काठमाडौं । बिहीबार टेस्लाको बहुप्रतिक्षित स्वचालित ट्याक्सी ‘रोबो ट्याक्सी’को प्रोटोटाइप सार्वजनिक भयो । कार्यक्रमलाई पृथक बनाउन टेस्लाका सीईओ एलन मस्कले ‘अप्टिमस रोबोट’लाई साथमा ल्याए ।
उनी रोबोटसँगै गफिएजस्तै गरी हिंडे र रोबो ट्याक्सी भएको स्थानमा पुगे । त्यसपछि रोबोटलाई विदाइ गर्दै ट्याक्सीमा चढेर कार्यक्रम भइरहेको स्थानमा गए ।
पछि उस्तै स्वरूपका पाँचभन्दा बढी रोबोटहरू कार्यक्रममा देखिए । यहाँ रोबोटको चाल, हाउभाउ दुरुस्तै मान्छेको जस्तो थियो । झट्ट हेर्दा पनि धेरैले त्यो रोबोट नभई रोबोटको भेषमा आएको मान्छे पो होकि भन्ने अड्कल काटे ।
उक्त कार्यक्रममा सहभागी भएका अतिथिलाई रोबोटले ड्रिङ्क्स दिने, उनीहरूसँग गेम खेल्नेदेखि सँगै नाच्ने काम पनि गर्यो ।
अप्टिमस रोबोटका गतिविधि रेकर्ड गरिएका भिडिओ हेर्ने हो भने त्यो रोबोट नै हो भन्ने छुट्याउन मुस्किल पर्छ । यदि प्रविधिकै कारण रोबोटले अतिथिसँग स्पष्ट तरिकाले बोलेर वा भिजुअल सिग्नलबाट अन्तरक्रिया गरेको हो भने यो पक्कै पनि प्रविधि क्षेत्रको ठूलो सफलता हो ।
Playing charades with the Tesla Optimus robot last night. This is either the single greatest robotics and LLM demo the world has ever seen, or it's MOSTLY remote operated by a human. No in between. pic.twitter.com/vCqzk8DDdO
त्यस कार्यक्रममा सहभागी भएका युट्युबर मर्किस ब्राउन्लीले रोबोटबारे आफ्नो धारणा दिएका छन् । “यो कि संसारले अहिलेसम्म देखेको सबैभन्दा महान् रोबोटिक्स र एलएलएम डेमो हो, कि त कसैले मसिनबाट रोबोट सञ्चालन गरेको हो,” एक्स पोस्टमा उनले लेखेका छन् ।
कार्यक्रमा सहभागी भएका अर्का व्यक्ति रोबर्ट स्कब्लीले सो रोबोटलाई मान्छेले रिमोटबाट नियन्त्रण गरिरहेको जनाएका छन् । उनले आफूले यस विषयमा इन्जिनियरसँग प्रतिक्रिया लिएको उल्लेख गरेका छन् । “यो पूर्ण रूपमा एआई होइन । यसलाई मान्छेले रिमोटबाट साहयता दिइरहेको छ,” उनले एक्स पोस्टमा लेखेका थिए, “यसको अर्थ अर्को वर्ष एआई दिवसमा अप्टिमस कति चाँडो सिक्छ भन्ने थाहा पाउन सक्छौं ।”
अर्को एक भिडिओमा एक व्यक्तिले रोबोटलाई ‘तिमी एआईद्वारा सञ्चालित त छैनौं ?’ भनी सोध्दा रोबोटले ‘हुन सक्छ’ भन्दै जवाफ फर्काएको थियो । यसबाट पनि रोबोट पूर्ण रूपमा स्वचालित नभएको सङ्केत पाउन सकिन्छ । त्यस्तै अर्को भिडिओमा उक्त रोबोटले आफूलाई मान्छेले सहायता दिइरहेको स्वीकारेको छ । यसबाट पनि रोबोट पूर्ण रूपमा स्वचालित नभएको सङ्केत पाउन सकिन्छ ।
सन् २०२१ तिर मस्कले आफूसँगै स्टेजमा ह्युमोनोइड रोबोट ल्याएका थिए । तर, पछि त्यो रोबोटको भेषमा मान्छे भएको पुष्टि भएको थियो । त्यसैले अप्टिमस रोबोट पनि रोबोटको भेषमा मान्छे नै आएको हो कि भन्ने आशंका उब्जिएको छ ।
स्वचालित ट्याक्सी र स्वचालित भ्यान सार्वजनिक गर्ने क्रममा देखिएका अप्टिमस रोबोटबारे मस्कले पनि प्रस्तुति दिएका थिए । “अप्टिमस तपाईंसँगै हिंड्छ,” मस्कले भनेका थिए, “तपाईं उसको छेउमा जानुभयो भने ड्रिङ्क्स सर्भ गर्छ ।”
मस्कका अनुसार यस रोबोटले मान्छेले गर्न लगाएका सबै काम गर्न सक्छ । कुकुरलाई हिंडाउन, बच्चाबच्चीसँग बस्न र अन्य काम गर्न सक्छ । यसको मूल्य २० हजारदेखि ३० हजार डलरसम्म पर्ने उनको भनाइ छ । “मलाई लाग्छ यो कुनै पनि रूपको सबैभन्दा ठूलो प्रडक्ट हुनेछ,” मस्कले भने ।