+२ मा अध्ययनरत विद्यार्थीहरूका लागि चार शहरमा ह्याकाथन प्रतियोगिता हुँदै
साउन २०, २०८२ ८:५७
काठमाडौँ । कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूका लागि ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ । टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरले संयुक्त आयोजनामा साइबर उत्सव २.० देशका चार ठूला शहरमा आयोजना गर्दैछ, जहाँ कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूले ह्याकाथनमा सहभागी हुन पाउने कार्यक्रमका प्रमुख संयोजक दीक्षान्त पाण्डे बताउँछन् ।
उनका अनुसार भदौको ११ गतेदेखि १३ गतेसम्म इटहरीमा, पोखरामा १६ देखि १८ गते, चितवनमा २१ देखि २३ गतेसम्म र काठमाडौँमा २६ देखि २८ गतेसम्म ह्याकाथन आयोजना हुनेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले भने २९ भदौमा काठमाडौँमा हुनेछ । यी चारै शहरबाट प्रतिस्पर्धा जितेर आएका टोलीहरूले ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।
इटहरी, पोखरा र चितवनबाट फिनालेमा सहभागी हुन आउनेको खर्च भने आयोजकले व्यहोर्ने बताइएको छ ।
एक लाख पुरस्कार राशिको उक्त कार्यक्रममा सहभागी टिम मध्ये फिनालेका उत्कृष्ट तीन टोलीले पुरस्कार पाउने छन् । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः: ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने उनले जानकारी दिए ।
इच्छुकहरूले दुई देखि चार जना सम्मको समूह बनाएर कार्यक्रममा आवेदन दिन सक्नेछन् । आफ्नो समूह दर्ता गर्न www.cyberutsav.com बाट वा यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।
पछिल्लो अध्यावधिक: साउन २०, २०८२ ९:११
