close

१ करोड नाघ्यो नेपाली पात्रोको डाउनलोड, रेडिओ कार्यक्रम पनि आफू अनुकूल समयमा सुन्न मिल्ने

टेकपाना टेकपाना

असार २४, २०८१ १८:५६

१ करोड नाघ्यो नेपाली पात्रोको डाउनलोड, रेडिओ कार्यक्रम पनि आफू अनुकूल समयमा सुन्न मिल्ने

काठमाडौं । गुगल प्लेस्टोरमा विक्रम संवत्‌मा आधारित चर्चित मोबाइल एप नेपाली पात्रोको डाउनलोड एक करोड पूरा भएको छ । नेपाली तिथि, मिति हेर्न सहज बनाएको पात्रोले आफ्नो नयाँ रेकर्ड बनाएको हो ।

यो एप चाडपर्व, नेपाली संस्कृति, वैदिक सनातन हिन्दु उत्सव तथा पर्वहरू, विभिन्न जातजाति, भाषाभाषीका धर्म, आस्था तथा संस्कृति लगायतका सम्पूर्ण विशेष दिवस, पर्व तथा जात्राहरूको तथ्यपूर्ण जानकारीले भरिएको छ । कम्पनीले यसलाई नेपालको पहिलो डिजिटल पात्रोको रूपमा दाबी समेत गर्दै आएको छ ।

नेपाली पात्रोमा रेडिओ, समाचार, वैदिक पात्रो, राशि फल, मूल्य सूची, ज्योतिष, जस्ता दर्जन बढी सुविधा समावेश छन् । नेपालका लोकप्रिय समाचार स्रोतबाट निरन्तर समाचार अपडेट दिने नेपाली पात्रोले गुगल प्ले स्टोरमा ४.३ स्टार रेटिङ पाएको छ ।

नेपालका चार सयभन्दा बढी लोकप्रिय रेडियोहरूबाट सूचना, जानकारीमूलक तथा मनोरञ्जनात्मक सामग्री अनलाइनमा सुन्न सघाउने नेपाली पात्रोबाट विनिमयदर, सुनचाँदीको मूल्यसूची, तरकारीको बजार भाउ आदि समेत थाहा पाउन सकिन्छ ।

दैनिक १० लाख बढी सक्रिय प्रयोगकर्ता रहेको यो एपमा मासिक सक्रिय प्रयोगकर्ताको सङ्ख्या एक करोड माथि छ । नेपाली रेडियोबाट प्रसारित हुने कार्यक्रमहरू श्रोताले आफ्नो समय अनुसार सुन्न सकिने सुविधा समेत नेपाली पात्रोले दिंदै आएको छ । सम्बन्धित रेडियोको पछिल्लो ४८ घण्टाका कार्यक्रमहरू नामसहित अडियोमा उपलब्ध हुने जानकारी नेपाली पात्रोले दिएको छ ।

यसको लागि नेपाली पात्रो डाउनलोड गरी रेडियो फिचर अन्तर्गत सम्बन्धित रेडियोको पेजमा छुटेका तथा प्रसारित कार्यक्रमहरूको नाम तथा प्रसारण समय हेर्न सकिन्छ ।

नेपाली पात्रोमा देशका प्रमुख १५० भन्दा बढी अनलाइन न्युज पोर्टल समेत जोडिएका छन् । नेपाली पात्रो नेपालको सबभन्दा धेरै सञ्चार नेटवर्क भएको नेपाली एप्लिकेसन भएको दाबी समेत गरिएको छ । पछिल्लो समय आईपीटिभी सेवा नेट टिभीमा पनि नेपाली पात्रोमा उपलब्ध रेडियो सुन्न सकिने सुविधा आएको छ । 

 

पछिल्लो अध्यावधिक: असार २४, २०८१ १८:५६