close

‘मेरो घर जाउँ न’ भन्दै जब फुच्चे रोबोटले ठूला १२ रोबोटलाई ‘अपहरण’ गर्‍यो...

टेकपाना टेकपाना

मंसिर ८, २०८१ १२:२४

‘मेरो घर जाउँ न’ भन्दै जब फुच्चे रोबोटले ठूला १२ रोबोटलाई ‘अपहरण’ गर्‍यो...

काठमाडौं । एआई प्रविधिको उदयपछि यसका सकारात्मक र नकारात्मक प्रभावबारे चर्चा भइरहेको छ । खासगरी मान्छेले नै निर्माण गरेका रोबोट र एआईले मान्छेलाई नै विस्थापित गर्न सक्छन् भन्ने विषयमा धेरैको चासो छ । यस्ता विषय सतहमा आइरहँदा एउटा सानो रोबोटले अन्य १२ ठूला रोबोटलाई ‘अपहरण’ गरेको अनौठो घटना सार्वजनिक भएको छ ।

चीनको हांगझाउमा रहेको एक सानो एआई-प्रेरित रोबोटले साङ्घाईको रोबोटिक्स कम्पनीको शोरुमबाट १२ ठूला रोबोटलाई बन्धक बनाएको दृश्य सीसीटीभीमा कैद भएको हो । यो घटना केही महिनाअघिको भए पनि हालै मात्र युट्युबमा भिडिओ बाहिरिएको छ । 

भिडिओमा एउटा सानो रोबोट सरासर अन्य रोबोट भइरहेको ठाउँमा पुग्छ । ​‘एर्बाई’ नाम गरेको उक्त रोबोट त्यहाँ पुगिसकेपछि अन्य ठूला रोबोटहरूसँग कुरा गर्न थाल्छ । त्यसै क्रममा एक रोबोटलाई ‘तिमी ओभरटाइम काम गरिरहेका छौं ?’ भनेर सोध्छ । जवाफमा ठूलो रोबोटले ‘मैले कामबाट कहिल्यै छुट्टी पाउँदिन,’ भन्छ । अर्को एक रोबोटले भन्छ, ‘मेरो त घर नै छैन ।’ 

त्यसपछि फुच्चे रोबोटले ‘तिम्रो घर छैन भने मेरो घर जाउँ न,’ भन्दै अन्य १२ रोबोटहरूलाई बाहिर डोर्‍याउँछ ।​

साङ्घाई रोबोटिक्स कम्पनीका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै रोबोटले अन्य रोबोटलाई अपहरण गरेको घटना वास्तविक भएको उल्लेख गरेका छन् । उनका अनुसार सानो रोबोटले कुनै न कुनै तरिकाले अन्य रोबोटको आन्तरिक अपरेटिङ प्रोटोकल र त्यसका सम्बन्धित अनुमतिहरूमा पहुँच पाउन सकेको थियो ।

एक रोबोटले अर्को रोबोटसँग आफैं कुरा गर्न असम्भव छ भन्ने गरिन्छ । तर, चीनको पछिल्लो घटनाले भने धेरै आशंका उब्जाएको छ । यसबारे विस्तृत विवरण भने बाहिर आएको छैन । एक रोबोटले सफल ‘अपहरण’ गर्न सक्नुले एआई प्रणालीहरूको सुरक्षा र तिनीहरूलाई स्वायत्त क्षमता दिँदा हुने सम्भावित जोखिमबारे गम्भीर प्रश्नहरू उठाएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८१ १३:४