close

डिजिटल प्रविधिमार्फत कृषिमा काम गर्ने कम्पनी र स्टार्टअपलाई प्रविधिसँगै लगानीको अवसर

टेकपाना टेकपाना

साउन २४, २०८१ १०:४

डिजिटल प्रविधिमार्फत कृषिमा काम गर्ने कम्पनी र स्टार्टअपलाई प्रविधिसँगै लगानीको अवसर

काठमाडौं । डिजिटल प्रविधिमार्फत कृषि क्षेत्रमा काम गर्ने स्टार्टअप तथा कम्पनीहरूले प्राविधिक सहयोग तथा मेन्टरिङसँगै लगानीको अवसर जुटेको छ । कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्न स्विस सरकार विकास सहयोग (एसडीसी) को सहयोगमा एग्री डिजी-टेक च्यालेञ्ज नामक परियोजना सञ्चालनमा आएको हो ।

यो कार्यक्रम बिड म्यानेजमेन्ट र ट्यानजेन्ट वेभ्सको सहकार्यमा अगाडि बढ्ने बताइएको छ । यसअन्तर्गत नेपालको कृषि क्षेत्रका डिजिटल नवप्रवर्तनलाई प्रोत्साहन गर्ने कार्य गरिनेछ, जुन अबको एक वर्षसम्म सञ्चालन हुनेछ ।

कृषि उत्पादन, दक्षता तथा दिगोपना प्रवर्द्धनमा केन्द्रित परियोजनाबाट डिजिटल प्रविधिमार्फत कृषि प्राविधिक, साना, मझौला तथा ठूला उद्यमीहरूले लाभ लिन सक्नेछन् ।

नेपालमा कृषि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप यो कार्यक्रमले पाँच देखि आठ महिनाको अवधिमा नयाँ, साना, मझौला तथा ठूला व्यवसायको विकास तथा सामाजिक प्रभाव सिर्जना गर्नका लागि एक्सिलेरेटरका साथै मेन्टरिङ, प्राविधिक सहयोग र लगानीको अवसर उपलब्ध गराउने ​ट्यानजेन्ट वेभ्सका संस्थापक सुमन शाक्यले बताए ।

नेपालको कृषि क्षेत्रको रुपान्तरणका निम्ति डिजिटल नवप्रवर्तनको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गर्दै उनले भने, "एग्री डिजी-टेक च्यालन्ज कृषक तथा कृषि क्षेत्रका समस्या हल गर्ने सन्दर्भमा उद्यमीहरूको सशक्तीकरणका लागि परिवर्तनको उत्प्रेरक हुनेछ," उनले भने ।

यस परियोजनाले कृषि क्षेत्रका परामर्शदाता, कृषि बीमा कम्पनीहरू, अनलाइन बजार, वित्तीय सेवाप्रदायक, भण्डारण तथा यातायात सुविधा प्रदान गर्ने व्यवसाय लगायत कृषि क्षेत्रका नवप्रवर्तनहरूलाई लक्षित गरेको छ । यस च्यालेन्जको विजेताले स्विस सरकार विकास सहयोग कार्यक्रमबाट लगानी प्राप्त गर्ने बिड म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुजीव शाक्यले बताए ।

पछिल्लो अध्यावधिक: साउन २४, २०८१ १०:१५