काठमाडौं । दशैंको शुभकामना दिन चिठ्ठी पत्र पठाउने चलन अब त करिब करिब हटिसक्यो । अहिले मानिसहरू सामाजिक सञ्जालमा नै सक्रिय हुने भएकाले तिनै माध्यमबाट शुभकामना आदानप्रदान गर्न निकै सजिलाे भएकाे छ ।
सामाजिक सञ्जालबाट शुभकामना दिन पोस्टर निकै महत्त्वपूर्ण मानिन्छ । हामी आफ्नो फोनबाट नै स्तरीय पोस्टर बनाउन सक्छौं । यस्ता पोस्टरहरू विभिन्न चाडपर्वमा आफ्नो सामाजिक सञ्जालमा राखेर शुभकामना दिन उपयुक्त माध्यम हुन सक्छन् ।
आज हामी तपाईंलाई स्मार्टफोनबाट आकर्षक शुभकामना पोस्टर बनाउने तरिका बारे बताउँदै छौं । त्यसका लागि सबैभन्दा पहिले आफ्नै हातले फोटोमा देखाए जस्तै कसरी ‘दशैंको शुभकामना’ टेक्स्ट लेख्ने भन्ने जानकारी दिनेछौं ।
सबैभन्दा पहिला यहाँ क्लिक गरेर ‘लेट्स कलर क्यालिग्राफी’ एप इन्स्टल गर्नुहोस् । यो एक नेपाली एप हो ।
एप इन्स्टल भइसकेपछि त्यसलाई खोल्नुहोस् ।
अनि, त्यहाँ भएको ‘ब्ल्याङ्क क्यानभास’ (Blank Canvas) सेक्सनमा जानु होस् ।
यति गरिसकेपछि आफ्नो लागि उपयुक्त आकार छान्नुहोस् । हामी यहाँ ९ः१६ को साइज प्रयोग गर्दैछौं ।
त्यसपछि त्यहाँ तपाईंले क्यालिग्राफी शैलीमा लेख्न सक्नुहुन्छ ।
आफ्ना अक्षर स्तरीय र थप आकर्षक बनाउन तपाईंले तल दायाँपट्टि रहेको ग्रिडको अप्सन छान्न सक्नुहुन्छ ।
त्यसपछि क्यानभासमा दशैंको शुभकामना लेख्न सक्नुहुन्छ ।
अभ्यास गर्दै जाँदा यसैमा दशैंको शुभकामना टेक्स्ट अझै स्तरीय बनाउन पनि सकिन्छ ।
शब्द लेखिसकेपछि माथि डाउनलोडको अप्सनमा ट्याप गरेर फोटोको रूपमा डाउनलोड गर्न सक्नुहुन्छ ।
यो फोटो अब तपाईंले अर्को मोबाइल एपमा राखेर आफ्नो डिजाइन बनाउन सक्नुहुन्छ । पछिल्लो समय अनलाइनमा यस्ता पर्याप्त टुलहरू छन्, जहाँबाट तपाईंले उत्कृष्ट ग्राफिक डिजाइन बनाउन सक्नुहुन्छ ।
खासगरी क्यान्भा, पिक्स आर्ट, पिक्सेलल्याब आदिबाट आकर्षक ग्राफिक्स डिजाइन बनाउन सक्नुहुन्छ । हामी यहाँ भने डिजाइनका लागि पिक्सेलल्याब प्रयोग गर्दै छौं ।
१) एप र एपमा फन्ट इन्स्टल
सबैभन्दा पहिला एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईओएसका लागि यहाँ क्लिक गरेर पिक्सेलल्याब एप इन्स्टल गर्नुहोस् । पोस्टरलाई आकर्षक बनाउन हामीले विभिन्न फन्टहरू प्रयोग गर्नुपर्ने हुन्छ ।
यदि तपाईंले बनाउन चाहेको पोस्टरमा अङ्ग्रेजी अक्षर प्रयोग गर्न खोज्नु भएको हो भने त केही गर्नै परेन । एपमा डिफल्ट रूपमा रहेका फन्टलाई नै प्रयोग गर्न पनि सक्नु हुन्छ । तर, नेपाली अक्षर प्रयोग गर्न चाहनु हुन्छ भने तपाईंले तल उल्लिखित प्रक्रियाबाट फन्ट इन्स्टल गर्नु पर्ने हुन्छ ।
