काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)ले युवा वैज्ञानिकहरूलाई अनुसन्धान सहयोग प्रदान गर्ने उद्देश्यले प्रस्ताव पेस गर्न आह्वान गरेको छ । आइतवार एक सूचना प्रकाशित गर्दै नास्टले चालु आर्थिक वर्ष २०८१/०८२ मा विज्ञान तथा प्रविधिका विधाहरूमा नतिजामुखी अनुसन्धान तथा नवीनतम प्रविधि विकास गर्न इच्छुकका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।
यस अन्तर्गत ४० वर्ष उमेर ननाघेका युवा वैज्ञानिक तथा प्राविधिज्ञहरूले आफ्नो अनुसन्धान प्रस्ताव पेस गर्न सक्नेछन् । प्रस्ताव पेस गर्ने अन्तिम म्याद भदाै २१ सम्म रहेको छ ।
अनुसन्धान अनुदानका लागि निम्न अनुसार बजेट सीमा निर्धारण गरिएको छ:
व्यक्ति वा समूहगत अनुसन्धानका लागि: पाँच लाख रुपैयाँ
संस्थागत अनुसन्धानका लागि: १० लाख रुपैयाँ
बहुविधागत अनुसन्धानका लागि: १२ लाख रुपैयाँ
माध्यमिक विद्यालय स्तर (विज्ञान कक्षा १२) का विद्यार्थीहरूका लागि: ५० हजार रुपैयाँ
क्याम्पस स्तर (स्नातक) विद्यार्थीहरूको अनुसन्धानका लागि: एक लाख रुपैयाँ
वैज्ञानिक वा प्रविधि समाजद्वारा गरिने अनुसन्धान वा प्रवर्द्धनात्मक कार्यक्रमका लागि: एक लाख रुपैयाँ
विद्यालय र क्याम्पसका विद्यार्थीहरूले पेस गर्ने अनुसन्धान प्रस्ताव अनिवार्य रूपमा समूहगत हुनुपर्ने र सम्बन्धित विद्यालय वा क्याम्पसको सिफारिससहित पेस गर्नुपर्ने नास्टले उल्लेख गरेको छ । प्रस्ताव पेस गर्दा अन्तिम शैक्षिक योग्यताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि र अद्यावधिक बायोडाटा अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।
यसबारे विस्तृत जानकारीका लागि नास्टको वेबसाइट www.nast.gov.np मा उपलब्ध कार्यविधि हेर्न वा ईमेल [email protected] मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।