काठमाडौँ । इन्टरनेट सेवाप्रदायक वाईफाई नेपाल प्रालिले मासिक ६५४ रुपैयाँ बराबरको लागतमा १०० एमबीपीएस गति भएको नयाँ इन्टरनेट योजना सार्वजनिक गरेको छ ।
हालसम्म ५० एमबीपीएस र ८० एमबीपीएस सेवा प्रदान गर्दै आएको कम्पनीले नयाँ योजना अन्तर्गत डुअल ब्यान्ड राउटरसहितको १०० एमबीपीएस फाइबर इन्टरनेट ल्याएको हो । कम्पनीका अनुसार यो योजना घरपरिवार र साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको छ ।
नयाँ योजनाअनुसार २४ महिनाको अवधिका लागि रु. १५,७०७ शुल्क तिर्दा मासिक ६५४ रुपैयाँ पर्नेछ । १२ महिनाको अवधिका लागि भने रु. ९,४६९ शुल्क निर्धारण गरिएको छ, जसमा मासिक ७९० रुपैयाँ पर्न आउँछ । यो मूल्यमा भ्याट समावेश गरिएको र अन्य कुनै अतिरिक्त शुल्क नलाग्ने कम्पनीले स्पष्ट पारेको छ ।
वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयारले हालसम्म ७० हजार घरधुरीमा आफ्नो इन्टरनेट जडान भएको जानकारी दिए । “हामी नेपाली समाजको बढ्दो डिजिटल आवश्यकता बुझेर उच्च गुणस्तरको फाइबर इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराएका छौं,” उनले भने ।