काठमाडौं । नेपालमा विद्युतीय स्कुटर उत्पादन गर्ने लक्ष्यका साथ ग्रन्थ ईभीले लगानी आह्वान गरेको छ । हाल आयातित स्कुटर बिक्री गर्दै आएको ग्रन्थ ईभीको सञ्चालक एफडी मोटर्सले नेपालमै उत्पादन सुरु गरी रोजगारी र आर्थिक वृद्धिमा टेवा पुर्याउने योजना ल्याएको हो ।
एफडी मोटर्स तथा ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलका अनुसार जुटेको लगानीले नेपालमै विद्युतीय स्कुटर उत्पादन गरिनेछ ।
कम्पनी आईपीओ निष्कासन गर्ने स्तरमा नपुगेको तर त्यस चरणमा पुग्न निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने भएकाले लगानी खोजिएको उनले बताए । “अहिले नेपालमा विद्युतीय स्कुटरको उच्च माग छ । यही मागलाई पूर्ति गर्न स्वदेशमै स्कुटर उत्पादन गर्ने लक्ष्यका साथ लगानी उठाउन लागिएको हो,” टेकपानासँग उनले भने ।
उनका अनुसार नयाँ स्कुटरको डिजाइनिङको काम विदेशमा भइरहेको छ, जुन नेपाली उपभोक्ताका लागि नै भनेर तयार हुनेछ । बजारमा यो स्कुटर दुई लाख ८९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । २४० किलोमिटर रेञ्ज हुने स्कुटरमा ग्राहकले ८ वर्षसम्म वारेन्टी पाउनेछन् ।
अब केही महिनामा स्कुटर परीक्षणको कार्यक्रम राखिने बताउँदै ढुंगेलले त्यस अवसरमा समेत इच्छुकले स्कुटर हेरेर लगानी गर्नसक्ने बताए ।