close

भारतमा बनेको महिन्द्राको ईभी एक्सयूभी ४००, कम्पनी भन्छः बोलेरो र स्कर्पियो जत्तिकै बलियो छ

टेकपाना टेकपाना

असार १७, २०८१ १५:७

भारतमा बनेको महिन्द्राको ईभी एक्सयूभी ४००, कम्पनी भन्छः बोलेरो र स्कर्पियो जत्तिकै बलियो छ

 

‍काठमाडौं । नेपाली बजारमा महिन्द्राको विद्युतीय गाडी (ईभी) एक्सयूभी ४०० सार्वजनिक भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै नेपालका लागि महिन्द्राको आधिकारिक बिक्रेता अग्नि ग्रुपले नयाँ ईभी सार्वजनिक गरेको हो । 

३३ वर्षदेखि नेपालमा महिन्द्राको गाडि बिक्री गर्दै आएको अग्नि ग्रुपले यो गाडी साढे ५२ लाख रुपैयाँमा बिक्री गर्नेछ । आफूहरूले ब्रान्डलाई वर्षौंदेखि राम्ररी प्रतिविम्बित गरिरहेकाले यो गाडी खरिद गर्ने ग्राहकलाई बिक्रीपछिको सेवा र अनुभव राम्रो बनाउने अग्नि ग्रुपका उपनिर्देशक वरदान बस्नेतले बताए । पूर्व तयारी गरेर मात्र नयाँ गाडी ल्याउने भएकाले आफूहरू ग्राहक केन्द्रित हुने र लामो समयको सम्बन्धमा विश्वास गर्ने उनको भनाई छ । 

त्यस्तै सन् २००७ देखि ईभीको क्षेत्रमा काम गर्दै आएका अग्नि ग्रुपका प्रमोद भण्डारीका अनुसार यो गाडीको सबैभन्दा राम्रो पक्ष पावर हो । महिन्द्रा जहिल्यै पावरमा केन्द्रित भएकाले आईसीई इन्जिनको स्कर्पियो र बोलेरो जस्तै ईभीमा यो गाडी हुने उनले बताए । 

गाडीमा ‘फन (आनन्ददायी), फास्ट (छिटो) र फियरलेस (भयरहित)’को अनुभव पाउन सकिने उनको भनाई छ । “यो गाडीलाई पाका व्यक्तिले चलाउन ‘फन’ फिचर छ । जवान व्यक्तिलाई चलाउने ‘फियरलेस थ्रिल मोड’ छ । अर्थात् चालक अनुसारको मोड यसमा छन्,” उनले भने ।

नेपालमा यो गाडीको ११० किलोवाट क्षमताको भेरियन्ट मात्र ल्याइएको छ । भारतमा निर्मित यो गाडीमा ३९.५ किलोवाट आवरको उच्च ऊर्जा घनत्व भएको लिथियम आयन ब्याट्री राखिएको छ । यो गाडीले एक पटकको चार्जमा ४५६ किलोमिटरसम्म (एनआईडीसी) रेन्ज दिने बताइएको छ ।

यो गाडीले ८.३ सेकेन्डमै शून्यबाट १०० किलोमिटर प्रति घण्टाको एक्सिलेरेसन प्रदान गर्ने दाबी कम्पनीले गरेको छ । यसका लागि ३१० एनएमको टर्क प्रदान गर्ने बताइएको छ । १९० मिलिमिटर  ग्राउन्ड क्लियरेन्स भएको यो गाडीमा ३७८ लिटरको बुट स्पेस पाउन सकिन्छ । यसमा सीसीएसटू टाइपको चार्जर पाउन सकिन्छ । 

तर ग्राहकले भने गाडीसँगै ७.२ किलोवाटको एसी चार्जर पाउने छन् । त्यसो हुँदा गाडीलाई शून्यदेखि सय प्रतिशत चार्ज गर्न सामान्य चार्जमा १२ घण्टा, एसी चार्जरबाट छ घण्टामा चार्ज र डीसी चार्जरबाट डेढ घण्टा लाग्ने बताइएको छ । 

गाडीमा एलेक्सा सहितको २६.०४ सेन्टिमिटरको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम राखिएको छ । साथमा २६.०४ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समेत छ । अडिओका लागि चार ओटा स्पिकरको साथमा दुई ओटा ट्विटर राखिएका छन् । वायरलेस एन्ड्रोइड अटो, वायरलेस एप्पल कार प्ले, वायरलेस चार्जर, शार्क फिन एन्टेना, क्रुज कन्ट्रोल, अटो डिमिङ आईआरभीएम, फ्रन्ट फग ल्याम्प जस्ता फिचर पनि यो गाडीमा समावेश छन् । 

आर १६ डायमन्ड कट एलोय ह्विल, इलेक्ट्रिक फोल्डेबल ओआरभीएम, प्रोजेक्टर हेड ल्याम्प तथा एलईडी डीआरएल पनि यसमा पाउन सकिन्छ । सुरक्षाका लागि गाडीमा छ ओटा एयरब्याग राखिएका छन् भने रियर डिफगर, वाश तथा वाइप, लेदर सिट तथा लेदर स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, रियर भ्यु क्यामेरा, रेन सेन्सिङ वाइपर, अटो हेडल्याम्प गाडीमा दिइएका छन् । 

यस बाहेक यो विद्युतीय गाडीमा महिन्द्राकै अर्को विद्युतीय एक्सयूभी ४०० ईएल प्रोमा रहेका मल्टिपल इन्टेलिजेन्ट ड्राइभ मोड, सिङ्गल पेडल ड्राइभ, ईएसपी, टीपीएमएस, डीएटीसी, रियर एसी भेन्ट, रियर यूएसबी, ओपन चार्ज प्वाइन्ट इन्टरफेस हब इन्टिग्रेसन जस्ता मुख्य फिचर छुट्ने कुरै भएन । 

कम्पनीले चार ओटै टायरमा डिस्क ब्रेक राखेको छ । यसका साथै यो गाडी एभरेस्ट ह्वाइट, नापोली ब्ल्याक, ग्यालेक्सी ग्रे र आर्कटिक ब्लुमा उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असार १८, २०८१ १६:२२