काठमाडौं । गुगल अकाउन्टको युजरनेम फेर्न सकिने फिचर नेपालमा पनि उपलब्ध भएको छ । गुगलले झन्डै पाँच महिनाअघि घोषणा गरेको फिचर अन्ततः नेपाली प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका हुन् ।
गुगलले अकाउन्ट बनाउन सकिने सुविधा दिएपछि उपलब्ध भएको यो २० वर्ष यताकै सबैभन्दा महत्त्वपूर्ण अपडेट हो । यससँगै अब प्रयोगकर्ताले गुगल, फोटोज, ड्राइभ र अन्यको युजरनेम फेर्न सक्नेछन् । युजरनेम फेर्दा प्रयोगकर्ताका ईमेल, डेटा र अकाउन्ट हिस्ट्री सुरक्षित नै रहनेछन् ।
यो फिचर उपलब्ध भइसकेपछि प्रयोगकर्ताले बाँकी रहेका कुनै पनि युजरनेम रोजेर राख्न सक्छन् । तपाईंको पुरानो युजरनेम जस्तै [email protected] छ र नयाँ ईमेल एड्रेस [email protected] राख्नुभयो भने तपाईंको पुरानो युजरनेम यथावत् नै रहन्छ । र त्यही युजरनेमको जिमेलमा कुनै ईमेल आए नयाँ युजरनेमकै ईमेल प्राप्त हुन्छ । तपाईंले पुरानो वा नयाँ जुनसुकै युजरनेमबाट लगइन गर्न सक्नुहुन्छ । त्यस्तै यदि नयाँ युजरनेम चित्त बुझेन र पुरानैमा फर्किन्छु भन्नुभयो भने गुगलले त्यसको पनि सुविधा दिएको छ ।
यदि तपाईंले नयाँ युजरनेम छान्नुभयो, तर त्यो पनि परिवर्तन गरेर नयाँ राख्छु भन्नु भयो भने के हुन्छ ? गुगलले यसको पनि समाधान दिएको छ । तर, तपाईंले उक्त युजरनेम वर्षमा एक पटक र एउटा अकाउन्टका लागि बढीमा तीन पटकसम्म मात्रै फेर्न सक्नु हुनेछ ।
कसरी फेर्न सकिन्छ गुगल अकाउन्टको युजरनेम ?
तपाईंले @gmail.com भन्दा अगाडि राख्नुभएको जुन नाम हुन्छ, त्यो नै गुगल अकाउन्टको युजरनेम हो । गुगल अकाउन्टको युजरनेम फेर्न निम्न प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
-
सबैभन्दा पहिले जिमेल एप खोल्नुहोस् र माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।
-
यति गरेपछि ‘म्यानेज योर गुगल अकाउन्ट’ (Manage Your Google Account) मा जानुहोस् ।

-
अनि सबैभन्दा माथि रहेको पर्सनल इन्फो (Personal Info) को अप्सनमा ट्याप गर्नुहोस् ।

-
त्यसपछि स्क्रोल गर्दै तल गएर ‘ईमेल’ (Email) को अप्सनमा ट्याप गर्नुहोस् ।

-
अब गुगल अकाउन्ट ईमेलको अप्सनमा रहेको आफ्नो युजरनेममा ट्याप गर्नुहोस् ।

-
अब तपाईंलाई अकाउन्टको पासवर्ड (पासकी) राख्न भनिन्छ । त्यहाँ देखिएको बक्समा पासवर्ड राख्नुहोस् ।

-
अनि Change Google Account email को अप्सनमा जानुहोस् ।

-
अनि आफूलाई उपयुक्त हुने युजरनेम छान्नुहोस् । यति गरेपछि तपाईंको नयाँ युजरनेम सेट हुन्छ ।

यसरी तपाईंले आफ्नो गुगलको युजरनेम फेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८३ १५:५८
