close

कृषिमा एआईको प्रयोगले यसरी फेरिँदैछ भारतको मुहार, नेपालले कहिले सिक्ने ?

टेकपाना टेकपाना

माघ १०, २०८० २०:४

कृषिमा एआईको प्रयोगले यसरी फेरिँदैछ भारतको मुहार, नेपालले कहिले सिक्ने ?

काठमाडौं । नेपालमा जस्तै भारतमा पनि ठूलो जनसङ्ख्या कृषिमा आबद्ध छ । त्यहाँको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण हिस्सा ओगटेको छ । पछिल्ला वर्षहरूमा भारतले कृषि क्षेत्रमा ठूलो फड्को मारेको छ । यसको मुख्य कारण कृषि क्षेत्रमा भारतले अङ्गालेको नीति नै हो ।

हाल भारतले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई कृषि क्षेत्रमा आक्रमक तरिकाले अपनाइरहेको छ । एआईका कारण खेती गर्ने शैली फेरिएको छ । उत्पादन बढेको छ । सम्भावनाका नयाँ ढोकाहरु खुलेका छन् । समग्रमा भारतले कृषिमा एआईको उदाहरणीय अभ्यास गरिरहेको छ ।​

भारतमा कृषि क्षेत्रको वर्तमान अवस्था

भारतको आर्थिक सर्वेक्षण २०२०-२१ अनुसार कूल ५४.६ प्रतिशत जनशक्ति कृषि र यससँग सम्बन्धित क्षेत्रका गतिविधिमा संलग्न छ । यसको अर्थ कृषि क्षेत्र भारतीय अर्थतन्त्रको मेरुदण्ड पनि हो । 

देशको कूल जीडीपीमा कृषिले करिब १६.५ प्रतिशत योगदान दिइरहेको छ । औद्योगिक र अन्य क्षेत्रमा तीव्र वृद्धि हुनुलाई यसको कारण मानिएको छ । तथापि भारतमा कृषिलाई छैटौं ठूलो औद्योगिक क्षेत्र मानिन्छ भने उत्पादन, उपभोग, निर्यात र वृद्धिको हिसाबले पाँचौं ठूलो क्षेत्र मान्ने गरिन्छ ।

 

२०२०-२०२१ मा भएको भारतीय किसानहरूको विरोध प्रदर्शन

हाल भारतमा करिब साढे १९ करोड हेक्टर जमिन खेतीयोग्य छ, ती मध्ये पनि ६३ प्रतिशत जमिन वर्षामा आधारित छ । अर्थात् भारतको करिब ४७ प्रतिशत भूभाग खेतीयाेग्य छ । अझ गाउँ तथा दुर्गम क्षेत्रका धेरै परिवार यसैमा पूर्ण निर्भर छन् । 

भारतको निर्यातको १३ प्रतिशत र कूल औद्योगिक लगानीको छ प्रतिशत कृषि क्षेत्रले योगदान गरिरहेको छ । गहुँ, चामल, दाल, उखु, दुध, जुट जस्ता नगदे बालीहरूको शीर्ष उत्पादकहरूमध्ये भारत एक हाे । 

अहिले भारतले जापान, दक्षिणपूर्व एसिया, सार्क क्षेत्र, युरोपेली संघ, अमेरिका लगायत करिब  १२० भन्दा बढी देशहरूमा कृषिजन्य उत्पादन निर्यात गरिरहेको छ । 

त्यस्तै भारतले कृषिमा नयाँ कीर्तिमानहरू कायम गरिरहेको छ । यसको उदाहरण २०२१-२२ मा ५०.२ अर्ब डलर बराबरको कृषि उत्पादन निर्यात गर्नु हो, जुन भारतले हासिल गरेको आजसम्मकै सबैभन्दा उच्च आँकडा हो । साथै आर्थिक वर्ष २०२०/२१ को तुलनामा २० प्रतिशतले बढी हो । त्यस वर्ष जम्मा ४१.३ अर्ब डलरको कृषि सामग्री भारतले निर्यात गरेको थियो । 

