काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरको अभिभावक कम्पनी मेटा अहिले आलोचनाको केन्द्रमा परेको छ । अमेरिकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको विरोध गरिएका पोस्टलाई डिमोट अर्थात् स्वचालित रूपमै कम प्राथमिकतामा राख्ने एल्गोरिदम प्रयोग गरेको खुलासा भएपछि मेटाले विश्वव्यापी रुपमा विवाद झेलिरहेको हो ।
मेटामा कार्यरत नेपाली मूलका वरिष्ठ सफ्टवेयर इन्जिनियर जीवन ज्ञवालीले गरेको खुलासाले यो बहस सुरु भएको बताइएको छ । हाल सामाजिक सञ्जालमा भाइरल एक भिडिओमा केफी मिडिया ग्रुपका अन्डरकभर पत्रकारसँग ज्ञवालीले मेटाको एल्गोरिदम र कन्टेन्ट नियमन प्रणालीले ह्यारिसको आलोचना गरिएका पोस्टलाई स्वचालित रूपमै डिमोट गर्ने गरेको स्वीकार गरेका छन् ।
ज्ञवालीले भिडिओमा भनेका छन्, "मानौँ तपाईँका काकाले ओहायोबाट ह्यारिसको सन्तान नभएकाले उनी राष्ट्रपति बन्न लायक छैनन् भनेर टिप्पणी गरे भने त्यो पोस्ट स्वचालित रूपमा डिमोट हुन्छ ।"
ज्ञवालीका अनुसार मेटाको ‘इन्टिग्रिटी’ टिमले यस्तो काम गर्छ र यसबारे प्रयोगकर्तालाई जानकारीसमेत हुँदैन । यसैगरी ज्ञवालीले मेटाले गत अप्रिलमै 'स्पेसल वेपन एण्ड ट्याक्टिक्स' (SWAT) नामक टिम गठन गरेको र यो टिम सामाजिक सञ्जालको दुरुपयोग रोक्न कार्यरत रहेको उल्लेख गरेका छन् । साथै उनले मेटाका संस्थापक मार्क जुकरबर्गले डेमोक्रेटिक पार्टीको पूर्ण समर्थन गर्दै चुनावी परिणाममा हेरफेर गर्ने सामर्थ्य राख्ने दाबी पनि गरेका छन् ।
यो खुलासापछि फेसबुकको तटस्थता र प्रयोगकर्ताको डेटाको गोपनीयतामाथि गम्भीर प्रश्न उठेको छ । यसले सामाजिक सञ्जालमा सूचनाको प्रवाहलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा पनि बहसलाई थप तीव्र बनाएको छ ।
BREAKING: Senior Meta Engineer Reveals Anti-Kamala Posts Are "Automatically Demoted,” Admits Shadowbanning Tactics
— James O'Keefe (@JamesOKeefeIII) October 16, 2024
"Say your uncle in Ohio said something about Kamala Harris is unfit to be a president because she doesn't have a child, that kind of sh*t is automatically demoted,”… pic.twitter.com/4DSkvzvKmO