close

अब फोनपे एपले बोलेरै पैसा आएको जानकारी दिने

टेकपाना टेकपाना

जेठ २१, २०८१ १२:४६

अब फोनपे एपले बोलेरै पैसा आएको जानकारी दिने

काठमाडौं । फोनपेमा रकम प्राप्त हुँदा अब आवाजमै नोटिफिकेसन आउने भएको छ । यस अन्तर्गत फोनपे नेटवर्कका सबै व्यवसायीले फोनपे बिजनेस एप मार्फत भ्वाइस नोटिफिकेसन सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

फोनपे बिजनेस एप विशेषगरी व्यवसायको सम्पूर्ण डिजिटल भुक्तानी लेनदेनहरूलाई एउटै प्लेटफर्ममा व्यवस्थित गर्न डिजाइन गरिएको मोबाइल एप हो । यो नयाँ सुविधाले फोनपे नेटवर्कमा आबद्ध व्यवसायको  क्यूआर भुक्तानी प्राप्त गर्ने अनुभवलाई पुन: परिभाषित गरेको कम्पनीले जनाएको छ ।

उक्त सुविधाले एसएमएस मार्फत भुक्तानी प्रष्टिकरणमा (Payment Verification) भर पर्नुपर्ने बाध्यता हटेकाे कम्पनीको भनाइ छ । यो सेवालाई उपभोग गर्न फोनपे नेटवर्कका व्यवसायीले फोनपे बिजनेस एप अपडेट/डाउनलोड गरेर ‘नोटिफिकेसन सेटिङ’बाट भ्वाइस नोटिफिकेसन एक्टिभेट गर्न सक्नेछन् ।

“हामी आजको व्यावसायिक वातावरणमा व्यापारहरुले सामना गर्ने चुनौतीहरूबारे अवगत  छौं,” फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यी मोबाइल फोन केन्द्रित आविष्कारहरूसँग हाम्रा नेटवर्क साझेदार संस्थाहरूले थप सुविधाका साथ आफ्ना व्यापारीहरूलाई अझ सशक्त बनाउँदै क्यूआर कोड आधारित भुक्तानी स्वीकृति अनुभवलाई पुन: परिभाषित गर्न सक्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौं ।”

भ्वाइस नोटिफिकेसन अन कसरी गर्ने भन्ने भिडिओ हेर्न यहाँ क्लिक गर्न सकिनेछ । 

बढ्दो गतिको व्यावसायिक वातावरणमा, व्यवसायहरूले  विशेषगरी भीडभाड र सम्भावित टेलिकम नेटवर्क अवरोधको समयमा डिजिटल भुक्तानी लेनदेन सम्बन्धित केही चुनौतीहरूको सामना गरेका छन् । भ्वाइस नोटिफिकेसन सुविधाको सुरुवातसँगै फोनपे बिजनेस एपका प्रयोगकर्ताहरूले भुक्तानी सूचनाहरूका लागि आफ्नो मोबाइल फोनको निरन्तर म्यानुअल अनुगमन गर्नु पर्ने आवश्यकता हटेको कम्पनीले उल्लेख गरेको छ ।

भ्वाइस सूचना सुविधाले स्पष्ट र भ्वाइस अलर्टको रूपमा तत्कालै भुक्तानी सूचनाहरू डेलिभर गर्दै व्यापारीहरूबाट महत्त्वपूर्ण लेनदेन सम्बन्धी जानकारी कहिल्यै नछुटोस् भनी सुनिश्चित गरेको कम्पनीले जनाएकाे छ । 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८१ १२:४६