यद्यपि कृषिको सबै सूचाङ्कमा भारत राम्रो छैन । बालीको उत्पादकत्व कम हुनु, कृषिमा पर्याप्त लगानी नहुनु, उत्पादनको लागत उच्च हुनु, सिँचाइको अभाव हुनु, औद्योगीकरण वृद्धि हुनु भारतका लागि कृषिमा चिन्ताका विषय हुन् । 

भारतमा कृषिका चुनौती 

भारतको अर्थतन्त्रमा कृषिले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेता पनि समस्यामुक्त भने छैन । कृषकका आन्दोलन, सिँचाइ अभाव, उत्पादनमा ह्रास जस्ता कुरा हामीले बेलाबेला सुनिरहेका हुन्छौं ।

माथिल्लो अनुच्छेदमा भारतको कृषिका केही चुनौती संक्षिप्तमा उल्लेख गरिएको छ । तीबाहेक पनि भारतको कृषि क्षेत्रले धेरै चुनौतीहरूको सामना गरिरहेको छ । यस अनुच्छेदमा भने तिनको सविस्तार चर्चा गरिएको छ :

-साना र खण्डित जग्गाजमिन

भारतमा करिब ८५ प्रतिशत कृषियोग्य जमिन दुई हेक्टरभन्दा कम आकारका छन् । यसो हुँदा उत्पादन क्षमता पनि कम हुन्छ । जसको प्रत्यक्ष असर किसानहरूको आयमा हुने गर्छ ।

-सिँचाइको अभाव

कृषिका लागि पानी अति आवश्यक ‍छ । वर्षा, नदिनाला, भूमिगत पानी आदि भारतका लागि सिँचाइको प्रमुख स्रोत हुन् । उच्च जन घनत्व तथा  कृषि क्षेत्र ठूलो हुनाले सिँचाइमा समस्या आइरहेको हुन्छ । 

कमजोर सिँचाइ प्रणाली र भूमिगत पानीको द्रुत गतिमा प्रयोग गरिरहेकाले हाल भारतको ९० प्रतिशत पानी प्रयोग भइरहेको बताइन्छ । 

द वाटर रिसोर्सेस ग्रुपले सन् २०३० सम्ममा आफूलाई आवश्यक पर्ने ५० प्रतिशत पानी मात्र भारतसँग हुने अनुमान गरेको छ । यो सङ्कटले भारतीय कृषिमा ठूलो प्रभाव पार्ने बताइन्छ ।

 

माटोको आद्रता नाप्न एआई प्रयोग गरिँदै - प्रतिकात्मक तस्वीर

-माटोको क्षयीकरण

भारतमा माटोको क्षयीकरण गम्भीर पर्यावरणीय र कृषि समस्या बन्दै गइरहेको छ । ब्यूरो अफ सोल सर्भे एण्ड ल्यान्ड यूज प्लानिङका अनुसार भारतको करिब ३० प्रतिशत माटोको क्षयीकरणको शिकार भइसकेको छ, जुन करिब १४६.८ मिलियन हेक्टर जमिन हो । 

पानीको अभाव, अम्लीकरण, जलवायु परिवर्तन माटो क्षयीकरणका मुख्य प्राकृतिक कारणहरू हुन् । त्यस्ता जमिनमा गरिएको खेतीको उत्पादन कम हुने र किसान प्रत्यक्ष मारमा पर्ने गर्छन् ।

-बजारमा पहुँचको कमी

नेपालमा जस्तै भारतमा पनि साना किसानहरूको बाहुल्यता थुप्रै छ । जसलाई आफ्नो उत्पादन बजारसम्म पुर्‍याउन कठिनाइ हुने गर्छ । बजारमा पहुँच नपाउँदा उनीहरूको आय र आर्थिक वृद्धि सीमित हुने गरेको छ । यो भारतीय किसानहरूको साझा कथा हो । 

-सीमित ज्ञान र पूर्वाधारको कमी

विशेष गरेर ग्रामीण क्षेत्रका किसान यो चुनौतीबाट ग्रसित छन् । आधुनिक कृषि औजार, वैज्ञानिक कृषिको अभ्यास जस्ता कुराको ज्ञान नहुनु धेरै किसानको समस्या बनेको छ ।

