close

त्रिशूलीमा बेपत्ता बस खोज्न ल्याइएको चुम्बक नै हरायो, अरू के कस्ता प्रविधि प्रयोग भए ?

टेकपाना टेकपाना

साउन १३, २०८१ १६:५१

त्रिशूलीमा बेपत्ता बस खोज्न ल्याइएको चुम्बक नै हरायो, अरू के कस्ता प्रविधि प्रयोग भए ?

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता यात्रुसहितको बस खोजी तथा उद्धार कार्यमा जुटेको भारतीय टोलीको म्याग्नेटिक डिभाइस (चुम्बक) नै हराएको छ । शनिवार नदीमा बेपत्ता बस खोज्ने क्रममा भारतीय 'नेसनल डिजास्टर रेस्पोन्स फोर्स' को चुम्बक हराएको हो ।

खोजी तथा उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बलका डीएसपी विनोद खतिवडाले भारतीय टोलीको १९ किलोको चुम्बक हराएको बताए । "उहाँहरू (भारतीय टोली)ले एउटा १३ केजी र अर्को १९ केजीको चुम्बक ल्याउनु भएको थियो," टेकपानासँग कुरा गर्दै खतिवडाले भने, "१९ किलोको चुम्बक गाडीबाट निकाल्नै सात-आठ जना चाहिन्थ्यो । पानीको करेन्टले गर्दा हिजो खोजी कार्यका क्रममा हराएछ ।"

डीएसपी खतिवडाका अनुसार उद्धार तथा खोजी कार्यका लागि प्रविधिको अधिकतम प्रयोग गरिएको छ। "पहिलो दिन बाँसको सहायताले बस खोज्दैछन् भन्दै फोटो पनि आइरहेका थिए । तर, त्यस बाँसको टुप्पोमा पनि क्यामेरा जडान गरिएको थियो," उनले भने, "त्यसबाहेक हामीले धमिलो पानीभित्रको वस्तु पहिचान गर्न सोनार क्यामेरा पनि प्रयोग गरेका छौं ।"

सोनार क्यामेरालाई इमेजिङ सोनार पनि भनिन्छ । यस प्रविधिले ध्वनीको तरङ्गको प्रयोग गरी पानीभित्रको वातावरणको भिजुअल तस्वीर तयार पार्छ । ध्वनीको तरङ्ग छोडिसकेपछि उक्त तरङ्ग पानीभित्रको वस्तुमा ठोकिन्छ र त्यहाँभित्र के कस्तो आकारका वस्तु छन् भन्ने देखिन्छ ।

डीएसपी खतिवडाका अनुसार नेपालमा भएको सोनार क्यामेराभन्दा भारतीय टोलीले ल्याएको क्यामेरा स्तरीय र नयाँ संस्करणका छन् । नेपालमा भएका क्यामेराभन्दा ती क्यामेराले पानीभित्रका वस्तुको विस्तृत तस्वीर तयार पार्न सक्ने उनले सुनाए ।

त्यस्तै खोजी तथा उद्धार कार्यका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले 'वाटर ड्रोन' पनि प्रयोग गरेको थियो । उक्त ड्रोन पानीभन्दा चारदेखि पाँच मिटरको गहिराइभित्र प्रवेश गरी वस्तु पहिचान गर्न प्रयोग गरिएको उनले सुनाए । यद्यपि, पानी धमिलो भएकाले उक्त विधि प्रभावकारी नभएको डीएसपी खतिवडाको भनाइ छ ।

त्यस्तै खोजी कार्यकै लागि पाइपलाइन इन्स्पेक्सन सिस्टम पनि प्रयोग गरिएको उनले जानकारी दिए । यस सिस्टमभित्र सोनार तथा इन्सपेक्सन क्यामेरा पर्छन् ।

२८ असारमा वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको लेदोसहितको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए।

ती बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । प्रहरीका अनुसार हालसम्म १९ जनाको शव फेला परेको छ ।

बेपत्ता बस र यात्रु भेटिने सम्भावना ज्यादै न्यून भएकाले आजदेखि खोजी तथा उद्धार कार्य स्थगित गर्ने वा अगाडि बढाउने भन्ने छलफल भइरहेको डीएसपी खतिवडाले बताए ।

पछिल्लो अध्यावधिक: साउन १३, २०८१ १७:४