close

जापानमा कुटपिट भएर अस्पताल भर्ना भएको हल्ला फैलिएपछि झोक्किए सांसद ज्ञानेन्द्र शाही

टेकपाना टेकपाना

साउन ३, २०८३ १७:४७

जापानमा कुटपिट भएर अस्पताल भर्ना भएको हल्ला फैलिएपछि झोक्किए सांसद ज्ञानेन्द्र शाही

जापानमा कुटपिट भएर अस्पताल भर्ना भएको हल्ला फैलिएपछि झोक्किए सांसद ज्ञानेन्द्र शाही

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जापानमा आफूमाथि कुटपिट भएको भनी सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्ण रूपमा निराधार रहेको स्पष्ट पारेका छन् । विगत केही दिनयता सामाजिक सञ्जालमा १५ जनाको समूहले उनीमाथि भौतिक आक्रमण गरेको, टाउकोमा गम्भीर चोट लागेर धेरै रगत बगेका कारण शल्यक्रिया गर्नुपरेको र उनी अस्पताल भर्ना भएको दाबी गरिएका भ्रामक भिडिओ तथा सूचनाहरू सम्प्रेषण गरिएका थिए ।

आफ्नो विषयमा कपोलकल्पित भ्रम फैलाइएको भन्दै जापान भ्रमणमा रहेका सांसद शाहीले फेसबुक लाइभमार्फत आक्रोश पोखेका छन् । उनले आफू पूर्ण रूपमा सुरक्षित रहेको र आफ्ना कार्यक्रमहरू पूर्वनिर्धारित कार्यतालिका अनुसार नै भव्य रूपमा सम्पन्न भइरहेको जानकारी दिएका छन् ।

संसद्मा प्रश्न उठाएकै कारण तारो बनाइएको दाबी

आक्रोशित मुद्रामा प्रस्तुत भएका सांसद शाहीले आफू कुनै सहकारी ठगी वा गैरकानुनी कार्य गरेर नभई जनताको सङ्घर्षबाट निर्वाचित भएर संसद् छिरेको दाबी गरे । संसद्‌मा आफूले नागरिकका जल्दाबल्दा समस्या र बेथितिका विरुद्ध उठाएका प्रश्नहरूबाट अत्तालिएको समूहले आफ्नो बदनाम गराउन खेल खेलिरहेको उनको आरोप थियो ।

विशेष गरी कालिकोटमा भीरबाट लडेर ५ घण्टासम्म छटपटाउँदा पनि समयमै हवाई उद्धार नपाएर ज्यान गुमाएकी दलित समुदायकी बालिका र जलेर घाइते भएका गणेश नेपालीको अस्पतालमा उचित उपचार नपाएर भएको मृत्युको विषयमा गृहमन्त्रीसँग संसद्‌मा कडा प्रश्न गरेकै कारण आफूलाई योजनाबद्ध रूपमा निशाना बनाइएको शाहीले जिकिर गरे । उनले आफू कुनै पनि बहस र प्रश्नबाट नभाग्ने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थक र सुरज गौतमलाई उनकै निर्वाचन क्षेत्रमा चुनाव लडेर आफूला हराएर देखाउन खुला चुनौती समेत दिए ।

कानुनी उपचारको चेतावनी

सांसद शाहीले जापानमा आफू पूर्ण सुरक्षित रहेको प्रमाणस्वरूप रास्वपाकै सांसद खगेन्द्र सुनारको उपस्थितिमा आफूले जापानमा भेला सम्पन्न गरेको र अर्को कार्यक्रम नागासाकीमा हुन लागेको जानकारी दिए । सामाजिक सञ्जालमा अराजकता फैलाउनेहरू विरुद्ध कानुनी उपचार खोज्ने चेतावनी दिँदै उनले हालै चितवनमा खुस्बु ओलीको पहलमा एक रास्वपा कार्यकर्ता पक्राउ परेको घटनालाई नजिरका रूपमा प्रस्तुत गरे ।

