नास-आईटीले गठन गर्यो साइबर सुरक्षा समिति, नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित बनाउने लक्ष्य
साउन १६, २०८२ १८:१७
काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेज कम्पनीज (नास-आईटी) ले साइबर सुरक्षा समिति गठन गरेको छ । नेपालको डिजिटल क्षेत्रलाई सुरक्षित, सुदृढ र भविष्यका लागि तयार बनाउन सहयोग पुर्याउने उद्देश्यले नास-आईटीले समिति गठन गरेको हो।
समितिमा साइबर सुरक्षा विज्ञ र नास-आईटीका सदस्य कम्पनीका प्रतिनिधि संलग्न छन् । समितिले नेपालको सूचना प्रविधि र सफ्टवेयर उद्योगलाई सुरक्षित, सुदृढ र विश्वसनीय बनाउँदै देशको डिजिटल प्रणाली र तथ्याङ्कको सुरक्षा गर्दै विश्वव्यापी बजारमा विकास गर्न सघाउनेछ ।
अन्तरक्रिया, रचनात्मक विचार र सामूहिक पहलका लागि यो समितिले माध्यमको रूपमा काम गर्ने नास-आईटीले जनाएको छ ।
समितिको प्रमुखमा भैरव टेक्नोलोजी सेक्युरिटी प्रालिका विजय लिम्बु सेनिहाङ चयन भएका छन् । यस्तै, बिज सर्भ आईटीका घनश्याम ओली, एमिनेन्स वेज प्रालिका प्रज्वल गौतम, लगपोइन्ट प्रालिका रोशन पोखरेल र जेनेस सोलुसन प्रालिका सम्पन्न श्रेष्ठ समितिको सदस्य छन् ।
गोक्यो ल्याब्सका अभय पौडेल, लगपोइन्टका दिपेन चापागाईं र इमिनेन्स वेजका नारायण कोइराला नास-आईटी सञ्चालक समितिको तर्फबाट समितिको सल्लाहकार सदस्य तोकिएका छन् ।
पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १८:२३
