काठमाडौं । युट्युब च्यानल सब्सक्राइब गर्दा २०० रुपैयाँ पाएपछि लोभिँदा एक लाख ३० हजार रुपैयाँ गुमाएका पीडितले सचेत रहन आग्रह गरेका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको एक भिडिओ सन्देशमार्फत ती पीडित युवाले यस्तो ठगीबाट अपरिचित व्यक्तिबाट आएको मेसेज वा लिङ्क नखोल्न तथा कुराकानी नगर्न सुझाएका हुन् ।
उनका अनुसार सुरुमा एक अपरिचित व्यक्तिबाट ह्वाट्सएपमा मेसेज आएको थियो । ती व्यक्तिसँग कुरा गर्दा एउटा युट्युब च्यानल सब्सक्राइबमा २०० रुपैयाँ आम्दानी हुने प्रस्ताव आयो । त्यति गरेपछि आफूलाई पाँच/दश ओटा च्यानल सब्सक्राइब गर्न लगाइएको र त्यस बापत १००० रुपैयाँ प्राप्त भएको उनले सुनाएका छन् ।
"त्यसपछि मलाई उहाँले एक टेलिग्राम च्यानलमा जोड्नु भयो । त्यहाँ पनि त्यस्तै, लाइक गर्ने सब्सक्राइब गर्ने र आम्दानी गर्ने भन्ने थियो," उनले भनेका छन्, "एउटामा चाहिँ पैसा हालेर नाफा कमाउने भन्ने आयो ।"
त्यसमा पनि उनले भनिए अनुसार ५,००० रुपैयाँ जम्मा गरे । त्यसको बदलामा ८,००० आयो । त्यसपछि ८००० हाल्न भनियो । त्यो हालेपछि भने आएन । फेरि १० हजार रुपैयाँ हालेमा अझै बढी नाफा आउँछ भन्ने प्रस्ताव आयो, त्यो पनि हाले, आएन ।
"अझै पुगेन १५,००० भन्नु भयो, त्यो पनि हालेँ, आएन । १५,००० हालेपछि ५०,००० हाल्न भनियो, त्यति हाल्दा पनि आएन," उनले भनेका छन्, "पैसा त गइसकेको थियो । आउँछ होला भनेर फेरि ५०,००० हालेँ । यसरी एकैछिनमा लाख रुपैयाँ गयो ।"
त्यसपछि भने ती युवकले अब सकिन्न भनेर पछाडि हटे । तर उताबाट पैसा हाल्न आग्रह गरिरहे, उनले हाल्न छोडे । "त्यसपछि उनीहरूले मलाई ब्लक गरी दिए । ब्लक गरेपछि कसलाई भन्ने ?," साइबर ब्युरो पुगेका ती युवकले भनेका छन्, "त्यसपछि म आज निवेदन दिन साइबर ब्युरो आएको छु । अपरिचित व्यक्तिहरूले मेसेञ्जरमा, ह्वाट्सएपमा, टेलिग्राममा मेसेज वा लिङ्क पठाउँछ भने त्यो ओपन नगरिदिनु होला । र नबोल्नु होला । र म जस्तो नफस्नु होला, म त फसी हालेँ ।"