गुगलमा गएर नेपाली फन्ट कलेक्सन जिप फाइल (Nepali Font Collection Zip File) सर्च गरेर फन्ट डाउनलोड गर्नुहोस् । यहाँ क्लिक गरेर पनि तपाईं सोझै फन्ट डाउनलोड गर्न सक्नु हुन्छ ।
फन्ट डाउनलोड गरिसकेपछि त्यसलाई आफ्नो स्मार्टफोनमा रहेको फाइल म्यानेजरमा एक्स्ट्रयाक्ट गर्नुपर्ने हुन्छ । एक्स्ट्रयाक्याट गर्नका लागि तपाईंले डाउनलोड गरेको फन्टको जिप फाइल कुन फोल्डरमा छ भन्ने पत्ता लगाउनुपर्ने हुन्छ ।
प्रायः फोनमा डाउनलोड गरेका सामग्री डाउनलोड फोल्डरमा हुने भएकाले तपाईं त्यहीँ जान सक्नुहुन्छ । आफूले डाउनलोड गरेको जिप फाइलमा ट्याप गर्नुभयो भने एक्स्ट्रयाक्ट गर्ने अप्सन देखिन्छ ।
यसरी फन्टलाई कुनै फोल्डरमा एक्स्ट्रयाक्ट गर्न सकिन्छ । यो प्रक्रियापछि पिक्सेलल्याबमा सो फन्ट इन्स्टल गर्नुपर्ने हुन्छ ।
पिक्सेलल्यावमा फन्ट इन्स्टल गर्न सबैभन्दा पहिला एप खोल्नुहोस् ।
एप खोलिसकेपछि त्यहाँ न्यु टेक्स्ट (New Text) लेखिएको एक अप्सन देखिन्छ, त्यसमा क्लिक गर्नुहोस् ।
अब तलको A आइकनमा क्लिक गर्नु भयो भने थुप्रै अप्सनहरू खुल्छन् ।
त्यसलाई बायाँ तर्फ सार्दै जानुभयो भने फन्ट भन्ने अप्सन भेट्नु हुनेछ ।
फन्टमा क्लिक गर्दा एउटा नयाँ सेक्सन देखिन्छ । जसमा तपाईंलाई तीन विकल्प दिएका हुन्छन् ।
तपाईंले बीचको माई फन्ट (My Font) मा ट्याप गर्नुभयो भने त्यहाँ खाली सेक्सन देख्न सक्नु हुन्छ । अब हामीले डाउनलोड गरेका फन्ट यही सेक्सनमा इन्स्टल गर्नुपर्ने हुन्छ ।
फन्ट इन्स्टलका लागि साेही सेक्सनको तल सर्च बक्स रहेको छ । सर्च बक्सको छेउमा रहेका दुई ओटा आइकन मध्ये अन्तिमको अप्सन छान्नुहोस् ।
अब फाइल म्यानेजरको अप्सन देखिन्छ । त्यहाँ पहिला फन्ट एक्स्ट्रयाक्ट गरेको फोल्डरमा गई फन्ट छान्नुहोस् । यसरी फन्ट पिक्सेलल्याबमा इन्स्टल गरिसकेपछि पहिलेको माई फन्टको ठाउँमा अब तपाईंले थुप्रै फन्टहरू देख्न सक्नुहुन्छ ।
२) डिजाइन गर्ने तरिका
फन्ट इन्स्टलको प्रक्रिया सकिएपछि अब पोस्टर डिजाइनको चरणमा जाऔं । यसमा डिजाइन गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
सबैभन्दा पहिला तपाईंले डिजाइन कुन पर्वका लागि बनाउन खोज्नु भएको हो, त्यो ख्याल गर्नुपर्ने हुन्छ ।
त्यो भन्दा पनि विशेष कुरा सम्बन्धित चाड पर्वमा कुन-कुन रङ्गलाई प्राथमिकता दिइन्छ भन्ने ख्याल गर्नुपर्ने हुन्छ । सोही अनुसार हामी यहाँ रातो र हरियो रङ्गको प्रयोग गरिरहेका छौं ।
अब ब्याकग्राउन्ड कलर छान्नुहोस्, त्यसका लागि सो पेजको अन्तिममा अप्सन देख्नु हुनेछ । त्यसमध्ये सकेन्ड लास्ट अप्सन छान्नुहोला । सो अप्सन छानेपछि कलर भन्ने अप्सन देखिन्छ । त्यसमा क्लिक गरेर आफूलाई आवश्यक कलर छान्न सक्नु हुन्छ ।
