अमेरिकी वर्चस्वलाई चुनौती दिने चीनको नयाँ ओपन-सोर्स एआई मोडेल GLM-5.2 ले सिलिकन भ्यालीमा तरङ्ग
असार १०, २०८३ ९:२३
काठमाडौं । सिलिकन भ्याली यतिबेला एउटा नयाँ चिनियाँ ओपन-सोर्स एआई मोडेल जीएलएम-५.२ (GLM-5.2) को चर्चाले तातेको छ । एक वर्षभन्दा अघि डिपसिक (DeepSeek) को आर-१ (R1) ले अमेरिकी च्याटबटको एकाधिकारलाई गम्भीर चुनौती दिएयता, यसरी चर्चामा आएको यो अर्को ठुलो चिनियाँ मोडेल हो ।
जेड.एआई (z.AI) को आधिकारिक ब्लगका अनुसार, जीएलएम-५.२ विशेषगरी लामो समय लाग्ने र जटिल कार्यहरू (long-horizon tasks) का लागि तयार पारिएको उसको अहिलेसम्मकै प्रमुख मोडेल हो । यस मोडेलमा १ मिलियन टोकनको मजबुत कन्टेक्स्ट विन्डो (context window) रहेको छ । जसले यसलाई एन्थ्रोपिकको क्लाउड ओपस ४.८ (Claude Opus 4.8) र ओपनएआईको जीपीटी ५.५ (GPT 5.5) कै स्तरमा उभ्याएको छ ।
यसले ठुला सफ्टवेयर निर्माण, अटोमेटेड रिसर्च र जटिल कोडिङ समस्याहरूलाई लामो समयसम्म स्थिर रूपमा समाधान गर्न मद्दत गर्छ । पूर्ण रूपमा एमआईटी ओपन-सोर्स लाइसेन्स अन्तर्गत सार्वजनिक गरिएको यो मोडेलमा कुनै पनि क्षेत्रीय प्रतिबन्ध छैन । जसले गर्दा विश्वभरका डेभलपरहरूले प्राविधिक रूपमा बिना कुनै अवरोध यसमा पहुँच पाउन सक्छन् ।
यस मोडेलले प्राविधिक रूपमा पनि ठुलो फड्को मारेको छ, जसमा इन्डेक्स शेयर (IndexShare) नामक परिष्कृत आर्किटेक्चर प्रयोग गरिएको छ । यस प्रविधिले १ मिलियन कन्टेक्स्ट लेन्थमा मोडेललाई चलाउँदा लाग्ने कम्प्युटेसनल लागतलाई २.९ गुणाले घटाउँछ । यसका साथै, जीएलएम-५.२ ले पहिलो पटक 'इफोर्ट लेभल कन्ट्रोल' (effort level control) सुविधा पनि भित्र्याएको छ । जसले प्रयोगकर्ताहरूलाई आफ्नो कोडिङ कार्यको आवश्यकता र जटिलता हेरी मोडेलको कार्यसम्पादन क्षमता र गतिलाई सन्तुलनमा राख्न सक्ने लचिलोपन प्रदान गर्छ ।
यसको गति र क्षमताले प्रविधि क्षेत्रका लगानीकर्ता, संस्थापक र इन्फ्लुएन्सरहरूलाई आश्चर्यचकित पारेको छ । डेभलपरहरूको लागि क्लाउडमा आधारित प्लेटफर्म भर्सेलका सीईओ गुइलेर्मो राउचले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "जेडएआईको GLM-5.2 कोडिङमा कति राम्रो छ भन्ने देखेर म साँच्चै प्रभावित र लगभग स्तब्ध छु । यसले धेरै कुरा परिवर्तन गर्नेछ ।"
Genuinely impressed, almost shocked, at how good GLM-5.2 by @zai_org is at coding. This changes things.
