काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल सरकार डिजिटल युग निर्माण गर्न खोजिरहेको बताएका छन् । जापानको राजधानी टोकियोमा शुक्रबार सम्पन्न भएको एसिया-प्रशान्त दूरसञ्चार (एटीपी) २०२५ मन्त्रीस्तरिय बैठकलाई सम्बोधन गर्दै मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ) लाई उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए ।
बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री गुरुङले डिएनएफको सफल कार्यान्वयनका लागि सूचना प्रविधिको पारिस्थितिक प्रणाली र अनुकूल वातावरणको तत्परता आवश्यक रहेको बताए ।
गोरखापत्रमा प्रकाशित समाचारका अनुसार मन्त्री गुरुङले डिजिटल अर्थतन्त्र वृद्धिसँगै सुरक्षित, समावेशी र अवसरयुक्त डिजिटल युग निर्माण गर्न खोजिएको अभिव्यक्ति दिएका थिए । साथै सुरक्षित र विश्वसनीय डिजिटल वातावरणको आजको आवश्यकता रहेकामा जोड दिँदै नेपालमा डिएनएफले डिजिटल रुपान्तरणका लागि सुरक्षा र विश्वासलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गरेका थिए ।
नागरिकलाई सशक्त बनाउन, साइबर सुरक्षा मुद्रा निर्माण गर्न, डिजिटल पूर्वाधारमा लगानी गर्नका लागि सरकार लागेको उहाँको भनाइ थियो । साथै डेटा सुरक्षित गर्नुका साथै नवप्रवर्तनलाई तीव्रता दिने विषयमा पनि नेपालको प्रमुख चासो रहेको बताए र त्यस्तै नेपाल एपिटीसँग गहिरो साझेदारीको रूपमा संलग्न भई ज्ञान बाँड्ने प्रतिवद्धतासमेत मन्त्री गुरुङले गरे ।
नेपाल डिजिटल छलाङको चरणमा रहेको जानकारी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको दूरदर्शी नेतृत्वमा उद्योग स्थापना गर्न, रोजगारी सिर्जना गर्न, कुल गार्हस्थ उत्पादन बढाउन, नवीन र समावेशी अर्थतन्त्र सिर्जना गर्न दृढ सङ्कल्पका साथ काम गरिरहेको उनले बताए ।