काठमाडौं । एप्पल कम्पनीका सह-संस्थापक स्टिभ जब्सको कुम्भ मेलासँग जोडिएको हस्तलिखित पत्रले चर्चा पाएको छ ।
उनको पत्र पाँच लाख ३१२ अमेरिकी डलर (करिब सात करोड नेपाली रुपैयाँ)मा लिलामी भएपछि चर्चा चुलिएको हो । उक्त पत्र स्टिभले १९ वर्षको उमेरमा सन् १९७४ मा लेखेका थिए, जहाँ उनले आफ्नो बाल्यकालका साथी टिम ब्राउनलाई सम्बोधन गरेका छन् ।
चिठीमा उनले भारतमा हुने कुम्भ मेलामा सहभागी हुने आफ्नो सपना रहेको बताएका छन् । उनले लेखेका छन्, “म अप्रिलमा सुरु हुने कुम्भ मेलाका लागि भारत जान चाहन्छु । म मार्चतिर जान्छु होला । तर कुन दिन जान्छु निश्चित भइसकेको छैन ।” उनले चिठीको अन्त्यमा ‘शान्ति’ पनि लेखेको देख्न सकिन्छ ।
स्टिम भारतको यात्राका क्रममा उत्तराखण्डको नीम करोली बाबाको आश्रममा पुगेका थिए । तर उनी पुग्दा बाबाको निधन भइसकेको थियो । उनी सात महिनासम्म भारतीय संस्कृति र अध्यात्ममा डुबेर कैंची धाममा बसेका थिए । भारतबाट फर्किएपछि उनले आफूमा परिवर्तन आएको कुरालाई उल्लेख गर्दै उनले भनेका थिए, “मेरो कपाल खौरिएको थियो । मैले भारतीय कपासको लुगा लगाएको थिएँ । मेरो छाला घामबाट डढेर डार्क चकलेटजस्तो भएको थियो ।”
स्टिभको चिठीले चर्चा पाइरहँदा स्टिभकी श्रीमती लरेन पावेल जब्स महाकुम्भ मेलामा सहभागी हुन भारतको प्रयागराज पुगेकी छिन् । उनका आध्यात्मिक गुरु स्वामी कैलाशानन्द गिरीले उनलाई ‘कमला’ नाम दिएका छन् । उनले मेलामा ध्यान र योग गर्नुका साथै गंगा नदीमा स्नान गर्ने जस्ता काम गरिरहेकी छिन् ।
भारतको प्रयागराजमा १२ वर्षपछि कुम्भ मेला चलिरहेको छ । कुम्भ मेला विश्वकै सबैभन्दा ठूलो धार्मिक समारोह हो । यो मेला हरेक १२ वर्षमा गंगा, यमुना र पौराणिक सरस्वती नदीको संगममा आयोजना गरिन्छ । हिन्दु धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र यस मेलामा लाखौँ भक्तजनहरू सहभागी छन् ।
१२ कुम्भमेला पछि १४४ वर्षमा महाकुम्भ मेला मनाउने गरिन्छ । १४४ वर्षमा एकपटक लाग्ने यो मेला १३ जनवरीबाट सुरू भएको हो । यो मेला ४५ दिनसम्म चल्नेछ ।