close

अब एनसेलको डेटा चलाउँदा ब्यालेन्स सकिने डर नहुने, कम्तीमा ७ दिने प्याक लिनुपर्ने

टेकपाना टेकपाना

जेठ २, २०८१ १३:५१

अब एनसेलको डेटा चलाउँदा ब्यालेन्स सकिने डर नहुने, कम्तीमा ७ दिने प्याक लिनुपर्ने

काठमाडौं । एनसेलले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्या समाधान गर्न नयाँ योजना ल्याएको छ । बुधवार एक कार्यक्रम गर्दै कम्पनीले फाइभजी भिजनमा आधारित भएर ब्यालेन्स सकिने ग्राहकको डर अन्त्य गर्न ‘सधै अन’ योजना ल्याएको हो ।

यस योजनाबाट ग्राहकहरूलाई डिजिटल भविष्यतिर डाेर्‍याउन सहयाेग पुग्ने एनसेलकाे भनाइ छ । यसअन्तर्गत कम्पनीले पाँच दर्जन बढी डेटा प्याकहरुलाई सरल बनाउँदै २० ओटामा झारेको छ ।

यो योजनाको उद्देश्य नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको कम्पनीले जनाएकाे छ । 

‘सधैं अन’ मा के-के छन् योजना ?

एनसेलको 'सधै अन' अन्तर्गत बेसिक, बेस्ट र अनलिमिटेड गरी तीन ओटा समूहमा आठ ओटा योजना छन् । यसमा सात दिनको समयसीमा रहेको ९८ रुपैयाँ पर्ने प्याकदेखि २८ दिन समयावधि रहेको १४९९ रुपैयाँ पर्नेसम्मका योजना छन् । 

हरेक योजनामा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ रहेको छ । यी योजनाहरू अहिले भएका योजनाभन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुने एनसेलले जनाएकाे छ । 

उदाहरणका लागि, यदि कुनै ग्राहकले ९९ रुपैयाँको बेसिक प्लान खरिद गरेमा २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ ओटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् । यो सात दिनका लागि मान्य हुनेछ । 

त्यस्तै ४९९ रुपैयाँको बेस्ट प्लान खरिद गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ८४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन । यो २८ दिनको लागि मान्य रहने छ । 

धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले उस्तै प्रकारका योजना पनि ल्याएको छ । उदाहरणका लागि, यस प्लान अन्तर्गत १४९९ रुपैयाँको प्याक खरिद गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा पाउनेछन् । यो प्याक अन्तर्गतको सेवा २८ दिनको लागि मान्य हुनेछ ।

ग्राहकले *123# डायल गरेर आफ्नो आवश्यकता अनुसारका कुनै पनि योजना खरिद गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २, २०८१ १४:१८