close

यस्ता छन् गुगलले सूचीकृत गरेका धेरै मानिसहरू फस्ने प्रमुख ५ स्क्याम, जोगिने कसरी ?

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १०:४८

यस्ता छन् गुगलले सूचीकृत गरेका धेरै मानिसहरू फस्ने प्रमुख ५ स्क्याम, जोगिने कसरी ?

काठमाडौं । प्रविधिको विकाससँगै अनलाइन ठगी समेत व्यापक हुँदै गएका छन् । यसले गर्दा साइबर अपराधीहरूले सोझा सिधा मानिसहरूलाई सजिलै आफ्नो वशमा पार्न सक्छन् । 

यसका लागि उनीहरूले विभिन्न तौर तरिका र शैली अपनाउने गर्छन् । यस सम्बन्धमा गुगलले हालै आफ्नो ट्रस्ट एण्ड सेफ्टी टिमले सामना गर्नु परेका अनलाइन ठगीका शैलीहरू सार्वजनिक गरेको छ ।

तिनको बारेमा थाहा पाउन सके स्क्याममा पर्न सक्ने सम्भावना पनि कम हुन्छ । आज हामी त्यसैबारे चर्चा गर्ने छौं:

१. सार्वजनिक व्यक्तित्वको नक्कल

स्क्यामरहरूले डिपफेक प्रविधि प्रयोग गरी सार्वजनिक व्यक्तित्वहरूको दुरुस्तै लाग्ने नक्कली फोटो/भिडिओ तयार पार्न सक्छन् । त्यसपछि उनीहरूले ती फोटो/भिडिओ प्रयोग गरी नक्कली लगानी योजना, उपहार वितरण, बेटिङ एपहरू आदिको प्रचार गर्छन् । 

यसबाट बच्ने उपाय हावादारी र अपत्यारिलो लाग्ने कुरा आए सार्वजनिक व्यक्तिको फोटो/भिडिओलाई राम्रोसँग नियाल्नु पर्छ । सकेसम्म उनीहरूको सामाजिक सञ्जाल पनि जाँच गर्नु पर्छ ।

२. क्रिप्टोमा लगानी ‍

पछिल्लो समय क्रिप्टोकरेन्सीमा लगानी गर्ने नाममा ठगी धन्दा तीव्र गतिमा बढिरहेका छन् । यसमा नसोचेको लाभ दिने, छोटो समयमा नै फाइदा पाउन सकिने भन्दै प्रचार गरिन्छ । 

तर यसरी लगानी गरेकाहरू फसिरहेका हुन्छन् । गुगलका अनुसार विशेषगरी यस्ता ठगी प्रायः पीडित रहेको देश बाहिरका सङ्गठित आपराधिक समूहहरूबाट हुने गरेका छन् ।

३. एपको क्लोनिङ

यस प्रकारको स्क्याममा चर्चित ब्रान्डहरूको नक्कल यसरी गरिएको हुन्छ कि झट्‍ट हेर्दा दुरुस्तै देखिने नक्कली एप र ल्यान्डिङ पेजहरू बनाइएका हुन्छन् । विशेषगरी स्क्यामरहरूले व्यक्तिगत जानकारी चोर्न, मालवेयरयुक्त सफ्टवेयर सार्न, नक्कली खरिदहरू गराउन यस्तो हतकन्डा अपनाउने गर्छन् । 

यसमा यतिसम्म विश्वस्त पारिन्छ कि वास्तविक पक्ष भनेका तिनै स्क्यामरहरू हुन् भन्ने भ्रम पैदा हुन्छ । यसबाट बच्ने उपाय भनेको आधिकारिक वेबसाइट पत्ता लगाउने, स्रोत हेर्ने आदि हुन् ।

४. ल्यान्डिङ पेजको क्लोनिङ

स्क्यामरहरूले आफ्नो पहिचान लुकाउन क्लोनिङ प्रविधि प्रयोग गर्छन् । यसले उनीहरूलाई गुगलको नीतिबाट बचाउँछ । यसको अर्थ उनीहरूले गुगललाई अर्कै (कानुनी) सामग्री देखाउँछन् भने प्रयोगकर्ताहरूलाई भिन्न (गैरकानूनी) सामग्रीमा पुर्‍याउँछन् । 

यसो हुँदा ल्यान्डिङ पेज (वेबसाइटको पेज) वास्तविक जस्तै देखिन्छ । तर ती नक्कली हुन्छन् । यसबाट बच्न यूआरएल हेर्ने, दोहोर्‍याएर चेक जाँच गर्ने, गुगलको एड्भान्स प्रोटेक्सनमा इनरोल हुने उपाय अपनाउन सकिन्छ । 

५. प्रमुख घटनाहरूको दुरुपयोग

प्राकृतिक प्रकोप, चुनाव, साङ्गीतिक कार्यक्रम र खेलकुद जस्ता महत्त्वपूर्ण घटनाहरूबाट साइबर अपराधीहरूले निकै फाइदा उठाइरहेका हुन्छन् । यसका लागि उनीहरूले एआई प्रयोग गरी समय सापेक्ष र विश्वसनीय सामग्रीहरू बनाउने गर्छन् । 

जसमा धेरै जना झुक्किएर फस्ने गर्छन् । यसबाट बँच्ने उपाय भनेको आधिकारिक साइट हेर्नु नै हो ।

 

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १०:४८