण रूपमा आधुनिकीकरण गरिने बताइएको छ । यस प्रविधिले मोल्डसेलका ग्राहकलाई फास्ट कनेक्सन स्पिड, लो लेटेन्सी र सुरक्षित नेटवर्कको अनुभव उपलब्ध गराउने बताइएको छ ।

नेपालमा दूरसञ्चार सेवाका लागि अनुमतिपत्र नपाएको चौधरी ग्रुपले मोल्दोभामा भने आफ्नो पूर्ण लगानीमा मोबाइल सेवा सञ्चालन गर्दै आएको छ ।

मोल्डसेल त्यहाँको दोस्रो ठूलो दूरसञ्चार कम्पनी हो । चौधरी ग्रुपअन्तर्गत सीजी कर्प ग्लोबलले करिब तीन वर्षअघि स्विडिस कम्पनी टेलियाबाट मोल्डसेलको शतप्रतिशत स्वामित्व खरिद गरेको थियो ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८१ १५:३६