बिग्रिएको वा हराएको सिमको सट्टा नयाँ सिम लिन टेलिकमले ल्यायो अनलाइन सुविधा, यस्तो छ प्रक्रिया
साउन ७, २०८३ ११:५०
काठमाडौं । नेपाल टेलिकमले सिम कार्ड हराएको वा बिग्रिएको अवस्थामा नयाँ सिम लिन चाहने ग्राहकका लागि अनलाइन आवेदन प्रणालीको सुरुवात गरेको छ । यस सेवाअन्तर्गत ग्राहकले भौतिक सिम वा ई-सिम दुवैका लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
नयाँ सिमका लागि सेवाग्राहीले टेलिकमको आधिकारिक पोर्टल esim.ntc.net.np मा जानुपर्नेछ । त्यहाँ रहेको ‘Apply for Lost/ Damaged SIM’ विकल्पमा क्लिक गरी आफ्नो विवरण भर्नुपर्ने हुन्छ । पहिलोपटक यो सेवा प्रयोग गर्दा आफ्नो ईमेल ठेगानामार्फत नयाँ एकाउन्ट दर्ता गर्नुपर्छ ।
फारम भर्ने क्रममा ग्राहकले आफ्नो नाम, ठेगाना, परिचयपत्र (नागरिकता, पासपोर्ट वा सवारी चालक अनुमति पत्र) को विवरण र फोटो अपलोड गर्नुपर्नेछ ।
साथै, सुरक्षा र प्रमाणीकरणका लागि पछिल्लो समयमा कल गरिएका पाँचवटा फरक-फरक नम्बरहरू पनि उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अनलाइन आवेदन सफलतापूर्वक दर्ता भएपछि ग्राहकले नेपाल टेलिकमको पायक पर्ने काउन्टरमा गई नयाँ सिम प्राप्त गर्न सक्नेछन् । नयाँ सिमका लागि तोकिएको ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ ।
यदि सिम कार्ड धनी आफैं कार्यालय उपस्थित हुन नसक्ने अवस्था भएमा, अनलाइन फारम भर्दा नै प्रतिनिधिको नाम र विवरण उल्लेख गर्नुपर्नेछ । यस्तो अवस्थामा प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजातसहित कार्यालय गएर सिम कार्ड लिन सक्ने टेलिकमले जनाएको छ ।
पछिल्लो अध्यावधिक: साउन ७, २०८३ १३:२