त्यस्तै कृषि उत्पादनको भण्डारण, बजार पूर्वाधार अभाव छन् । यसले उत्पादनमा महँगो लागत लाग्नुका साथै कृषिको विकासमा समेत प्रभाव पार्छ ।

-डिजिटल खाडल

भारतका सबै किसानले आधुनिक प्रविधिहरू प्रयोग गरेका छैनन् । अर्थात् किसानहरूले प्रविधि प्रयोग गर्ने परिदृश्यमा पनि भारतमा विभाजन रहेको छ । 

यसले एकातिर किसानहरू परम्परागत खेतीमै रहिरहन्छन् भने उनीहरूको उत्पादकत्व घटेर बजारमा प्रतिस्पर्धा गर्न सक्दैनन् ।

यी बाहेक पनि बजारको पूर्वाधार नुहुनु, मूल्यमा उतारचढाव भइरहनु, आर्थिक अभाव हुनु, श्रमिकको अभाव हुनु, उत्पादनको लागत उच्च हुनु अन्य चुनौती हुन् ।

भारतीय कृषिमा क्रान्तिको चौंथो लहर

पछिल्लो समय भारतमा कृषिबारे नयाँ क्रान्तिको बहस छेडिसकेको छ । हामीले माथि चर्चा गरेका अनेकन् चुनौतीहरू हल गर्न र कृषिलाई नयाँ उचाइमा पुर्याउन भारतमा कृषिमा क्रान्तिको चौंथो लहरको बहस सुरु भएको हो ।

कृषि क्षेत्रमा प्रविधिको प्रयोग र उत्पादकत्व बढाउन गरिने आधुनिकीकरणसँग भारतको क्रान्तिको चौंथो लहर सम्बन्धित छ । कृषि क्रान्ति भन्नाले आविष्कार, नवप्रवर्तन वा नयाँ प्रविधि लागू हुँदा कृषिमा हुने महत्वपूर्ण परिवर्तन बुझिने गरिन्छ । यस्ता क्रान्तिहरूले खेती गर्ने तरिका बदल्छन् र उत्पादन दर बढाउँछन् ।

मौसम पूर्वानुमान गर्न जडान गरिएको एआईयुक्त प्रविधि

विगतमा भारतमा विभिन्न कृषि क्रान्तिहरू भएका छन् । जसले कृषि क्षेत्रमा पूर्ण रूपमा नयाँ युगको सुरुवात गरेका थिए । जस्तै; अण्डा तथा कुखुराको उत्पादन बढाउन सिल्भर क्रान्ति, कपासको उत्पादन बढाउन सिल्भर फाइबर क्रान्ति, मासु तथा टमाटरको उत्पादन बढाउन रेड क्रान्ति, आलुको उत्पादन बढाउन राउन्ड क्रान्ति, दुध उत्पादन बढाउन ह्वाइट क्रान्ति । यी त केही नमूना कृषि क्रान्ति हुन् ।

भारत सरकारले ‘एग्रिकल्चर ४.०’ लाई अघि सार्न कृषि क्षेत्रमा क्रान्तिको चौंथो लहर सुरु गरेको बताइन्छ । यसबाट भारतका १३ करोड बढी साना किसानहरू लाभान्वित हुने वर्ड इकोनोमिक फोरमले एक प्रतिवेदनमा उल्लेख गरेको छ । जसमा वित्तीय पहुँच, दिगो कृषि अभ्यास, सप्लाई चेन लगायतका कुराहरू समेटिएका छन् । 

प्रविधि र आधुनिक कृषि अभ्यासको प्रयोगले भारतको कृषि क्षेत्रमा क्रान्तिको चौंथो लहरको सुरुवात गर्न मद्दत गर्ने बताइन्छ । हालै आफ्नो कृषि अर्थतन्त्रलाई थप सुदृढ बनाउन भारतले एआई जस्ता प्रविधिको प्रयोग गर्न थालिसकेको छ । जुन ‘एग्रिकल्चर ४.०’ को महत्त्वपूर्ण हिस्सा हो । यसबाहेक निम्न कुराहरू यस क्रान्तिमा हुने विज्ञहरूले बताएका छन्:

