close

राष्ट्रिय परिचय पत्र हराए के गर्ने ?

टेकपाना टेकपाना

जेठ २०, २०८१ २०:७

राष्ट्रिय परिचय पत्र हराए के गर्ने ?

काठमाडौंं । चाहे पासपोर्ट बनाउन होस् वा अन्य सरकारी काम गर्न अहिले राष्ट्रिय परिचय पत्र अनिवार्य जस्तै छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो ।

राष्ट्रिय परिचयपत्र बनाउन नेपाली नागरिकता प्राप्त व्यक्तिले जिल्ला प्रशासन कार्यालय वा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन रहेका इलाका प्रशासन कार्यालयमा गई विवरण दर्ता गराउनु पर्ने हुन्छ । यसैगरी आफ्नो वडामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता अभियान सञ्चालन भएको समयमा विवरण दर्ता गराउन पनि सकिन्छ । 

यस बाहेक नागरिक आफैं अनलाइनमार्फत विवरण दर्ता गरी सम्बन्धित निकायमा गइ बायोमेट्रिक विवरण भरेपछि राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सक्छन् ।

राष्ट्रिय परिचय पत्रको कार्ड पाउनु अघि तपाईंलाई मोबाइल एसएमएसमार्फत राष्ट्रिय परिचय पत्र नम्बर र विवरण सहितको एउटा पत्र दिइन्छ । कार्ड प्राप्त नभएसम्म सो पत्रले राष्ट्रिय परिचय पत्र सरहकै काम गर्छ । 

तर कहिलेकाहीँ राष्ट्रिय परिचय नम्बर र पत्र नै हराउन सक्छ । यस्तोमा तपाईंले निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ:

 

  • सबैभन्दा पहिलामा तपाईंले निम्न नम्बरमा कल अथवा मेसेज गरी जानकारी लिन सकिन्छ: 

सम्पर्क नम्बर: ०१-४२०००१४, ०१-४२११५६३ र ०१-४२००८९४

ह्वाट्सएप (मेसेज मात्र): ९८४७३४६४१२, ९८५१३००५२० र ९८५१३१६०३४

 

  • यसो गर्दा भएन भने तपाईंले विभागले तयार पारेको 'सिटिजन पोर्टल' नामक वेबसाइटमा गएर आफ्नो परिचयपत्र नम्बर पत्ता लगाउन सक्नु हुन्छ । त्यसका लागि बाँया छेउम चेक योर एनआईएन फ्रम सिटिजनशिप डिटेल्स (Check Your NIN from Citizenship Details) जानुहोस् र आफ्नो नागरिकता सम्बन्धी विवरण राखेर खोज्नुहोस् । यही पोर्टलबाट तपाईंले नम्बर तथा परिचयपत्र छपाईंको अवस्था पनि थाहा पाउन सक्नुहुन्छ ।

 

यदि तपाईंले परिचयपत्र नम्बर बिर्सनु भएको छ भने माथिको तरिका उपयोगी हुन्छ ।

 

  • यदि प्रिन्ट भएको राष्ट्रिय परिचयपत्र नै हराएमा, नासिएमा, बिग्रिएमा, काम नलाग्ने भएमा वा कुनै कारणबाट प्रयोगमा आउन नसक्ने भएमा सोको कारण सहित तपाईंले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा विवरण दर्ता स्टेसन रहेका ईलाका प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने हुन्छ । त्यसपछि अधिकारीहरूले अभिलेख रूजु गरी राष्ट्रिय परिचयपत्रको प्रतिलिपि तपाईंलाई उपलब्ध गराउँछन् ।

 

पछिल्लो अध्यावधिक: जेठ २०, २०८१ २०:८