close

राजेश पायल राईलाई लाग्यो आफ्नै गीतमा कपिराइट, समाधान नभए कानुनी उपचारमा जाने

टेकपाना टेकपाना

असोज २२, २०८१ १७:१८

राजेश पायल राईलाई लाग्यो आफ्नै गीतमा कपिराइट, समाधान नभए कानुनी उपचारमा जाने

काठमाडौं । गायक राजेश पायल राईलाई आफ्नै गीतमा कपिराइट क्लेम लागेको छ । राईलाई ‘एम्युज’ (Amuse) नामक म्युजिक डिस्ट्रिब्युसन प्लेटफर्ममा आफ्नै गीतमा कपिराइट लागेको हो ।

एम्युजले कलाकारलाई आफ्नो गीत स्पोटिफाई, एप्पल म्युजिक, अमेजन म्युजिक जस्ता प्लेटफर्ममा वितरण गर्न सहयोग गर्ने गर्छ । अहिले यही प्लेटफर्ममार्फत आफ्ना गीतहरू राख्दा अधिकांश अपलोड नभइरहेको उनले टेकपानालाई बताए । त्यसको कारण भने ती गीत पहिल्यै अन्यत्र गैरकानुनी तरिकाले हाल्नु रहेको उनको भनाइ छ । 

“मैले एम्युजमार्फत भर्खर मात्र गीत राख्न थालेको हुँ । तर मेरो गीतमा मलाई नै कपिराइट लागिरहेको छ,” राईले भने, “ती गीत कसले कहाँ राखेको छ भनेर एम्युजमा थाहा नहुने रहेछ । त्यही भएर यस पटक मैले गैरकानूनी तरिकाले गीत राखिदिनु भएको छ भने हटाइदिनुहोस् भनेर सूचित गरेको छु ।”

राईले आज मात्रै यसबारे सामाजिक सञ्जालमार्फत पनि सचेत गराएका छन् । जहाँ उनल लेखेका छन्, “...उल्टै मलाई कपिराइट लागेको हुनाले यो सूचित गरिन्छ कि तपाईंले राख्नु भएका मेका गीतहरू तुरुन्त डिलिट गर्नुहोला । अन्यथा म कानुनको उपचारमा लाग्ने छु ।”

यसरी कसैले अनुमति बेगर अरु कुनै प्लेटफर्ममा गीत राख्नु कलाकारको अधिकार हनन भएको उनको भनाइ छ । राईका अनुसार एम्युजमा चार ओटा गीत राख्दा एउटामा त्यस्तो समस्या आएको छ । अहिले कसैलाई पनि शंकाले नहेरेको तर भविष्यसम्म पनि अटेर गरेर आफ्नो गीत गैरकानुनी तरिकाले राखिरहे साइबर ब्युरोकहाँ मुद्दा लिएर जाने उनले सुनाए ।

 

 

पछिल्लो अध्यावधिक: असोज २२, २०८१ १७:१८