close

भएभरका चिप एआईले खोस्दा ग्राहकको गोजी रित्तिँदै, यसरी महँगिदैछन् मोबाइल, ल्यापटप र मेमोरी कार्ड

शंकर मैनाली शंकर मैनाली

जेठ ३१, २०८३ १९:२५

भएभरका चिप एआईले खोस्दा ग्राहकको गोजी रित्तिँदै, यसरी महँगिदैछन् मोबाइल, ल्यापटप र मेमोरी कार्ड

यदि तपाईं नयाँ स्मार्टफोन, ल्यापटप वा क्यामेराको मेमोरी कार्ड किन्ने सोचमा हुनुहुन्छ र बजार बुझ्दा मूल्य सुनेर तर्सिनुभएको छ भने, तपाईं एक्लो हुनुहुन्न । नेपाली बजारमा मात्र नभई विश्वभर नै डिजिटल उपकरणहरूको मूल्यमा ऐतिहासिक उछाल आएको छ ।

६ महिना अगाडिसम्म नेपाली बजारमा १० देखि १२ हजार रुपैयाँमा सजिलै पाइने ३ जीबी र्‍याम + ६४ जीबी स्टोरेज भएका फोनहरू अहिले विरलै भेटिन्छन् । उपभोक्ताको रोजाइमा पर्ने ४ जीबी र्‍याम + १२८ जीबी स्टोरेजको सुरुवाति मूल्य पहिले १२-१३ हजार रुपैयाँ रहेकोमा अहिले बढेर न्यूनतम २० हजार पुगेको छ । कतिपय स्थापित ब्रान्डले त यही क्षमताको फोनलाई २५ देखि ३० हजार रुपैयाँसम्म पुर्‍याइसकेका छन् ।

यो मूल्य वृद्धि सामान्य मुद्रास्फीति (Inflation) वा डलरको उतारचढावका कारण मात्र भएको होइन । प्रविधि जगत्‌ले अहिले १५ वर्षयताकै सबैभन्दा गम्भीर मेमोरी चिप अभाव सामना गरिरहेको छ । जसको पर्दापछाडिको मुख्य खलनायक हो- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकास ।

सानो उतार-चढाव होइन, ऐतिहासिक उछाल

चिप बजारको पछिल्लो तथ्याङ्कले उपभोक्ताहरू झस्कने अवस्था देखाउँछ । सन् २०२६ को दोस्रो त्रैमासिकमा मात्रै डीर्‍याम (जुन ऱ्याममा प्रयोग हुन्छ) को सम्झौता मूल्य अघिल्लो त्रैमासिकको तुलनामा ५८ देखि ६३ प्रतिशतसम्म बढेको छ । त्यस्तै, डेटा स्टोरेजमा प्रयोग हुने एनएएनडी (NAND) को मूल्यमा ७० देखि ७५ प्रतिशतसम्मको ठुलो उछाल आएको छ ।

यदि अझै एक वर्ष पछाडि फर्केर हेर्ने हो भने डीर्‍यामको मूल्य १७१ प्रतिशतले बढेको देखिन्छ । नयाँ प्रविधिको डीडीआर-५ मेमोरीको खुला बजार मूल्य सन् २०२५ को सेप्टेम्बरयता मात्रै चार गुणा भइसकेको छ । अचम्मको कुरा त के छ भने, प्रविधि पुरानो भएर सस्तो हुनुपर्ने डीडीआर-५ जस्ता मेमोरीको मूल्य पनि घट्नुको साटो बढिरहेको छ । किनकि पुराना उपकरणका लागि यसको माग कायमै छ । तर उत्पादकहरूले यसको उत्पादन घटाइसकेका छन् ।

एआईले कसरी खोस्यो फोनको मेमोरी ?

