काठमाडौं । बिहीबार टेस्लाको बहुप्रतिक्षित स्वचालित ट्याक्सी ‘रोबो ट्याक्सी’को प्रोटोटाइप सार्वजनिक भयो । कार्यक्रमलाई पृथक बनाउन टेस्लाका सीईओ एलन मस्कले ‘अप्टिमस रोबोट’लाई साथमा ल्याए ।
उनी रोबोटसँगै गफिएजस्तै गरी हिंडे र रोबो ट्याक्सी भएको स्थानमा पुगे । त्यसपछि रोबोटलाई विदाइ गर्दै ट्याक्सीमा चढेर कार्यक्रम भइरहेको स्थानमा गए ।
पछि उस्तै स्वरूपका पाँचभन्दा बढी रोबोटहरू कार्यक्रममा देखिए । यहाँ रोबोटको चाल, हाउभाउ दुरुस्तै मान्छेको जस्तो थियो । झट्ट हेर्दा पनि धेरैले त्यो रोबोट नभई रोबोटको भेषमा आएको मान्छे पो होकि भन्ने अड्कल काटे ।
उक्त कार्यक्रममा सहभागी भएका अतिथिलाई रोबोटले ड्रिङ्क्स दिने, उनीहरूसँग गेम खेल्नेदेखि सँगै नाच्ने काम पनि गर्यो ।
अप्टिमस रोबोटका गतिविधि रेकर्ड गरिएका भिडिओ हेर्ने हो भने त्यो रोबोट नै हो भन्ने छुट्याउन मुस्किल पर्छ । यदि प्रविधिकै कारण रोबोटले अतिथिसँग स्पष्ट तरिकाले बोलेर वा भिजुअल सिग्नलबाट अन्तरक्रिया गरेको हो भने यो पक्कै पनि प्रविधि क्षेत्रको ठूलो सफलता हो ।
Playing charades with the Tesla Optimus robot last night. This is either the single greatest robotics and LLM demo the world has ever seen, or it's MOSTLY remote operated by a human. No in between. pic.twitter.com/vCqzk8DDdO
— Marques Brownlee (@MKBHD) October 12, 2024
त्यस कार्यक्रममा सहभागी भएका युट्युबर मर्किस ब्राउन्लीले रोबोटबारे आफ्नो धारणा दिएका छन् । “यो कि संसारले अहिलेसम्म देखेको सबैभन्दा महान् रोबोटिक्स र एलएलएम डेमो हो, कि त कसैले मसिनबाट रोबोट सञ्चालन गरेको हो,” एक्स पोस्टमा उनले लेखेका छन् ।
कार्यक्रमा सहभागी भएका अर्का व्यक्ति रोबर्ट स्कब्लीले सो रोबोटलाई मान्छेले रिमोटबाट नियन्त्रण गरिरहेको जनाएका छन् । उनले आफूले यस विषयमा इन्जिनियरसँग प्रतिक्रिया लिएको उल्लेख गरेका छन् । “यो पूर्ण रूपमा एआई होइन । यसलाई मान्छेले रिमोटबाट साहयता दिइरहेको छ,” उनले एक्स पोस्टमा लेखेका थिए, “यसको अर्थ अर्को वर्ष एआई दिवसमा अप्टिमस कति चाँडो सिक्छ भन्ने थाहा पाउन सक्छौं ।”
I talked with an engineer.
— Robert Scoble (@Scobleizer) October 11, 2024
When it walked that is AI running Optimus.
It is real impressive they brought so many out in crowds at @tesla’s event. https://t.co/CtmCKPrL4T
अर्को एक भिडिओमा एक व्यक्तिले रोबोटलाई ‘तिमी एआईद्वारा सञ्चालित त छैनौं ?’ भनी सोध्दा रोबोटले ‘हुन सक्छ’ भन्दै जवाफ फर्काएको थियो । यसबाट पनि रोबोट पूर्ण रूपमा स्वचालित नभएको सङ्केत पाउन सकिन्छ । त्यस्तै अर्को भिडिओमा उक्त रोबोटले आफूलाई मान्छेले सहायता दिइरहेको स्वीकारेको छ । यसबाट पनि रोबोट पूर्ण रूपमा स्वचालित नभएको सङ्केत पाउन सकिन्छ ।
I asked. pic.twitter.com/FkgPrdRlyW
— Robert Scoble (@Scobleizer) October 11, 2024
सन् २०२१ तिर मस्कले आफूसँगै स्टेजमा ह्युमोनोइड रोबोट ल्याएका थिए । तर, पछि त्यो रोबोटको भेषमा मान्छे भएको पुष्टि भएको थियो । त्यसैले अप्टिमस रोबोट पनि रोबोटको भेषमा मान्छे नै आएको हो कि भन्ने आशंका उब्जिएको छ ।
स्वचालित ट्याक्सी र स्वचालित भ्यान सार्वजनिक गर्ने क्रममा देखिएका अप्टिमस रोबोटबारे मस्कले पनि प्रस्तुति दिएका थिए । “अप्टिमस तपाईंसँगै हिंड्छ,” मस्कले भनेका थिए, “तपाईं उसको छेउमा जानुभयो भने ड्रिङ्क्स सर्भ गर्छ ।”
मस्कका अनुसार यस रोबोटले मान्छेले गर्न लगाएका सबै काम गर्न सक्छ । कुकुरलाई हिंडाउन, बच्चाबच्चीसँग बस्न र अन्य काम गर्न सक्छ । यसको मूल्य २० हजारदेखि ३० हजार डलरसम्म पर्ने उनको भनाइ छ । “मलाई लाग्छ यो कुनै पनि रूपको सबैभन्दा ठूलो प्रडक्ट हुनेछ,” मस्कले भने ।
पछिल्लो अध्यावधिक: असोज २८, २०८१ १२:४६
