काठमाडौं । भारतीय क्रिकेटर विराट कोहलीले आफ्नो भिडिओमा नेपाली हिमाल राखेपछि नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । पेरिस २०२४ मा सहभागी हुने भारतीय टोलीलाई शुभकामना दिने क्रममा बनाइएको उनको भिडिओमा नेपाली हिमाल प्रयोग गरिएको छ ।
कोहलीले गत सोमबार उक्त भिडिओ आफ्ना विभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेका थिए । पेरिस ओलम्पिकमा सहभागी हुने भारतीय एथ्लेटहरूलाई उनको फेसन कम्पनी रोन (Wrogn)ले प्रायोजन गरेपछि भिडिओ बनाइएको थियो । तर, भिडिओको सुरुमै नेपालको हिमाल प्रयोग गरिएपछि आलोचना भइरहेको छ ।
उक्त हिमालको स्क्रिनशट रिर्भस इमेज सर्च गरेर हेर्दा अन्नपूर्ण क्षेत्रभित्र पर्ने चुलु पूर्वी हिमाल भएको थाहा पाउन सकिन्छ । अन्नपूर्ण श्रंखलाभित्र चुलु पूर्वीसँगै अन्नपूर्ण दोस्रो, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, तिलिचो, पिसाङ, मनास्लु, चुचुरो ३८, थोरङ आदि हिमशिखर छन् ।
हिमाल आरोहणमा लामो समय बिताएका एक आरोहीसँग कुरा गर्दा कोहलीको भिडिओ ल्यान्डस्केप नभएर पोट्रेट भएकाले हिमाल पहिचान गर्न ठ्याक्कै गाह्रो भएको बताए । तर उनले यो हिमाल चुलु पूर्वी हुनसक्ने बताएका छन् ।
क्रिकेटर कोहलीको भिडिओमा नेपालको हिमाल प्रयोग भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाएका छन् ।
दिशे बन्नी लेख्छन्, “प्रिय विराट कोहली, क्रिकेटमा बाहेक अन्य प्लेटफर्महरूमा पनि आफ्नो बुद्धि बढाऊ । यदि तिमीलाई पोस्ट गरिरहेको कुराको वास्तविकता थाहा छैन भने, प्रमाणित नगरी कसरी शेयर गरिरहेका छौ ? कुनै नेपालीले भारतीय सम्पत्ति हाम्रो हो भन्दै दाबी गरेको देखेका छौ ? हामीमा त्यस्तो खराब बानी छैन ।”
त्यस्तै उज्जवल सिंहले लेखेका छन्, “नेपालका हिमाल आफ्नो भूभागमा भएको दाबी गर्ने बुद्धिको कमी भएको यो व्यक्ति कप्तान बनेकोमा म अचम्मित छु ।”
उसैगरी विवेक गौतमले लेखेका छन्, “चुलु पूर्व नेपालको हो ! नेपाल जस्तो स्वतन्त्र राष्ट्रको सार्वभौमसत्ता र स्वाभिमानमा प्रत्यक्ष असर गर्ने विवादास्पद भिडियो शेयर गर्न बन्द गर ।”