च्याटजीपीटी, गुगल जेमनाई र माइक्रोसफ्ट कोपाइलट जस्ता एआई प्लेटफर्महरू २४ सै घण्टा सञ्चालन गर्न विशाल डेटा सेन्टरहरू चाहिन्छन् । यी एआई सिस्टमहरूलाई काम गर्न अत्यधिक गतिको विशेष मेमोरी चाहिन्छ । जसलाई एचबीएम (High Bandwidth Memory) भनिन्छ ।

चिप निर्माताहरूका लागि साधारण फोन वा ल्यापटपको मेमोरी बनाउनु भन्दा एआई चिप बनाउनु कैयौँ गुणा बढी नाफामूलक छ । एउटै वेफर (चिप काटिने सिलिकनको ठुलो पाता) बाट एआई चिप बनाउँदा उपभोक्ता उपकरणको चिपभन्दा ३ देखि ५ गुणा बढी आम्दानी हुन्छ ।

यही आकर्षक गणितका कारण विश्वको ९५ प्रतिशतभन्दा बढी डीर्‍याम उत्पादन नियन्त्रण गर्ने तीन दिग्गज कम्पनीहरू- दक्षिण कोरियाका सामसङ र एसके हाइनिक्स तथा अमेरिकाको माइक्रोनले आफ्ना कारखानाहरू साधारण मेमोरी उत्पादनबाट हटाएर एआई चिप तर्फ मोडेका छन् । विशेषज्ञहरू यसलाई बाँडफाँड सकिएको अवस्था (Allocation Exhaustion) भन्छन् । अर्थात्, कारखानासँग उत्पादन क्षमता त छ, तर सबै एआईका लागि बुक भइसकेकाले सामान्य ग्राहकका लागि चिप बाँकी नै छैन ।

एउटै परियोजनाले संसारको ४०% मेमोरी सोस्दै !

च्याटजीपीटीको मातृ कम्पनी ओपनएआईले स्टारगेट (Stargate) नामक विशाल एआई परियोजनाका लागि कोरियाली चिप निर्माताहरूसँग एउटा ठुलो सम्झौता गरेको छ । सामसङ र एसके हाइनिक्सले यस परियोजनाका लागि मात्रै मासिक ९ लाख डीर्‍याम उत्पादन गर्नेछन् । जसले संसारको कूल उत्पादनको झन्डै ४० प्रतिशत हिस्सा ओगट्छ । सन् २०२९ सम्मका लागि गरिएको यो आपूर्ति सम्झौता झन्डै ७२ बिलियन डलर बराबरको छ ।

ओपनएआई मात्र होइन, माइक्रोसफ्ट, गुगल, मेटा र अमेजन जस्ता प्राविधिक महारथीहरू पनि यही सीमित आपूर्तिको होडबाजीमा छन् । अवस्था कतिसम्म गम्भीर छ भने, एसके हाइनिक्सको सन् २०२६ भरको सम्पूर्ण एचबीएम उत्पादन पहिल्यै अग्रिम बुकिङ (Sold Out) भइसकेको छ ।

कारखानाले किन तुरुन्तै उत्पादन बढाउन सक्दैनन् ?

माग बढेपछि उत्पादन बढाए भइगो नि भन्ने धेरैलाई लाग्न सक्छ । तर, चिप बनाउने कारखाना (फ्याब) संसारकै सबैभन्दा जटिल र महँगा संरचना हुन् ।एउटा नयाँ आधुनिक चिप कारखाना बनाउन कम्तीमा ३ देखि ४ वर्ष लाग्छ र यसको लागत सन् २०३० सम्म पुग्दा प्रति-कारखाना ५० बिलियन डलरसम्म पुग्ने अनुमान छ ।

त्यस्तै चिप छाप्नका लागि संसारकै अति-विशेष ईयूभी लिथोग्राफी मसिन चाहिन्छ । जुन नेदरल्यान्ड्सको एएसएमएल कम्पनीले मात्र बनाउँछ । यो एउटै मसिनको मूल्य ३८० मिलियन डलरसम्म पर्छ । यसको तौल ३ लाख ३० हजार पाउन्ड हुन्छ र २५० जना इन्जिनियर मिलेर जोड्न मात्रै ६ महिना लाग्छ ।

विगत ४-५ वर्षमा उद्योगहरूले स्टोरेज (NAND) उत्पादनमा लगानी घटाएका थिए । त्यसैले अहिले एक्कासि माग बढ्दा बजार सम्हाल्न सक्ने थप क्षमता कसैसँग पनि छैन ।

कुन देशको छ त हालीमुहाली ?

