काठमाडौं । विमानस्थलको संवेदनशील तथा निषेधित क्षेत्रमा फोटो खिचेको तथा भिडिओ अन्तर्वार्ता दिएको भन्दै नेपाल वायुसेवा निगमका दुई पाइलट सक्रिय ड्युटीबाट हटाइएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै निगमका वरिष्ठ पाइलट विजय लामा र पाइलट भावना पन्तलाई सक्रिय ड्युटीबाट हटाएको हो ।
प्राधिकरण स्रोतका अनुसार वरिष्ठ पाइलट लामालाई विमानस्थल परिसरमा विमानको फोटो खिचेको र पाइलट पन्तलाई विमानस्थलको संवेदनशील क्षेत्रमा भिडिओ अन्तर्वार्ता दिएको भन्दै कारबाही गरिएको हो ।
“विमानस्थलभित्रको नीति नियम उलङ्घन गरेको देखिएकाले उहाँहरूलाई ग्राउन्डेड (विमान उडान गर्नबाट रोक) गरिएको हो,” प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले भने ।उनका अनुसार अहिले पाइलटसँग स्पष्टीकरण सोधेर अनुसन्धान भइरहेको छ । त्यतिन्जेलसम्म सक्रिय ड्युटीबाट अस्थायी रूपमा हटाइएको उनले बताए ।