close

बजारमा कहिले आउला बेजल बिनाको आईफोन ?

टेकपाना टेकपाना

पुस ११, २०८१ १५:५१

बजारमा कहिले आउला बेजल बिनाको आईफोन ?

काठमाडौं  । बेजलरहित आईफोन ल्याउन एप्पलले लामो समयदेखि प्रयास गरिरहेको छ । यसअघि २०२५ वा २०२६ भित्र बजारमा यस्तो आईफोन आउने चर्चा गरिएको थियो । तर हालैको एक रिपोर्टले निर्धारित समयमा बेजल बिनाको आईफोन नआउने संकेत गरेको छ ।

कोरियाली सञ्चारमाध्यम द एलेकका अनुसार सामसङ डिस्प्ले र एलजी डिस्प्लेसँग प्राविधिक छलफल नसकिँदा आवश्यक प्रविधि नै तयार भएको छैन । एप्पलले फोनको डिस्प्लेमा कुनै समस्या नपर्ने गरी स्क्रिनलाई चारैतिरबाट थोरै घुमाउने डिजाइन दिन खोजेको छ ।

हाल प्रयोगमा रहेका फोनमा स्क्रिनको वरिपरि कालो भाग हुन्छ, जुन एप्पलले हटाएर स्क्रिनलाई फोनको पूरै भागमा फैलाउन चाहन्छ । त्यस्तै फोन भित्रका धेरै स-साना पार्ट्सलाई व्यवस्थापन गर्नुपर्छ । क्यामेरालाई पनि स्क्रिनभित्रै लुकाउनुपर्छ । अन्डर-डिस्प्ले क्यामेरा सिस्टमका लागि डिजाइन नै परिवर्तन गर्नुपर्छ । यी सबै प्रक्रिया सफल हुन धेरै काम बाँकी भएकाले बजारमा बेजल बिनाको आईफोन आउन केही वर्ष लाग्ने देखिएको छ ।

यदि एप्पल यी कुरामा चाँडै नै सफल भए आईफोन १८ वा आईफोन १९ पहिलो बेजलरहित मोडेलको रूपमा बजारमा आउने अनुमान गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८१ १६:८