-डिजिटल डिभाइसहरूलाई इन्टरनेटमा जडान गरेर डेटा सङ्कलन तथा  साझेदारी गर्न इन्टरनेट अफ थिङ्स (आईओटी) को प्रयोग गर्ने ।

-किसानहरूलाई वर्षाको ढाँचा, सिचाइँ, मल लगायत आवश्यक डेटा प्रदान गर्न बिग डेटाको प्रयोग गर्ने ।

-बालीको उत्पादन, अनुगमन, प्रशोधन र मार्केटिङको सुधार गर्न एआई प्रयोग गर्ने ।

-जोत्ने, बीउ लगाउने, मल हाल्ने र कीटनाशक छर्ने जस्ता कामका लागि रोबोटिक सिस्टम प्रयोग गर्ने ।

सरल तरिकाले बुझ्दा ‘एग्रिकल्चर ४.०’  मा भारतले एग्री-टेकको व्यापाक प्रयोग गर्न खोजिरहेको छ । कृषिसँग सम्बन्धित प्रविधिलाई एकै शब्दमा भन्दा ‘एग्री टेक’ भन्ने गरिन्छ । यसको विस्तारित रुप ‘एग्रिकल्चर टेक्नोलोजी’ हुन्छ । यसले कृषि क्षेत्रको सुधार गर्न, नाफा वृद्धि गर्न अथवा उत्पादकत्व बढाउन सहयोग गर्छ । 

तल्लो अनुच्छेदमा भारतको कृषि क्षेत्रमा प्रयोग भइरहेको एआईबारे चर्चा गरिएको छ:

भारतको कृषिमा एआई

एग्री-टेक भनेर चिनिने प्रविधि र कृषिको एकीकरणले भारतीय कृषिको परिदृश्यलाई परिवर्तन गर्न थालिसकेको छ । खेती गर्ने विभिन्न तरिका परिवर्तन गर्न एग्री-टेकले महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । विशेषत: गरेर तीन प्रमुख क्षेत्रहरूमा भारतीय कृषिमा एआईको प्रयाेग भइरहेको छ:

-बाली र माटो अनुगमन 

कम्पनीहरूले बाली र माटोको स्वास्थ्य निगरानी गर्न सेन्सर र विभिन्न आईओटीमा आधारित प्रविधि प्रयोग गरिरहेका छन् । 

-कृषि विश्लेषण 

बीउ छर्ने उत्तम समय थाहा पाउन होस् वा कीट आक्रमणबाट हुने जोखिमहरू बारे सचेत हुन, सटिक विश्लेषण हुन आवश्यक छ । यसका लागि एआई र मेसिन लर्निङ डिभाइस प्रयोग भइरहेको छ ।

-आपूर्ति श्रृंखला 

कम्पनीहरूले आपूर्ति श्रृंखलालाई चुस्तदुरुस्त बनाउन विभिन्न स्रोतहरूबाट आउने डेटालाई विश्लेषणहरू गर्ने काम गरिरहेका छन् ।

भारतका किसानहरूले बाली उत्पादनमा सुधार गर्न विभिन्न प्रकारका एआई टुल प्रयोग गरिरहेका छन् । तीमध्ये केही एआई टुल तल चर्चा गरिएको छ:

कृषि पेशामा प्रयोग हुने ड्रोनको प्रतिकात्मक तस्वीर

-बाली निगरानी गर्ने एआई एकीकृत गरिएको टुल 

बाली निगरानी गर्ने टुललाई भारतीय कृषिको धरातल परिवर्तन गर्ने कारक मानिएको छ । माटोको स्वास्थ्य, आद्रताको स्तर र कीटहरूको संक्रमणबारे थाहा पाउन बाली निगरानी टुल अन्तर्गत स्याटेलाइट इमेजरी, ड्रोन र आईओटी सेन्सरहरू प्रयोग गर्ने गरिन्छ ।

यिनबाट वास्तविक समयको डेटा उपलब्ध हुने भएकाले एआई एल्गोरिदमहरूले किसानहरूलाई सही समयमा सूचना दिने गर्छन् ।