आफ्नो विरोध गर्नेहरूलाई लक्षित गर्दै उनले जापानको कानुन विपरीत चल्ने वा अभद्र व्यवहार गर्नेलाई त्यहाँका नेपालीहरूले नै नेपाल फिर्ता पठाइदिने चेतावनी दिए । यद्यपि, उक्त आक्रोशपूर्ण फेसबुक लाइभ भिडिओ भोलिपल्ट बिहानै उनको अकाउन्टबाट गायब (हटाएको) भइसकेको थियो ।

लाइभ भिडिओ हटे पनि सामाजिक सञ्जालमा उनको अभिव्यक्तिको शैलीलाई लिएर तीव्र आलोचना हुन थालेको छ । सांसद शाहीले पुनः स्पष्टीकरण दिँदै आफ्नो भनाइ विदेशमा रहेका सबै नेपालीप्रति लक्षित नभएको प्रस्ट पारेका छन् । उनले सहकारी ठग, सामाजिक सञ्जालमा अश्लील र भ्रामक सामग्री बनाएर चरित्र हत्या गर्ने तथा राष्ट्र र महिलाको गरिमाको सम्मान नगर्ने निश्चित प्रवृत्तिको ‘ग्याङ’ लाई मात्र आफूले सङ्केत गरेको दाबी गरे ।

तर, उनी आक्रोशित हुनुका पछाडि ‘जापानी रक्सीको कमाल’ भएको भन्दै सामाजिक सञ्जालमा ट्रोल र व्यङ्ग्य प्रहार हुन थालेपछि उनले फेसबुकमा अर्को एउटा व्यङ्ग्यात्मक स्टाटस लेखेका छन् । “जापानको रक्सी पनि कडा रहेछ, खाँदै नखाएको रक्सी लागेर मनका कुरा फुत्त निस्किए,” सांसद शाहीले भनेका छन् । उनले गलत प्रवृत्तिलाई उजागर गरिदिएको र युट्युब वा टिकटकमा भिडिओ बनाएर डलर कमाउनेहरूका लागि पर्याप्त ‘कन्टेन्ट’ जुटाइदिएको भन्दै रोस्ट गर्न खुला चुनौती समेत दिए ।

रास्वपा जापानको कडा आपत्ति: सार्वजनिक क्षमायाचना माग

सांसद शाहीको मध्यरातको फेसबुक लाइभ र त्यसमा प्रयोग गरिएको भाषाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवास नेपाली सम्पर्क विभाग जापानले गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

विभागका अध्यक्ष दिपक केसी र सह-सचिव फणिन्द्र शर्मा सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सांसद शाहीको अभिव्यक्ति लोकतान्त्रिक मूल्य, राजनीतिक मर्यादा र सार्वजनिक पदको गरिमा विपरीत रहेको उल्लेख गरिएको छ । उचित सम्बोधन र सार्वजनिक रूपमा क्षमायाचना नगरिए लोकतान्त्रिक, संवैधानिक तथा कानुनी प्रक्रियाअनुसार आवश्यक कदम चालिने चेतावनी समेत विभागले दिएको छ ।

यस घटनाक्रमलाई लिएर सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा मिश्रित प्रतिक्रिया देखिएका छन् । संसद् जस्तो गरिमामय पदमा आसिन व्यक्तिले सामाजिक सञ्जालमा उत्तेजित र अशोभनीय भाषा प्रयोग गर्न नहुने भन्दै कतिपयले आलोचना गरिरहेका छन् । अर्कोतरि रास्वपा समर्थकहरूको अनियन्त्रित प्रहार र भ्रमपूर्ण प्रचारको विरुद्ध शाहीले दिएको कडा जवाफ उपयुक्त भएको भन्दै बचाउ गर्नेहरू पनि देखिएका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८३ १७:४७