काठमाडौं । सौगात मल्ल स्टारर ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा उपलब्ध हुने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै एमएसएम भिडिओले भोलि शुक्रबारदेखि यो चलचित्र उपलब्ध हुने जानकारी दिएको हो ।
सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र गत वर्षको १८ फागुनमा प्रदर्शनमा आएको थियो । अपराध अनुसन्धानको कथा देखाइएको चलचित्रमा सौगातसँगै नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको अभिनय छ ।
एमएसएममार्फत यो फिल्म हेर्न ‘डेली’ र ‘विक्ली’ मध्ये कुनै एक सब्सक्रिप्सन योजना छान्नुपर्छ । प्लेटफर्ममा चलचित्र छानेपछि ‘रेन्ट नाउ’ (Rent now) मा क्लिक गर्नुहोस् । यसपछि ‘प्लान’ छान्ने विकल्प आउँछ, जसमा डेली प्लानको ४.९७ डलर र विक्ली प्लानको ७ डलर शुल्क तोकिएको छ ।
कार्ड बाहेक खल्ती वा ई-सेवाबाट शुल्क तिर्न ‘मोर पेमेन्ट अप्सन’ (More payment option) जान सकिन्छ । यसपछि खुल्ने पेजको दायाँ साइडमा ‘रेन्ट’ (Rent) अप्सन देखिन्छ । सो अप्सनमा क्लिक गरेपछि डेली वा विक्ली अप्सन छनोट गरी ई-सेवा वा खल्तीबाट शुल्क तिर्न सकिन्छ । जसमा डेली प्लानको शुल्क २९८ नेपाली रुपैयाँ र विक्ली प्लानको ४२० नेपाली रुपैयाँ शुल्क तोकिएको छ ।
हाल यस प्लेटफर्ममा बेहुली फ्रम मेघौली, दिमाग खराब, महाजात्रा र घर ज्वाइँ चलचित्र उपलब्ध छन् । आगामी दिनमा फर्की फर्की र बगान समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
एप डाउनलोड गर्न आईओएस प्रयोगकर्ताले यहाँ र एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।