काठमाडौं । फिरौती नदिए कम्पनीमा बम विस्फोट गराइदिने भन्दै मेसेजबाट धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्दै आएका ३२ वर्षीय आकाश तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित तामाङले सिहुवान याङ टेक्सटाइल प्रालिका मेनेजरलाई रकम माग्दै मेसेज पठाएका थिए । भनेको जति रकम नदिए बम विस्फोट गरी कम्पनी ध्वस्त बनाइदिने धम्की दिएका थिए ।
यसरी धम्की दिएपछि कम्पनीले ती व्यक्तिविरुद्ध निवेदन दिएको थियो । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा सोमबार तामाङ पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा तामाङ त्यही कम्पनीमा श्रमिकको रूपमा काम गर्ने गरेको खुलेको छ । उनले आफ्नो पार्टीलाई डेढदेखि दुई लाख रुपैयाँसम्म सयोग गर्नुपर्यो भन्दै मेसेज पठाएको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।