काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) शनिबारदेखि सुरु नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को अफिसियल अम्पायर पार्टनर बनेको छ । यसबारे हालै नेपाल क्रिकेट संघ (क्यान) र एनसीएचएलबीच साझेदारी भएको छ ।
क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले उक्त साझेदारीपत्रमा हस्ताक्षर गरे ।
राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको एनसीएचएलले यस पटक नेपालपे क्यूआर स्किममार्फत एनपीएलमा औपचारिक रूपमा सहभागिता जनाएको छ । हालसम्म नेपालपे क्यूआर नेटवर्कमा आठ लाख ७५ हजारभन्दा बढी व्यापारी आबद्ध भइसकेका छन् ।
ग्राहकले ४० मोबाइल बैंकिङ एप, ११ वालेट एप र कनेक्टआईपीएस प्रयोग गरी भुक्तानी गर्नसक्ने व्यवस्था छ ।
यस साझेदारीले नेपाली क्रिकेटको विकासमा टेवा पुर्याउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।