काठमाडौं । घुम्न गएको बेला चट्टानमा झरेको आईफोन निकाल्ने चक्करमा एक युवती आफैं त्यसभित्र फसेको घटना बाहिर आएको छ । अष्ट्रेलियाको सञ्चारमाध्यम एबीसी न्युक्यास्टलका अनुसार मटिल्डा क्याम्पबेल नामकी युवती झरेको फोन निकाल्न खोज्दा चट्टानमा फसेकी हुन् ।
२३ वर्षीय ती युवती सोमबार साथीहरूसँग घुम्न न्यु साउथ वेल्स हन्टर भ्यालीको चट्टानी भागमा पुगेकी थिइन् । त्यहाँ फोटो खिच्ने क्रममा उनको फोन चट्टानको चेपमा पर्यो । फोन निकाल्न खोज्दा उनी चिप्लिइन् । जसले गर्दा उनी दुई ठूला चट्टानको बीचमा अड्किन पुगेकी हुन् ।
सार्वजनिक भएका फोटोमा दुई चट्टानको बीच भागमा उनका दुई खाली खुट्टा मात्र देख्न सकिन्छ । अर्थात् युवती उल्टोबाट झुण्डिएर त्यस चट्टानमा फसेकी थिइन् ।
उनलाई त्यहाँबाट उद्धार गर्न झन्डै सात घण्टा लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ । स्थानीय एनएसडब्लू एम्बुलेन्समा आएका उद्धारकर्मीले युवतीलाई सकुशल उद्धार गरेका थिए ।
उद्धारकर्मीले युवतीलाई त्यहाँबाट निकाल्न झन्डै ५०० किलोका चट्टानलाई सावधानीपूर्वक हटाएका थिए । उनलाई त्यति ठूलो चोट नलागेको भए पनि शरीरका केही भाग कोतरिएको बताएको छ ।
महिलालाई उद्धार गर्न सफल भए पनि उनको फोन भने चट्टानमै अड्किएको छ ।