close

आफ्नो खातामा अनलाइनबाट प्यान अपडेट गर्न सबै ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध, जरुरी किन ?

टेकपाना टेकपाना

साउन ७, २०८१ १८:५२

आफ्नो खातामा अनलाइनबाट प्यान अपडेट गर्न सबै ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध, जरुरी किन ?

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । सरकारी नियम अनुसार बैंकका ग्राहकको खाताबाट गरिएको कर कट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले यस्तो सूचना निकालिएको हो ।

बैंकका ग्राहकले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ एप (NIC ASIA MoBank) मा रहेको “PANUpdate” विकल्पमा थिचेर आफ्नो प्यान अद्यावधिक गर्न सक्नेछन् । यस बाहेक ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एसिया बैंकका कुनै पनि शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सक्ने प्रबन्ध मिलाइएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक हुन्छ ।उक्त प्यान अद्यावधिक भए पश्चात् सम्बन्धित प्रयोगकर्ताको कर कट्टीको विवरण (ई-टीडीएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रूपमा अनुसूची १० मा कर कट्टीको विवरण मिलान गर्छ ।जसले गर्दा ग्राहकहरूलाई कर कट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्यान अद्यावधिक नगराएको कारणले ई-टीडीएसमा ब्याज कर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने कुराको जानकारी समेत बैंकले गराएको छ ।

यसका साथै, यस अघि बैंकलाई प्यान उपलब्ध गराएर पनि कर कट्टीको विवरण समावेश नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रका फोन नम्बरहरू १६६०–०१–७७७७१, ०१–५९७०१०१ मा सम्पर्क गरी सेवा लिन सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: साउन ७, २०८१ १९:१२