काठमाडौं । मोडेल तथा गायक दुर्गेश थापाको गीत ‘दुस्मन हेरेको हेर्यै’ ग्लोबल डेली टप म्युजिकको शीर्ष ६७ औँ स्थानमा परेको छ । शनिबार ग्लोबल टप म्युजिकको ९५ औँ स्थानमा परेको थापाको गीत आइतबार ८६ औँ स्थानमा परेको थियो । सोमबार भने १९ ओटा गीतलाई पछि पार्दै थापाको यो गीत शीर्ष ६७ औँ स्थानमा परेको हो ।
अहिले ग्लोबल टप म्युजिकमा अटाउने यो एक मात्र नेपाली म्युजिक हो । यहाँ क्लिक गरेर विश्वव्यापी रूपमा शीर्ष स्थानमा परेका १०० म्युजिकको सूची हेर्न सकिन्छ । यो सूची हरेक दिन अपडेट भइरहेको हुन्छ ।
शीर्ष १०० म्युजिक भिडिओ ग्लोबलको सूचीमा भने यो गीत परेको छैन । यसअघि यसमा रुकुम मैकोट, बार्दली, कस्मिरे पछ्यौरी लगायतका गीत ग्लोबल शीर्ष म्युजिक भिडिओको सूचीमा परेका थिए ।
३० डिसेम्बर २०२४ मा युट्युबमा अपलोड भएको थापाको यस गीतमा अहिलेसम्म तीन करोड ३४ लाखभन्दा बढी भ्युज पुगिसकेको छ । यसमा आनन्द कार्की, दुर्गेश थापा, समीक्षा अधिकारी र एलिना चौहानको स्वर रहेको छ । पछिल्लो समय मेला महोत्सवदेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा यस गीतले राम्रो चर्चा पाएको छ ।