close

११,००० एमएएच ब्याट्री र १०,००० निट्स डिस्प्ले भएको स्मार्टफोन अनर एक्स-८० प्रो म्याक्स सार्वजनिक

टेकपाना टेकपाना

असार १०, २०८३ १०:१९

११,००० एमएएच ब्याट्री र १०,००० निट्स डिस्प्ले भएको स्मार्टफोन अनर एक्स-८० प्रो म्याक्स सार्वजनिक

काठमाडौँं । अनरले आफ्नो नयाँ स्मार्टफोन अनर एक्स-८० प्रो म्याक्स सार्वजनिक गरेको छ । विशाल ब्याट्री, उच्च ब्राइटनेस भएको डिस्प्ले र मजबुत डिजाइनका साथ यो फोन बजारमा ल्याइएको हो ।

यस फोनको सबैभन्दा मुख्य आकर्षण यसमा रहेको ११,००० एमएएचको चौथो पुस्ताको क्विङहाई लेक (Qinghai Lake) ब्याट्री हो, जुन अनरले अहिलेसम्म प्रयोग गरेको सबैभन्दा ठुलो ब्याट्री हो । अनरका अनुसार, यसले ४२ दिनसम्मको स्ट्यान्डबाइ टाइम दिन्छ ।

प्रयोगशाला परीक्षणमा, यसले लगातार ३३.५ घण्टा शर्ट भिडिओ, ७३.७ घण्टा फोन कल, २३.९ घण्टा गेमिङ र २१.३ घण्टा नेभिगेसन सेवा चलाउन सक्ने प्रमाणित भएको छ । यो फोनले २६ घण्टाभन्दा बढी निरन्तर स्मार्टफोन लाइभस्ट्रिम गरेर गिनिज वर्ल्ड रेकर्ड समेत बनाएको छ । यसमा ९० वाटको वायर्ड फास्ट चार्जिङ र अन्य डिभाइस चार्ज गर्न मिल्ने २७ वाट को वायर्ड रिभर्स चार्जिङ सुविधा पनि समावेश छ ।

डिस्प्ले र डिजाइन

अनर एक्स-८० प्रो म्याक्समा ६.८ इन्चको LTPS OLED डिस्प्ले रहेको छ । जसको रिजोल्युसन 1.5K (२७८८×१२८० पिक्सेल) छ । यसमा ६० हर्जदेखि १२० हर्जसम्म डाइनामिक रूपमा परिवर्तन हुने रिफ्रेश रेट र ३८४० हर्ज PWM डिमिङ प्रविधि छ । यो डिस्प्लेको मुख्य विशेषता यसको १०,००० निट्सको पिक ब्राइटनेस हो, जसलाई इन्डस्ट्रीकै पहिलो दाबी गरिएको छ ।

फोनको डिजाइन प्रिमियम छ, जसमा गोल्ड फ्रेम र फ्ल्याट डिजाइन प्रयोग गरिएको छ । १.३ एमएमको स्लिम बेजेल र ९४.८५% स्क्रिन-टु-बडी रेसियो भएको यो डिस्प्लेमा आई-प्रोटेक्सन, एचडीआर डिस्प्ले, अल्ट्रा डाइनामिक र ट्रु-कलर डिस्प्ले प्रविधिहरू पनि राखिएका छन् ।

 

प्रोसेसर र पर्फर्मेन्स

फोनमा ४ नानोमिटर प्रविधिमा बनेको क्वालकम स्न्यापड्रागन ६ जेन ५ (Qualcomm Snapdragon 6 Gen 5) अक्टा-कोर प्रोसेसर प्रयोग गरिएको छ । यो फोन LPDDR5 र्‍याम र UFS 3.1 स्टोरेज प्रविधिको साथमा आउँछ । यसले एन्ड्रोइड १६ मा आधारित म्याजिकओएस १० अपरेटिङ सिस्टममा काम गर्छ । सफ्टवेयरतर्फ एआई आउटडोर मोड र एआई ग्रिप कन्ट्रोल जस्ता सुविधाहरू छन् भने सुरक्षाका लागि शर्ट-फोकस इन-डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर दिइएको छ ।

क्यामेरा

फोटोग्राफीका लागि फोनको पछाडि OIS (अप्टिकल इमेज स्टेबलाइजेसन) र CIPA 6.0 रेटेड स्टेबलाइजेसन प्रणालीसहितको ५० मेगापिक्सेल (f/1.88 एपर्चर) को मुख्य क्यामेरा छ । यसमा फोटोग्राफी असिस्टेड सेन्सरहरू पनि छन् । सेल्फी र भिडिओ कलिङका लागि अगाडि ८ मेगापिक्सेल (f/2.0 एपर्चर) को क्यामेरा दिइएको छ ।

टिकाउपन र अन्य फिचर

यो फोनलाई निकै बलियो बनाइएको छ । यसले IP66, IP68, IP69 र IP69K रेटिङ प्राप्त गरेको छ, जसको अर्थ यो धुलो, पानी र स्प्ल्याश-प्रुफ छ । यसले १० मिटर गहिरो पानीको दबाब झेल्न सक्छ भने १,००,००० पटक पानीमा डुबाउँदा पनि असर नपर्ने कम्पनीको दाबी छ ।

यसबाहेक, ३ मिटर उचाइबाट खस्दा पनि केही नहुने प्रमाणित गर्दै यसले एसजीएस गोल्ड लेबल फाइभ-स्टार ड्रप रेसिस्टेन्स (SGS Gold Label Five-Star drop resistance) प्रमाणीकरण पाएको छ । अन्य फिचरहरूमा स्टेरियो स्पिकर, एनएफसी, आईआर ब्लास्टर, डुअल-फ्रिक्वेन्सी जीपीएस र ट्राइ-ब्यान्ड बेइडु समावेश छन् ।

मूल्य र अलर-अप्सन

यो स्मार्टफोन लाइटनिङ रेड, भाइब्रेन्ट ओरेन्ज, मुन स्याडो ह्वाइट र मिस्टिक ब्ल्याक गरी चारवटा आकर्षक रङहरूमा उपलब्ध छ । यसको मूल्य र स्टोरेज भेरियन्टहरू यस प्रकार छन्:

  • ८ जीबी र्‍याम + १२८ जीबी स्टोरेज – १९९९ युआन (करिब २९५ अमेरिकी डलर अर्थात् करिब ४४ हजार ५७७ रुपैयाँ)

  • ८ जीबी र्‍याम + २५६ जीबी स्टोरेज – २१९९ युआन (करिब ३२५ अमेरिकी डलर अर्थात् करिब ४९ हजार रुपैयाँ)

  • ८ जीबी र्‍याम + ५१२ जीबी स्टोरेज – २४९९ युआन (करिब ३७० अमेरिकी डलर अर्थात् करिब ५५ हजार ७२७ रुपैयाँ )

  • १२ जीबी र्‍याम + ५१२ जीबी स्टोरेज – २७९९ युआन (करिब ४१५ अमेरिकी डलर अर्थात् करिब ६२ हजार ४१७ रुपैयाँ)

अनरले यो फोन विश्वव्यापी बजारमा कहिले सार्वजनिक गर्छ भन्ने विषयमा भने हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

विनिमय दरः १ अमेरिकी डलर= १५१.२८ रुपैयाँ=२२.३० युआन

 

पछिल्लो अध्यावधिक: असार १०, २०८३ १०:२०