‘सञ्जोक कार्कीको मेसेजले गर्दा मैले देश छाडेर अस्ट्रेलिया भाग्नु पर्यो’: अभिनेत्री उषा रजक
असार २०, २०८३ १०:५७
काठमाडौं । अभिनेत्री उषा रजकले आफूमाथि भएको निरन्तरको अनलाइन उत्पीडन र मानसिक तनावका कारण देश छोडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन् । शनिबार फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले सञ्जोक कार्की नामक व्यक्तिको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्यवहारले गर्दा आफ्नो सुरक्षाका लागि विदेशिनु परेको बताएकी हुन् ।
अभिनेत्री रजकका अनुसार ती व्यक्तिले उनलाई मध्यरातमा फोन गर्ने र मेसेन्जरमा अवाञ्छित मेसेजहरू पठाएर हैरानी दिने गरेका थिए । केही समयअघि साइबर ब्युरोले उनलाई बोलाएर उजुरी गर्न भने पनि कार्कीले केही समय हैरानी दिन छोडेपछि उनले उजुरी नगर्ने निर्णय गरेकी थिइन् । तर, पुनः केही दिनदेखि त्यही सिलसिला सुरु भएपछि आफू असुरक्षित महसुस गर्दै देश छोड्न बाध्य भएको उनले दाबी गरेकी छन् ।
‘पीडितले नै देश छोडेर भाग्नुपर्ने अवस्था आयो’
आफूमाथि परेको मानसिक दबाबबारे रजकले फेसबुकमा लेखेकी छन्, “यो मान्छेबाट मलाई धेरै दुख भैसक्यो । उसले गर्दा म देश छोडेर भाग्नु परेको छ । मलाई आएका गाली र धम्की सब देखेर परिवारमा सल्लाह गरी मलाई केही समय विदेशमा बसाउने निर्णय भएकोले म अहिले अस्ट्रेलिया छु ।”
उनले थप अगाडि भनेकी छन्, “मलाई भने डर छैन, तर अपराधी भन्दा पीडितले दुख भोग्ने समाज हो हाम्रो : यो कुरा पछिल्लो समयमा मैले भोग्नु परेको ट्रोलिङले साबित गर्छ ।”
राजनीतिक पहुँचको दुरुपयोग गरेको आरोप
रजकले आफूलाई हैरानी दिने सञ्जोक कार्कीको राजनीतिक पहुँच भएका कारण उनी थप शक्तिशाली र निडर देखिएको दाबी गरेकी छन् । उनले ती व्यक्तिको सम्बन्ध गृहमन्त्री सुधन गुरुङको सचिवालयसम्म रहेको आरोप लगाउँदै लेखेकी छन्, “ती सञ्जोक कार्कीको राजनीतिमा पहुँच भएको देखिन्छ । सामाजिक सञ्जालमा भिडियोहरू अनुसार उनको नजिकको मान्छे वर्तमान गृहमन्त्रीका पी.ए. जेम्स कार्की हुन् । यसरी सँगै उठबस गर्ने भएरै यत्तिको इन्भिन्सिबल (अजेय) अनि पावरले मातिएको देखिन्छ ।”
रजकले गृहमन्त्रीलाई सम्बोधन गर्दै आफूलाई सुरक्षा र न्याय दिलाउन अनुरोध गरेकी छन् । उनले भनेकी छन्, “गृहमन्त्रीज्यूलाई मेरो हार्दिक अनुरोध, कृपया यो मान्छेलाई मलाई हैरानी गर्नबाट रोक्नुहोस् । उसले ममाथि हिंसा मात्र गरिरहेको छैन, तपाईं र हाम्रो नयाँ सरकारलाई पनि बदनाम गरिरहेको छ ।”
यस घटनाले आफ्नो व्यावसायिक जीवनमा पनि ठुलो क्षति पुर्याएको उनले सुनाएकी छन् । आफू वक्ताको रूपमा सहभागी हुनुपर्ने एक महत्त्वपूर्ण सम्मेलन र अर्को हप्तादेखि सुरु हुन लागेको फिल्मको शुटिङ समेत छाडेर 'लास्ट मिनेट' मा नेपाल छाड्नु परेको उनले लेखेकी छन् । उनले आयोजक र निर्माण टोलीसँग यसका लागि क्षमा समेत मागेकी छन् ।
यसअघि साइबर प्रहरीले उनलाई 'ब्लक गर्ने' सल्लाह दिएकोमा असन्तुष्टि जनाउँदै उनले भनेकी छन्, “ब्लक गर्नु उपाय हैन, किनभने यस्ता विकृत मानसिकता भएकाले अरू बाटो खोज्छ, अर्को अकाउन्ट खोल्दै ह्यारेसमेन्ट गर्न छोड्दैन ।”
उनले आफू मात्र नभई अन्य धेरै महिलाहरू पनि उक्त व्यक्तिबाट पीडित भएको र उनीहरूले आफूलाई स्क्रिनसट पठाएको दाबी गरेकी छन् । रजकले नेपाल फर्किएपछि ती सबै प्रमाणहरू प्रहरीलाई बुझाउने र कानुनी लडाइँ लड्ने बताएकी छन् ।
पछिल्लो अध्यावधिक: असार २०, २०८३ १२:१९
