काठमाडौं । यातायात व्यवस्था विभागको 'इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम' (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । आइतबार बिहान ११ बजेदेखि सर्भरमा समस्या देखिएपछि कार्यालय पुगेका सेवाग्राही मर्कामा परेका हुन् ।
टेकपानासँग कुरा गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले सर्भरमा समस्या आएको बताए । “अहिले सर्भरमा केकस्तो समस्या आएको हो भन्ने पहिचान गर्ने काम भइरहेको छ,” रिजालले भने, “सबै यातायात कार्यालयको काम यसबाट प्रभावित भएको छ भन्ने सूचना आएको छ ।”
विशेषगरी बायोमेट्रिक लिने, भुक्तानी गरी रसिद लिने काम प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयका एक कर्मचारीका अनुसार सर्भरमा समस्या आउँदा कार्यालयले दिने बायोमेट्रिक दर्ता लगायतका काम ठप्प भएका छन् ।
“हामी अहिले विभागसँग यस विषयमा कुरा गरिरहेका छौं,” ती कर्मचारीले भने, “कति समय लाग्छ भन्न सकिने अवस्था छैन । विभागले पनि प्राविधिक समस्या आएको र त्यो समस्या समाधान गर्ने प्रयास भइरहेको जानकारी दिएको छ ।” सेवा कति बेला सुरु हुन्छ भन्नेमा प्रस्ट नहुँदा सेवा लिन देशभरका कार्यालय पुगेका सेवाग्राही अन्योलमा परेका छन् ।
यसै बीच यातायात कार्यालयहरूले प्राविधिक समस्यालाई कारण देखाउँदै आउँदो बिहीबार अर्थात् १० साउनसम्मका लागि स्थगित गरिएको सूचना निकाल्न थालेका छन् । "यस कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरू(सवारी चालक अनुमतिपत्र वितरण सम्बन्धी कार्य बाहेक) मिति २०८१/०४/१० गते बिहीबारका दिन प्रदान हुने गरी हाललाई सेवा स्थगित गरिएको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रकाशित गरेको सूचनामा भनिएको छ ।
साथै प्राविधिक समस्याको समाधान भई कार्यालय समयभित्र सर्भर सञ्चालन हुन गएमा स्थगित गरिएका सेवाहरू पुनः नियमित हुने ब्यहोरा समेत कार्यालयको सूचनामा उल्लेख छ ।