काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) डीन छनोट प्रक्रिया लम्बिएको छ । शर्टलिस्ट सार्वजनिक भएको महिना दिन बित्न लाग्दा समेत आईओईले नेतृत्व पाउन सकेको छैन ।
यसअघि विश्वविद्यालयले डीन नियुक्तिका लागि आवेदन माग गर्दा ११ जनाले आवेदन दिएका थिए । जसबाट पूर्व डीन प्राडा जीवराज पोखरेलको संयोजकत्वमा गठित छनोट समितिले ९ असोजमा शर्टलिस्टमा परेका पाँच जना उम्मेद्वारको नाम कार्यकारी परिषद् समक्ष बुझाएको थियो । सूचीमा प्राडा भोलानाथ शर्मा घिमिरे, प्राडा लक्ष्मण पौडेल, प्राडा संगीता सिंह, प्राडा सुवर्ण शाक्य र प्राडा सुशील बहादुर बज्राचार्य रहेका छन् ।
त्यसपछि अन्तर्वार्ता हुने र कार्यकारीले एक जनालाई डीन तोक्ने कार्यसूची रहेकोमा एक महिना बित्न लाग्दा समेत कुनै निर्णय हुन सकेको छैन ।
विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले दशैं बिदाका कारण डीन नियुक्त प्रक्रिया प्रभावित भएको बताए । “कार्यकारीको बैठकले छनौट गर्ने प्रावधान छ । तर बिदाका कारण केही प्रभावित भयो,” टेकपानासँग उनले भने, “त्यसमाथि केही सङ्कायको शर्टलिस्ट आउन बाँकी छ । सबै नियुक्ति एकै पटक गर्ने योजना बुनेकाले पनि ढिलो भएको हो ।”
उनले यो काम सम्भवतः यसै साता सक्ने गरी काम गरिरहेको उनले सुनाए ।
प्राडा. शशीधरराम जोशीको कार्यकाल गत २२ साउनमा सकिएयता आईओई अहिले नेतृत्वविहीन अवस्थामा छ ।