-कीट व्यवस्थापन र रोग भविष्यवाणी गर्ने टुल

मसिन लर्निङ मोडेलहरूले कीटको प्रकोप र रोगको सम्भावनाबारे पूर्व सूचना दिन सक्छन् । किनकी यिनीहरूलाई सोही प्रकारको डेटामा तालिम दिइएको हुन्छ । यसले बालीनालीमा रोग लाग्नबाट बचाउने उपाय गर्न किसानहरूलाई सहयोग गर्छ ।   

-खेतीका लागि बाली सिफारिस गर्ने प्रणाली

कुन समयमा कुन बाली लगाउनु पर्छ भन्ने थाहा नहुँदा पनि उत्पादनमा कमी हुने गर्छ । यही समस्या समाधान गर्न बाली सिफारिस गर्ने प्रणाली भारतीय किसानहरूले प्रयोग गरिरहेका छन् । माटोको प्रकार, जलवायु र बजारको माग जस्ता विभिन्न कारकहरूलाई ध्यानमा राखेर त्यस्ता टुलले किसानलाई सुझाव दिने गर्छन् । 

-मौसम पूर्वानुमान र जोखिम न्यूनीकरण गर्ने टुल

कृषिमा मौसमको भूमिका महत्त्वपूर्ण हुने गर्छ । एआई एकीकृत गरिएका मौसम पूर्वानुमान गर्ने मोडेलहरूले सही भविष्यवाणी गर्न सक्छन् । त्यसमा आधारित भएर किसानहरूले आफ्नो योजना बनाउने गर्छन् । त्यसो हुँदा मौसमका कारण हुने जोखिम कम हुने गर्छ ।

-बजार र मूल्य भविष्यवाणी गर्ने टुल

कृषिमा प्रयोग हुने एआई टुल खेतीसँग मात्र नभएर बजारसँग पनि सम्बन्धित छन् । त्यस्ता टुलले वास्तविक समयको डेटा विश्लेषण गरेर बजारको अवस्था, मूल्यमा आउन सक्ने उतारचढाव र मागहरूको पूर्वानुमान गर्न सक्छ ।

-साना किसानहरूलाई सशक्तिकरण गर्ने टुल

भारतमा कृषि पेशामा संलग्न धेरै जनाको आय कम हुने गर्छ । आधुनिक कृषिको शिक्षाबाट पनि उनीहरू वञ्चित हुन परिरहेको हुन्छ । यस्ताेमा एआईले ठूलो भूमिका खेलिरहेको छ  । कृषि सम्बन्धी सूचना, ज्ञान र स्रोतहरूमा पहुँच प्रदान गर्न त्यस्ता एआई टुल प्रयोग भइरहेका छन् ।

स्टार्टअप र अन्य संस्थाका पहल

उपलब्ध पछिल्लो डेटा अनुसार हाल भारतमा तीन हजार बढी एग्री-टेक स्टार्टअप छन् । माथि उल्लेख गरिएका एआई टुल सञ्चालन गर्न तिनै एग्री-टेकहरू सक्रिय छन् । 

जसमध्ये पनि अधिकांश स्टार्टअप युवाहरूले सुरु गरेका हुन् । भारतले अहिले कृषि क्षेत्रमा जुन सफलता पाइरहेको छ, यसको पछाडिको कारण युवा जनशक्ति कृषि क्षेत्रमा आउनु पनि हो । 

विशेषत: उनीहरूले कृषिमा प्रविधिलाई जोड दिएर यस क्षेत्रमा आइरहेका छन् । निन्जाकार्ट, देहाट, क्रपइन, वेकूल, खेतीगाडी, एब्सोल्युट, अपना गोडम, आइबोनो, एग्रोवेभ, एग्रोस्टार, बिघाट, बिजक, भारत एग्री, क्रोफार्म, फार्म टू फार्म, मेरा किसान केही सफल एग्री-टेक स्टार्टअपका उदाहरण हुन् । 

भारतमा सबैभन्दा सफल एग्री-टेक निन्जाकार्टका सह-संस्थापहरू

जसमध्ये बजार मूल्य क्रमशः ८१५, ७७२, ७०० करोड भएको निन्जाकार्ट, वेकूल, देहाट एग्री-टेक युनिकर्न बन्ने बाटोमा छन् । युनिकर्न त्यस्ता स्टार्टअप हुन्, जसको बजार मूल्य एक अर्ब डलर भएको हुन्छ । 

