काठमाडौं । इन्स्टाग्राम र थ्रेड्सको नेतृत्व गर्ने मेटाका कार्यकारी आदम मोसेरीका अनुसार इन्स्टाग्रामको लोकप्रियताले भिडिओको वास्तविक क्वालिटी (गुणस्तर) लाई प्रभावित पार्न सक्छ । यसको मतलब बढी लोकप्रिय भएका भिडिओ उच्च क्वालिटीमा देखाइनेछ, जब कि लोकप्रिय नभएका भिडिओ कम क्वालिटीमा देखिनेछन् ।
एक भिडिओमा मोसेरीले भनेका छन्, "इन्स्टाग्राम हामीले सक्ने जति उच्चतम क्वालिटीमा देखाउने प्रयास गर्छ । कुनै चिज लामो समयदेखि हेरिएको छैन भने हामी त्यसलाई न्यून क्वालिटीको भिडिओमा लैजान्छौँ, किन कि मुख्यतः धेरै भ्युज प्रारम्भिक चरणमा नै आउने गर्छ ।"
त्यसो त यो पूर्णतया नयाँ जानकारी पनि होइन । किन भने मेटाले गत वर्ष नै विभिन्न भिडिओहरूको लोकप्रियताको आधारमा फरक फरक खालको इनकोडिङ कन्फिग्रेसन प्रयोग गर्ने कुरा उल्लेख गरेको थियो ।
तर कसैले मोसेरीको भिडिओ थ्रेडमा शेयर गरेपछि धेरै प्रयोगकर्ताले प्रश्न र आलोचना गर्दै कम्पनीको यो प्रयासलाई वास्तवमै "बेतुकी" बताएका थिए । उक्त बहसले मोसेरीलाई थप विवरण सार्वजनिक गर्न प्रेरित गर्यो । जस अनुरूप उनले यो कार्य "व्यक्तिगत स्तरमा नभई एकीकृत तहमा" गरिने भएकाले व्यक्तिगत भ्युअर इङ्गेजमेन्टले उनीहरूका लागि प्ले हुने भिडिओको क्वालिटीलाई असर नपार्ने बताएका छन् ।
"त्यस्ता क्रियटर, जसले बढी भ्युज जुटाउँछन्, उनीहरूका लागि उच्च क्वालिटी दिनका लागि हामी पूर्वाग्रही छौं (सीपीयूमा बढी भार पार्ने इनकोडिङ तथा ठुला फाइलहरूका लागि थप महँगो स्टोरेज)," मोसेरीले थपेका छन् ।
"यो बाइनरी थ्रेसहोल्ड नभई एक क्रमिक मापन हो।" कतिपय प्रयोगकर्ताले कम्पनीको यस किसिमको अवधारणाले साना भन्दा लोकप्रिय क्रियटरलाई विशेष अधिकार दिने- लोकप्रिय क्रियटरले उच्च गुणस्तरमा पोस्ट गर्न पाउने, उनीहरूको लोकप्रियतालाई अझ बलियो बनाउने, तर साना क्रियटरलाई मौका नै नदिने अवस्था सिर्जना हुने विश्लेषण गरेका छन् ।
मोसेरीले यो 'जायज सरोकार' भएको बताएका छन् । तर उनले व्यवहारिक रूपमा क्वालिटी भारी मात्राले परिवर्तन नहुने र मानिसहरू भिडिओमा त्यसको क्वालिटीभन्दा पनि कन्टेन्टको आधारमा अन्तरक्रिया गर्ने भएकाले यसले त्यति धेरै फरक नपार्ने दाबी गरेका छन् ।