close

प्रधानमन्त्रीको शनिबार रातिको फेसबुक पोस्ट चर्चामाः पदीय मर्यादा बिर्सिए कि ठिकै गरे ?

टेकपाना टेकपाना

जेठ २४, २०८३ १०:२९

प्रधानमन्त्रीको शनिबार रातिको फेसबुक पोस्ट चर्चामाः पदीय मर्यादा बिर्सिए कि ठिकै गरे ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन' ले शनिबार राति १०ः१५ बजे आफ्नो फेसबुक अकाउन्टमा गरेको एउटा छोटो व्यङ्ग्यात्मक पोस्टले अहिले सामाजिक सञ्जाल तातेको छ । प्रधानमन्त्रीले लेखेका थिए, "Malai pani Ambassador Banna Mann chha, PM ko Number chha Bhane yesso dinus na??" (मलाई पनि राजदूत बन्न मन छ, प्रधानमन्त्रीको नम्बर छ भने यसो दिनुस् न?) ।

यो पोस्टसँगै प्रधानमन्त्रीको पदीय गरिमा, पदीय मर्यादा र कार्यशैलीलाई लिएर सर्वसाधारणदेखि बुद्धिजीवीहरूसम्म विभाजित भएका छन् । कतिपयले यसलाई कर्मचारीतन्त्रमा रहेको सोर्सफोर्स र विकृति विरुद्धको कडा प्रहार भनेका छन् भने कतिपयले यसलाई देशको कार्यकारी प्रमुख सुहाउँदो व्यवहार नभएको भन्दै आलोचना गरेका छन् ।

प्रधानमन्त्रीको यो पोस्टको सम्बन्ध बहालवाला सचिव कृष्णहरि पुष्करसँग जोडिएको छ । आगामी २४ असारमा सेवानिवृत्त हुन लागेका सचिव पुष्करले प्रधानमन्त्रीलाई सोझै मेसेज पठाएर मुख्य सचिव बन्न 'विशेष ध्यान' दिन वा राजदूत पदका लागि सहयोग गर्न अनुरोध गरेको खुल्न आएको थियो । उनले आफू पनि प्रधानमन्त्रीकै गृहजिल्ला महोत्तरीको बासिन्दा भएको नाता लगाउँदै सामीप्यता देखाउन खोजेका थिए ।

यही सोर्सफोर्स लगाउन खोज्ने प्रवृत्तिलाई मजाकको रूपमा प्रस्तुत गर्दै प्रधानमन्त्रीले फेसबुकमा उक्त पोस्ट गरेका हुन् । सचिव पुष्करलाई भने सोझै प्रधानमन्त्रीलाई मेसेज पठाएर चेन अफ कमान्ड उल्लङ्घन गरेको र व्यक्तिगत स्वार्थका लागि दबाब दिएको भन्दै प्रहरीले सोधपुछ समेत गरेको थियो ।

आलोचनाः यो स्तरको पोस्ट लेख्न जरुरी थियो र ?

क्याबिनेट मन्त्री, सांसद र सल्लाहकारहरूले समेतले उक्त पोस्टमा व्यङ्ग्यात्मक टिप्पणी गरिरहँदा, देशको उच्च ओहोदामा बस्नेहरूको यो व्यवहारले कूटनीतिक मर्यादा र प्रशासनिक स्वतन्त्रतालाई कता लैजाला भन्ने चिन्ता पनि उत्तिकै देखिएको छ । सामाजिक सञ्जालमा धेरैले प्रधानमन्त्रीको यो शैलीलाई 'अपरिपक्व' र 'हलुका' भनेका छन् । सन्तोष कार्कीले टिप्पणी गर्दै भनेका छन्, "एउटा देशको कार्यकारी प्रमुखले सामाजिक सञ्जालमा व्यक्त गर्ने विचारले राष्ट्रको गरिमा झल्काउँछ, यो टिप्पणी अत्यन्तै हलुका देखियो ।"

साहित्यकार सरिता तिवारीले प्रधानमन्त्रीलाई 'राजनीतिक कूटनीति' नजान्ने मूर्खताको सिलसिला नथप्न सुझाव दिएकी छिन् । त्यस्तै, शङ्कर ढकालले कुनै राष्ट्रसेवकले गल्ती गरेको भए कारबाही गर्ने बाटो हुँदाहुँदै सार्वजनिक रूपमा बेइज्जत गर्नु उचित नभएको तर्क गरेका छन् । केही आलोचकहरूले त प्रधानमन्त्रीले नेपाली भाषाको सट्टा रोमन प्रयोग गरेर भाषाको क्षयीकरणमा सहयोग पुर्‍याएको भन्दै भाषागत पक्षमा पनि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीको यो हर्कतलाई केपी शर्मा ओलीको विगतको उखानटुक्का र ठट्टासँग तुलना गर्दै हेमन्त गिरीले लेखेका छन्, "राजनेता बन्न हिँडेका नेताहरू हरेक कुरालाई मजाक बनाउँदा आफैँ एउटा मजाक बन्न पुग्छन् ।"

समर्थक भन्छन्ः सुशासनका लागि व्यङ्ग्य जरुरी

अर्कोतर्फ, प्रधानमन्त्रीका समर्थकहरूले यसलाई 'बालेन शैली' को सुशासन भनेका छन् । अनुजा खड्काका अनुसार यो पोस्ट बुझ्नेका लागि निकै गहिरो र व्यङ्ग्यात्मक छ, जसले शक्ति र पहुँचको आधारमा पद हत्याउन खोज्नेहरूको दिन सकिएको सन्देश दिन्छ ।

भावना राउतले प्रधानमन्त्रीको पनि व्यक्तिगत जीवन र फेसबुक चलाउने अधिकार हुने तर्क गर्दै भनेकी छिन्, "हामीले पुराना नेताहरूको अनुहार हेर्ने बानी परेकाले युवा नेताहरूले मान्छे जस्तो व्यवहार गर्दा अनौठो मानेका हौँ । नेतृत्वको मूल्याङ्कन उसको निर्णय र कार्यसम्पादनबाट गरिनुपर्छ, शनिबार रातिको पोस्टबाट होइन ।"

पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १०:२९