यद्यपि भारतमा एग्री-टेक स्टार्टअपहरूको संख्या उल्लेखनीय रूपमा २०१३ पछि बढेको बताइन्छ । अहिले दिल्ली, हरियाणा, तमिलनाडु, महाराष्ट्र लगायतका राज्यहरूमा यस्ता स्टार्टअपहरू उल्लेख्य मात्रामा छन् । भारत सरकारले समेत त्यस्ता स्टार्टअपहरूलाई मान्यता, लगानी र प्राविधिक सहयोग गरिरहेको छ । 

आजसम्म भारतले ४९० जिल्लाका ३७४ एग्री-टेकलाई उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभाग (डीपीआईआईटी) मान्यता दिएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत प्रदान गरिने यस मान्यता पाएका स्टार्टअपहरूले सरकारबाट विभिन्न सहयोग र सुविधा पाउने गर्छन् ।

यसबाहेक  प्राविधिक र वित्तीय सहायता ‘एग्रि स्टार्टअप डेमो एन्ड फन्डिङ’ (एटम्यान) कार्यक्रम चलाउने गर्छ । यस कार्यक्रममा गत वर्ष २०२३ मा २४ वटा स्टार्टअप परेका थिए । 

यसबाहेक, सरकारले कृषिमा आधारित स्टार्टअपहरूको पहिचान र अभिवृद्धि गर्न टेक्नोलोजी इनोभेसन हबहरू स्थापना गरेको छ । स्टार्टअपहरूको विकास गर्न तिनले महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् । 

यसबाहेक विभिन्न बहुराष्ट्रिय कम्पनीहरूले समेत यस क्षेत्रमा उदाएका स्टार्टअपहरूलाई सहयोग गरिरहेका छन् । जस्तै: प्रोसस भेन्चर्सले देहाटमा ३० करोड डलर लगानी गरेको छ । किसानहरूलाई प्रत्यक्ष रूपमा खुद्रा बिक्रेताहरूसँग जोड्ने एग्री-टेक स्टार्टअप निन्जाकार्टमा विश्व बैंकको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी) ले १० करोड डलर लगानी गरेको छ।

त्यस्तै ‘एआई फर एग्रिकल्चर’ कार्यक्रमका लागि भारतीय सरकारले माइक्रोसफ्टसँग सहकार्य गरेको छ । साथै कृषि क्षेत्रका लागि ब्लकचेनमा आधारित आपूर्ति श्रृंखला व्यवस्थापन प्रणाली विकास गर्न सरकारले आईबीएमसँग साझेदारी गरेको छ ।

सरकारी नीति र कार्यक्रम 

एआईको माध्यमबाट कृषि क्षेत्रको विकास गर्न भारतीय सरकारले सार्वजनिक, निजी क्षेत्रको साझेदारी र अन्तर्राष्ट्रिय लगानीलाई विशेष जोड दिइरहेको छ । अहिले निजी इक्विटी र भेन्चर क्यापिटल फर्महरूबाट एग्री-टेकमा लगानी भित्र्याउने शीर्ष देशहरू मध्येको एक भारत बनिरहेको छ । 

यसको एउटा उदाहरण- माइक्रोसफ्टको सहकार्यमा कर्नाटक र आन्ध्र प्रदेशमा नमूना परियोजना सञ्चालन गर्नु हो । उक्त परियोजना अन्तर्गत माइक्रोसफ्टले किसानका लागि ‘एआई साेइङ एप’ तयार पारेको थियो ।

उक्त एपले बाली लगाउनेबारे किसानलाई सल्लाह दिने गर्थ्यो । त्यसको परिणामस्वरूप औसत उत्पादनमा ३० प्रतिशतले वृद्धि भएको थियो।

 

कृषि श्रमिकको अभाव टार्न एआईयुक्त रोबोट प्रयोग गरिएको प्रतिकात्मक तस्वीर

बेन एण्ड कम्पनीको प्रतिवेदनले २०२५ सम्ममा भारतको कृषि क्षेत्रको मूल्याङ्कन ३० देखि ३५ अर्ब डलर पुग्ने प्रक्षेपण गरेको छ । यसका लागि भारतले  विभिन्न नीति र कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

