काठमाडौं । सामसङले आफ्नो फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस २६ सिरिज आउँदो जनवरीमा सार्वजनिक गर्ने सम्भावना छ । विगतमा झैं सामसङले यस सिरिज अन्तर्गत ग्यालेक्सी एस २६, एस २६+ र एस २६ अल्ट्रा सार्वजनिक गर्ने सम्भावना छ ।
तर हालै बाहिरिएको एक खबर अनुसार भने सामसङले एस २६ सिरिजको लाइनअपमा परिवर्तन गर्ने योजना बुनीरहेको छ । जसअन्तर्गत सामसङले बेस भेरियन्ट एस २६ लाई निरन्तरता नदिन सक्छ । यसो हुँदा ग्यालेक्सी एस २६+ र ग्यालेक्सी एस २६ अल्ट्रामात्र आउँदो वर्ष सार्वजनिक हुने छन् ।
यसअघि पनि सामसङले आफ्नो फ्ल्यागशिप ट्याब्लेटको लाइनअपमा त्यस्तै परिवर्तन गरेको थियो । जसअन्तर्गत भ्यानिला मोडेल स्थगित गर्दै ग्यालेक्सी ट्याब एस १०+ र ग्यालेक्सी ट्याब एस १० अल्ट्रा मात्र सार्वजनिक गरेको थियो ।
अब यस्तै परिवर्तन ग्यालेक्सी एस २६ सिरिजमा हुन सक्ने आँकलन गरिएको हो । यसले सामसङलाई सस्तो मोडेलको प्रतिस्पर्धाबाट बाहिर निकाल्छ । तर, सस्तोमा सामसङको फ्ल्यागशिप फोन चलाउने सोचिरहेका प्रयोगकर्ताहरूलाई भने यसबाट मार पर्न सक्छ । यद्यपि सामसङले अहिलेसम्म यस विषयमा कुनै आधिकारिक जानकारी भने बाहिर ल्याएको छैन ।