काठमाडौँ । ट्वीटरका सहसंस्थापक तथा ब्लकका सीईओ ज्याक डोर्सीले इन्टरनेट वा मोबाइल नेटवर्क बिना नै मेसेज पठाउन सकिने नयाँ एप ‘बिटच्याट’ (Bitchat) सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उनले हालै कोडिङ गरेर यो एप बनाएको जानकारी दिएका हुन् ।
‘बिटच्याट’ ब्लुटुथ मेस नेटवर्क प्रविधिमा आधारित एप हो । यसले प्रयोगकर्ताहरूलाई वाई-फाई वा सेलुलर डेटा नभएको अवस्थामा पनि एकआपसमा मेसेज आदानप्रदान गर्न अनुमति दिन्छ । सामान्यतया ब्लुटुथको प्राविधिक सीमितताका कारण यस्ता एपहरू करिब १०० मिटरको दूरीमा मात्रै प्रभावकारी हुन्छन् ।
तर, डोर्सीले आफ्नो एपले अन्य प्रयोगकर्ताको डिभाइसमार्फत मेसेज रिले (प्रसार) गरेर यसको पहुँच ३०० मिटरसम्म विस्तार गर्न सक्ने दाबी गरेका छन् । यो एप विशेषगरी कन्सर्ट, मेला वा नेटवर्क कमजोर भएका स्थानहरूमा साथीभाइहरूसँग सम्पर्कमा रहन उपयोगी हुने देखिन्छ ।
my weekend project to learn about bluetooth mesh networks, relays and store and forward models, message encryption models, and a few other things.
— jack (@jack) July 6, 2025
bitchat: bluetooth mesh chat...IRC vibes.
TestFlight: https://t.co/P5zRRX0TB3
GitHub: https://t.co/Yphb3Izm0P pic.twitter.com/yxZxiMfMH2
यो एप पूर्ण रूपमा ‘इन्ड-टु-इन्ड इन्क्रिप्टेड’ रहेको बताइएको छ । जसले गर्दा मेसेज पठाउने र पाउनेबाहेक अरू कसैले हेर्न सक्दैन ।
डोर्सीको यो एप हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूले प्रयोग गरेको ‘ब्रिजफाई’ (Bridgefy) नामक एपसँग मिल्दोजुल्दो छ । इन्टरनेट बिना चल्ने भएकाले सरकारी निगरानीबाट बच्न ब्रिजफाई निकै लोकप्रिय भएको थियो । रोचक कुरा के छ भने ब्रिजफाईमा ट्वीटरकै अर्का सह-संस्थापक बिज स्टोनको लगानी रहेको छ ।
डोर्सीले बेटा परीक्षणका लागि एप्पलको टेस्टफ्लाइट (TestFlight) मार्फत एप उपलब्ध गराएका थिए । तर १०,००० प्रयोगकर्ताको सीमा पूरा भएसँगै परीक्षण हाल बन्द गरिएको छ । एप सार्वजनिक रिलिजका लागि समीक्षामा रहेको उनले बताएका छन् ।
पछिल्लो अध्यावधिक: असार २४, २०८२ १०:२