चिप उद्योगको भूगोल निकै साँघुरो र केही देशमा मात्र सीमित छ । दक्षिण कोरियाली कम्पनीहरू सामसङ र एसके हाइनिक्सको हातमा डीर्‍याम बजारको ७०% र एआईका लागि चाहिने एचबीएमको ८०% हिस्सा छ ।

अमेरिकासँग माइक्रोन छ भने जापानसँग किओक्सिया र कच्चा पदार्थको बलियो नियन्त्रण छ ।

चीन विश्वकै ठुलो उपभोक्ता हो र आफ्नै वाईएमटीसी कम्पनीमार्फत आत्मनिर्भर हुन सङ्घर्ष गर्दैछ । जसको आम्दानी २०२६ को पहिलो त्रैमासिकमा ४४५% ले बढेको छ । यसैगरी नेदरल्यान्ड्सको एएसएमएलले भने मसिनको साँचो बोकेको छ ।

यस्तो केन्द्रीकृत आपूर्ति शृङ्खला (Supply Chain) भएकाले संसारको कुनै एउटा कुनामा समस्या आउँदा त्यसको सिधै असर विश्व बजारमा पर्छ ।

उपभोक्तालाई यसले के फरक पार्छ ?

चिपको महँगी र अभावका कारण उत्पादकहरूले मोबाइल र ल्यापटपको उत्पादन नै कटौती गर्न थालेका छन् । सन् २०२६ मा विश्वभर स्मार्टफोनको ढुवानी (Shipment) १२.९ प्रतिशतले र पीसी (PC) बजार ११.३ प्रतिशतले खुम्चिने प्रक्षेपण गरिएको छ ।

यस वर्ष विशेष गरी बढी स्टोरेज (SSD/ROM) भएका फोन, ल्यापटप र प्रिमियम मोडेलहरूको मूल्य अत्यधिक बढ्नेछ । उही मूल्यमा डबल स्टोरेज दिने वा नि:शुल्क अपग्रेड गर्ने अफरका दिनहरू अब सकिएको छ । निर्माताहरूले आफ्नो सीमित चिप महँगा र बढी नाफा दिने प्रिमियम फोनहरूमा मात्र प्रयोग गर्ने भएकाले बजारमा १० देखि २० हजारका राम्रा फोनहरूको उपलब्धता निकै घट्नेछ ।

यो सङ्कट केवल फोन र कम्प्युटरमा मात्र सीमित रहने छैन । गेम कन्सोल, स्मार्ट टिभी, आधुनिक क्यामेरा र भोलिका दिनमा गाडीहरूको मूल्यमा समेत यसको असर देखिनेछ ।

यो सङ्कट कहिलेसम्म ?

विज्ञहरूका अनुसार यो महँगीको चक्र तत्कालै रोकिनेवाला छैन । एआईको मागले कारखानाहरूको विस्तार क्षमतालाई निकै पछाडि छाडिदिएको छ । धेरैजसो प्रक्षेपणहरूले चिपको मूल्य सन् २०२७-२०२८ सम्म उच्च नै रहने देखाएका छन् ।

नयाँ बनिरहेका कारखानाहरू पूर्ण क्षमतामा सञ्चालन हुन र एआईको तीव्र माग केही शान्त हुन कम्तीमा सन् २०२८-२०२९ सम्म कुर्नुपर्ने हुन्छ । केही विश्लेषकहरू त सन् २०३० अघि उपभोक्ताले वास्तविक राहत नपाउने दाबी गर्छन् ।

किन्ने भए अहिल्यै किन्नुस्, पर्खिनु बुद्धिमानी होइन

वर्षौंदेखि प्रविधिको विकाससँगै सस्तो हुँदै आएको मेमोरी (स्टोरेज) एआई युगको नयाँ 'सुन' वा बहुमूल्य स्रोत बनेको छ । त्यसैले यदि तपाईंलाई यो वर्ष कुनै डिजिटल उपकरण साँच्चै आवश्यक छ भने, भोलि सस्तो होला र किनौँला भनेर पर्खिनु घाटाको सौदा हुन सक्छ । बजार विश्लेषकहरूको सल्लाह मान्ने हो भने मूल्य अझै बढ्ने निश्चित भएकाले आवश्यक ग्याजेटहरू अहिले नै खरिद गर्नु आर्थिक रूपमा बुद्धिमानी हुनेछ ।

(लेखक शंकर मैनाली टेक्नो मोबाइल नेपालका महाप्रबन्धक हुन्)

 

पछिल्लो अध्यावधिक: जेठ ३१, २०८३ १९:२८