काठमाडौं । च्याटजीपीटी आधिकारिक रूपमा अब एआईमार्फत सञ्चालित सर्च इन्जिन बनेको छ । च्याटजीपीटीको कम्पनी ओपन एआईले उक्त प्लेटफर्ममा तत्कालै सटीक सूचना दिने सिस्टम ‘सर्चजीपीटी’ समावेश गरेको हो ।
कम्पनीले सुरुवाति चरणमा यो सुविधा शुल्क तिर्ने च्याटजीपीटी प्रयोगकर्तालाई उपलब्ध गराएको छ । आगामी साता कम्पनीले यो फिचर निःशुल्क रूपमा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने बताएको छ ।
यसअघि ओपनएआईले गुगलसँग प्रतिस्पर्धा गर्न छुट्टै वेबसाइट ल्याउने चर्चा गरिएको थियो । तर, कम्पनीले च्याटजीपीटीकै इन्टरफेसमा वेब सर्च फिचर उपलब्ध गराएको हो । प्रयोगकर्ताले च्याटजीपीटीमा कुनै जानकारी खोज्दा वेब सर्चबाट उक्त जानकारी आओस् भन्ने चाहेमा भने त्यहीँबाट अप्सन छान्न सकिन्छ ।
यससँगै च्याटजीपीटीले माइक्रोसफ्टको कोपाइलट र गुगलको जेमिनाईसँग औपचारिक रूपमा प्रतिस्पर्धा सुरु गरेको छ । तपाईंले ब्राउजरमा यो टुल प्रयोग गर्न यहाँ क्लिक गरेर क्रोम एक्सटेन्सन डाउनलोड गर्न सक्नुहुन्छ । त्यसपछि तपाईंले ब्राउजरमा सोझै सर्चजीपीटीबाटै जानकारी माग्न सक्नुहुन्छ । तर, कम्पनीले अहिले नै सबै प्रयोगकर्तालाई यो सुविधा दिइसकेको भने छैन ।
गुगल र माइक्रोसफ्टले सुरुवातदेखि नै यस्तो सुविधा दिंदै आएका थिए । तर, यी प्लेटफर्ममा सटीक र विश्वसनीय जानकारी पाउन गाह्रो हुन्छ । यही कमजोरीलाई ओपनएआईले ठुलो हतियार बनाएको छ ।
यसअघि एक कार्यक्रममा कसरी सर्चजीपीटीले काम गर्छ भन्ने डेमो कम्पनीले देखाएको थियो । त्यस क्रममा सर्चजीपीटीले इन्टरनेटबाट एप्पलको स्टकबारे सटीक सूचना निकालेको थियो ।
त्यस बाहेक अन्तरक्रियात्मक ग्राफ, आगामी आम्दानीको जानकारी र सम्बन्धित समाचारहरू देखाएको थिए । त्यसमा क्लिक गर्दा वास्तविक समाचार स्रोतमा पुग्ने बनाइएको थियो । त्यस बाहेक तिनै सूचनाका लागि अन्य विश्वसनीय साइटहरूको सूची पनि देखाइएको थियो ।
यो फिचर आईओएस, एन्ड्रोइड, डेस्कटप र म्याकमा उपलब्ध हुनेछ । जसरी अहिले माइक्रोसफ्टको बिङले सूचना दिन्छ, त्यसरी नै यस टुलले पनि इन्टरनेटबाट सम्बन्धित सूचना खोजेर उपलब्ध गराउँछ ।