काठमाडौं । इन्टरनेट सोसाइटी नेपाल च्याप्टरको आयोजनामा तेस्रो यूथ इन्टरनेट गभर्नेन्स फोरम (वाईआईजीएफ) २०२४ सम्पन्न भएको छ । राष्ट्रिय युवा परिषद्को सहकार्य रहेको उक्त कार्यक्रम ‘खुला, समावेशी र सुरक्षित इन्टरनेटका लागि युवाहरूलाई सशक्त बनाऔं’ भन्ने नाराका साथ सम्पन्न भएको हो ।
विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इन्टरनेट गभर्नेन्सका सरोकारवाला निकाय एवं संस्थाहरूको सहकार्य र समन्वयमा सम्पन्न गरिएको यस कार्यक्रममा इन्टरनेट सुशासनका मुद्दाहरूमा युवाहरूको भूमिका तथा अन्य सम्बन्धित विषयहरूमा छलफल र विचारविमर्श गरिएको थियो ।
त्यस्तै कार्यक्रम डिजिटल विभाजन, विश्वव्यापी पहुँच, एआई गभर्नेन्स, अनलाइन अभिव्यक्ति स्वतन्त्रता जस्ता इन्टरनेट गभर्नेन्सका ममत्वपूर्ण र समसामयिक मुद्दाहरूमा युवाहरूको भूमिका कसरी सबल र सहभागीतामूलक बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रमलाई थप समावेशी र प्रभावकारी बनाउन काठमाडौँ बाहिरका सहभागीहरूलाई यातायात खर्च तथा होटेल बास सहितको फेलोसिपको व्यवस्था समेत गरिएको थियो । उक्त फेलोशिपमा सहभागीहरूले कार्यक्रममा आफूले सिकेको कुरालाई समुदायमा पुर्याउन ममत्वपूर्ण भूमिका खेल्ने आयोजकले विश्वास जनाएको छ ।
यूथ आईजीएफ नेपालका अध्यक्ष आनन्द गौतमले इन्टरनेट हाम्रो जीवनको दैनिकी भइसकेकाले यस डिजिटल युगमा इन्टरनेट गभर्नेन्स र सम्बन्धित विषयहरू जीवन पर्यन्त सिकाइको रूपमा रहने बताए । उनले आगामी दिनमा पनि सूचना प्रविधि तथा इन्टरनेटले सृजना गर्ने अवसर र चुनौती सम्बोधनमा युवाहरूको पहुँच र सहभागीता सुनिश्चित गर्न तथा इन्टरनेट गभर्नेन्सका नीति निर्माण तहमा युवाहरूको पहुँच तथा क्षमता विकास गर्न आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता जनाए ।