close

नेपाललाइफ डिजिटल पाठशाला सार्वजनिक, अब मोबाइलबाटै बीमा अभिकर्ताको तालिम लिन सकिने

टेकपाना टेकपाना

कात्तिक १२, २०८१ १०:४

नेपाललाइफ डिजिटल पाठशाला सार्वजनिक, अब मोबाइलबाटै बीमा अभिकर्ताको तालिम लिन सकिने

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाललाइफ पाठशाला) सार्वजनिक गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमबिच सो प्लेटफर्मको अनावरण गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले प्लेटफर्ममा लगइन गरी नेपाललाइफ पाठशाला अनावरण गरेका थिए । यससँगै नेपाललाइफले ल्याएको यस प्लेटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने भएको छ । यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास पराजुलीले व्यक्त गरे ।

नेपालको जनसङ्ख्यामा युवा जनशक्तिको हिस्सा दक्षिण एसियामै सबैभन्दा बढी रहेको उल्लेख गर्दै उनले यो ऊर्जावान् जनशक्तिलाई उद्यमशीलतामा लगाउन सके देशको आर्थिक विकास सहजै हुने विचार व्यक्त गरे ।

भूमण्डलीकरणका कारणले विश्व एउटा डिजिटल डिभाइसमा समेटिन पुगेको र यसको प्रयोग गर्दै आर्थिक स्वतन्त्रता प्राप्त गर्न सबै युवालाई उनको आग्रह थियो ।

हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमका लागि श्रव्य दृश्य सामग्री निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सीप ज्ञान अभिवृद्धिका निम्ति पनि काम थालिने उनको भनाई छ ।

यसका साथसाथै उनले निकट भविष्यमा नै बीमाको महत्त्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लेटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ नेपाललाइफ पाठशालालाई सशक्त बनाउँदै लैजाने जानकारी समेत दिए । यसै अवसरमा कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजनाअन्तर्गत लिएको कर्जाको भुक्तानीका निम्ती कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको प्रयोग गरी घरबाटै सहजताका साथ भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको छ ।

कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लेटफर्मले सोको अन्त्य गरेको कुरा बताए । अब बीमा अभिकर्ता बन्ने दृढ इच्छाशक्ति भएको खण्डमा भौतिक तालिम नै लिनका लागि कुर्नु नपर्ने र आफ्नो अनुकूल समयमा तालिम लिई बीमालाई नेपालीहरूको घरघरमा पुर्‍याउन सकिने उनको भनाई थियो ।

बीमा उद्योगमा यस्तो प्रविधिमैत्री प्लेटफर्मको विकास गर्ने पहिलो कम्पनीको रूपमा नेपाललाइफ नै भएको दाबी गर्दै उनले यसबाट सम्पूर्ण नेपाललाइफ कर्मीलाई गौरवान्वित बनाएको समेत बताए ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८१ १०:४