— Guillermo Rauch (@rauchg) June 21, 2026
त्यसैगरी, मेटा, गुगल डिपमाइन्ड र माइक्रोसफ्टका पूर्व उपाध्यक्ष म्याट भेलोसोले GLM-5.2 लाई पुरै एक दिन प्रयोग गरेपछि एक्समै आफ्नो प्रतिक्रिया दिएका छन् । "दैनिक प्रयोग गर्न योग्य स्तर पार गर्ने यो पहिलो ओपन मोडेल हो," उनले लेखेका छन्, "अब स्थिति पहिले जस्तो रहने छैन ।"
All day using GLM 5.2. Didn't miss much. First open model that passes the bar as a daily driver. Things are not going to be the same.
— Mat Velloso (@matvelloso) June 19, 2026
Damn, now I want to buy some serious hardware.
डिपसिक जस्तै GLM-5.2 पनि ओपन-सोर्स हो । यसको अर्थ जो कोहीले पनि यसलाई डाउनलोड गर्न, आफ्नै प्रणालीमा चलाउन र आफ्नो आवश्यकता अनुसार यसमा परिवर्तन गर्न सक्छन् । यस विपरीत, ओपनएआई र एन्थ्रोपिक जस्ता अमेरिकी कम्पनीका अधिकांश फ्रन्टियर मोडेलहरू क्लोज्ड (बन्द) छन् ।
क्लोज्ड मोडेलहरूमा उपभोक्ता पूर्ण रूपमा प्रदायक कम्पनीमा निर्भर हुन्छन् । एआई पूर्वाधारमा अर्बौं डलर खर्च गर्ने र आम्दानी वृद्धिको पर्खाइमा रहेका लगानीकर्ताहरू भएका कम्पनीहरूका लागि यस्तो मोडेल लाभदायक हुन्छ । किनकि यसले उनीहरूलाई आर्थिक रूपमा बलियो बनाउँछ । तर, यदि ओपन-सोर्स मोडेल पनि त्यत्तिकै वा त्यो भन्दा बढी उत्कृष्ट भयो भने, यसले बजारको ठुलो हिस्सा सजिलै कब्जा गर्न सक्छ ।
पछिल्ला वर्षहरूमा अमेरिका र चीनबिच एआईमा वर्चश्व कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । अमेरिका चिप प्रतिबन्ध र पहुँच नियन्त्रणमार्फत आफ्नो अग्रता जोगाउन प्रयासरत छ भने चिनियाँ कम्पनीहरू सस्तो र झन्-झन् सक्षम ओपन-सोर्स मोडेलहरूमार्फत अगाडि बढिरहेका छन् ।
एन्थ्रोपिकले भर्खरै आफ्नो एक प्रतिवेदनमा चेतावनी दिँदै भनेको छ कि चीनले खुकुलो चिप नियन्त्रण र डिस्टिलेसन अट्याकमार्फत अमेरिकासँगको दूरी कम गर्दैछ । 'डिस्टिलेसन अट्याक' भन्नाले कुनै कम्पनीले बलियो र ठुलो एआई मोडेलको प्रयोग गरेर सानो 'विद्यार्थी' मोडेललाई तालिम दिने प्रक्रियालाई बुझाउँछ । अमेरिका र उसका सहयोगी राष्ट्रहरूसँग अझै पनि 'फ्रन्टियर क्षमताहरूमा १२ देखि २४ महिनाको अग्रता कायम राख्ने' मौका रहेको एन्थ्रोपिकले उल्लेख गरेको छ । यद्यपि, यो अग्रता सुरक्षित गर्ने अवसरको झ्याल धेरै लामो समयसम्म खुला नरहने चेतावनी पनि दिइएको छ ।
गत वर्ष जनवरीमा डिपसिकले ओपनएआईको o1 लाई टक्कर दिने सस्तो रिजनिङ मोडेल R1 सार्वजनिक गर्दा चीनले सिलिकन भ्यालीलाई पहिलो झट्का दिएको थियो । त्यसबेला लगानीकर्ताहरूले सिलिकन भ्यालीको एआई अग्रता साँच्चै सुरक्षित छ त भनेर प्रश्न गर्न थालेका थिए । अहिले इन्टरनेटमा GLM-5.2 को चर्चा भइरहँदा, त्यही गम्भीर प्रश्न फेरि सतहमा आएको छ ।
पछिल्लो अध्यावधिक: असार १०, २०८३ ९:२४