जसमध्ये ड्रोनलाई कृषिमा बढीभन्दा बढी प्रयोग गर्न सन् २०३० सम्म भारतलाई ड्रोनको अन्तर्राष्ट्रिय हब बनाउनु पनि एक हो । (यसबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।)

यसबाहेक किसानहरूलाई सहयोग गर्न र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्न कृषि क्षेत्रमा भारतले धेरै पहलहरू लागू गरिससेको अवस्था छ । ती मध्ये केही प्रमुख पहलहरूको संक्षिप्त चर्चा तल गरिएको छ:

-किसान रथ

किसान, एफपीओ (कृषक उत्पादक संस्था) र व्यापारीका लागि उत्पादनको ढुवानी सुविधाको लागि भारतले ‘किसान रथ’ नामक मोबाइल एप बनाएको छ ।

-किसान रेल

कृषि उत्पादनहरू ढुवानी गर्न भारतले देशभर २०० बढी किसान रेलहरू सञ्चालन गरिरहेको छ ।

-कृषि उडान योजना

अति आवश्यक पर्ने कृषि उत्पादनको हवाई मार्गबाट ​​ढुवानी गर्न योजना भारतले सुरु गरिसकेको छ । 

-प्रधानमन्त्री किसान सम्मान निधि (पीएम-किसान)

यो त्यस्तो सरकारी योजना हो, जसले साना किसानहरूलाई आर्थिक सहायता प्रदान गर्ने बताइएको छ ।

-डिजिटल कृषि मिसन

कृषिमा प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित भारतले ल्याएको मिसन नै डिजिटल कृषि मिसन हो । यसमा भारतले वार्षिक ६०० करोड भारु विनियोजन गरिँदै आएको छ ।

-डिजिटल कृषि मिसन (२०२१-२०२५)

भारतले सेप्टेम्बर २०२१ मा यो योजना अघि सारेको थियो । यसबाट भारतले कृषि क्षेत्रलाई रूपान्तरण गर्न एआई, ब्लकचेन र आईओईटी लगायत अत्याधुनिक डिजिटल प्रविधिमा आधारित परियोजनाहरूलाई प्रोत्साहन र गति दिने लक्ष्य राखेको छ । 

-एम अग्रिकल्चर र एमग्राम बजार

डिजिटल इण्डिया परियोजनाका अन्तर्गतका यी योजनाले कृषिको विस्तार र बजारिकरण गर्न ई-पहुँच दिने भारतले विश्वास गरेको छ । साथै सरकारी सेवाहरू र जीविकोपार्जन सम्बन्धी सेवाहरू प्रदान गर्ने लक्ष्य यी योजना अन्तर्गत रहेका छन् ।

-आईसीटी ई-चौपाल

भौतिक तथा अनलाइन प्लेटफर्महरूको नेटवर्क मार्फत किसानहरूलाई सूचना, ज्ञान र स्रोतहरूमा पहुँच प्रदान गर्ने योजना यसमा राखिएको छ । यसले डिजिटल विभाजन कम गर्ने भारतले लक्ष्य राखेको छ ।

-स्मार्ट ट्रयाक्टर र रोबोटिक्स

कृषि क्षेत्रमा भइरहेको श्रम शक्तिको अभाव टार्न भारतले एआई एकीकृत गरिएको रोबोट र ट्र्याक्टरहरू विकास गरिरहेको छ । यसका लागि स्टार्टअपलाई सहयोग गर्ने जस्ता काम भारतीय सरकारले गरिरहेको छ ।

यी बाहेक पीएम मत्स्य सम्पदा योजना, पूर्वी भारतमा हरित क्रान्ति, परम्परागत कृषि विकास योजना, प्रधानमन्त्री ग्राम सिँचाइ योजना, संसद आदर्श ग्राम योजना, कृषि पूर्वाधार कोष लगायत थुप्रै कार्यक्रमहरू सक्रिय रहेको छ ।

(विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा टेकपानाका लागि सञ्जीवन राईले तयार पारेको सामग्री)

पछिल्लो अध्यावधिक: माघ १०, २०८० २०:४