कलर छानेपछि, तलको तेस्रो अप्सनमा जानुहोस् । त्यसपछि माथि शेप्स (Shapes) भन्ने अप्सन देखिन्छ । त्यसमा ट्याप गर्दा वर्गाकार बक्स देखा पर्छ । अब तपाईंले त्यही बक्सलाई आफ्नो आवश्यकता अनुसार साइज र कलरमा मिलाउन सक्नुहुन्छ ।
यसरी हामीले बनाएको पोस्टर जस्तै विभिन्न कलरका बक्स बनाउनुहोस् ।
यो प्रक्रिया सकिएपछि तपाईंले अन्य दुई ओटा कुरामा ध्यान दिनुपर्छ । यदि तपाईं आफ्नो फोटो राख्न चाहनु हुन्छ भने आफ्नो फोटोसँगै जमरा र टीकाको फोटो डाउनलोड गर्नु होस् ।
फोटोको ब्याकग्राउन्ड भएको खण्डमा हटाउनका लागि तपाईंले कुनै एक ब्याकग्राउन्ड रिमुभर साइट प्रयोग गर्न सक्नु हुन्छ, जस्तै रिमुभ डट बीजी । यसरी फोटोमा देखाए जस्तो पोस्टर तपाईंले आफ्नो फोनको एपबाट केही समयमै बनाउन सक्नुहुन्छ ।
तपाईंले माथि हातैले ‘दशैंको शुभकामना’ लेखेको टेक्स्टको फोटोलाई यसैमा प्रयोग गर्न सक्नुहुन्छ । त्यसका लागि सबैभन्दा पहिला फोटोको ब्याकग्राउन्ड हटाउनुहोस् । अनि आफूले चाहेको जस्तो कलर राख्नु होस् ।
यस पोस्टरमा प्रयोग भएका विभिन्न चिजहरू (जमराको फोटो, बीचमा रहेको लाइन, त्यस्तै तल भएको मन्दिरको फोटो) सबै पीएनजी फर्म्याटमा डाउनलोड गर्न सकिन्छ । यदि ब्याकग्राउन्ड हटाउनु पर्यो भने पनि हामीले ब्याकग्राउन्ड हटाउने तरिकाको बारे माथि नै जानकारी दिइसकेका छौं । पोस्टर के कुराले आकर्षक देखिन्छ भन्ने विषय तपाईंको छनौटमा निर्भर रहन्छ ।
आईओएसमा पिक्सेल ल्याब शुल्क तिरेर प्रयोग गर्नुपर्ने हुन्छ । यदि पिक्सेलल्याब जस्तै एप निःशुल्क प्रयोग गर्न चाहनु हुन्छ भने यहाँ क्लिक गरी आईओएस प्रयोगकर्ता र यहाँ क्लिक गरी एन्ड्रोइड प्रयोगकर्ताले क्यान्भा एप इन्स्टल गर्न सक्नु हुन्छ ।
क्यान्भा वेब ब्राउजरमा पनि प्रयोग गर्न सकिन्छ । यसमा फोटो मात्र नभई भिडिओ समेत डिजाइन र एडिट गर्ने सुविधा दिइएको छ ।
स्तरीय नेपाली फन्ट राखेर पनि पोस्टर डिजाइन गर्न सकिन्छ । तर, सबै फन्ट वा पोस्टरको टेम्प्लेट निःशुल्क रूपमा भने उपलब्ध हुँदैनन् । यदि तपाईं डिजाइनमा पोख्त हुनुहुन्छ भने आफ्नै स्तरीय डिजाइन पनि बनाउन सक्नुहुन्छ । स्तरीय फोटो डिजाइन गर्नका लागि पिकआर्ट एप पनि एउटा अर्को राम्रो विकल्प हो ।
यसमा पनि क्यान्भा जस्तै पहिले नै प्रयोगमा आएका टेम्प्लेटमा एडिट गर्न सकिन्छ । त्यस बाहेक पनि आफ्नो छुट्टै डिजाइन तयार पारेर पोस्टर बनाउन सकिन्छ । यसमा पाइने अधिकांश टेम्प्लेट र फन्टका लागि शुल्क तिर्नुपर्ने हुन्छ । त्यसैले निःशुल्क विकल्प चाहनु हुन्छ भने तपाईंका लागि क्यान्भा वा पिक्सेल ल्याब नै उपयुक्त हुनसक्छ ।